लघुवित्त खारेज गर्नुपर्छ भन्नु मिटरब्याजीलाई प्रोत्साहन गर्नु हो : वसन्त लम्साल



न्यून आय भएका घरपरिवारलाई सानातिना आर्थिक गर्जो टार्न वा उत्पादनमुलक काममा लगानी गर्न जनतालाई सहायता दिने उद्देश्यले लघुवित्त संस्थाहरु विगत ३० वर्ष अगाडिदेखि सञ्चालनमा छन् । सरकारले जुन उद्देश्य, मर्म र भावनाका साथ लघुवित्तहरु खोलेको हो त्यसअनुसार चल्न नसकको गुनासा आउन थालेका छन् ।

लघुवित्त संस्थाहरुले मुलुकको गरिबी निवारण गर्न र वित्तीय पहुँच पुर्‍याउन खेलको महत्वपूर्ण योगदान पनि रहेको छ । तर पछिल्लो समय लघुवित्तकै कारण ग्रामीण क्षेत्रका नागरिक पीडित बनेको समाचार बाहिरिरहेका छन् । लघुवित्तहरुले सेवा शुल्क, चर्को ब्याज र किस्ता असुल्न मालसामान नै उठाउने प्रवृत्ति बढ्दै गएको लघुवित्त पीडितहरुको गुनासो छ ।

लघुवित्तबाट ऋण लिने परिवार नै तहसनहस बन्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्था हुनु राज्यको नियमनकारी निकाय वा स्वयं संस्था आफैं हो । लघुवित्तको कमजोरी कहाँ कसरी भयो ? लघुवित्तमा देखिएको वर्तमान समस्या समाधान गर्न लघुवित्त र सरकारले कस्तो कदम चाल्दैछ भन्ने विषयमा लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालसँग गरिएको कुराकानी :

लघुवित्त संस्थाहरुमा देखिएको समस्यालाई कसरी हेर्नु भएको छ ?

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुसँग जोडिएको समस्या धेरै विषय वस्तुसँग जोडिएको समस्या हो । सबैभन्दा पहिला पछिल्लो मुलुकको आर्थिक अवस्था हो । जसमा आर्थिक मन्दी हो । विश्व नै आर्थिक मन्दीमा रहेको छ । त्यसको चपेटामा नेपाल पनि पर्छ । उद्योगी व्यवसायमा समेत प्रभाव परेकाले व्यापारमा समेत मन्दी देखिएको छ । विगतमा एक सय रुपैयाँको व्यापार गर्नेहरुले पनि १० रुपैयाँ व्यापार गरेर बस्न बाध्य भएका छन् । आर्थिक रुपमा सबै मानिसहरु समस्यामा छन् । आर्थिक चक्रमा यस्तो हुन्छ । कोभिड महामारीपछि आर्थिक समस्याको प्रभाव र रुस र युक्रेन युद्धको प्रभावको कारण पनि समस्या रहेको छ ।

यस्तो अवस्थाको कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुलाई आफ्नो व्यापार व्यवसाय चल्न सकेको छैन तर ऋण तिर्नुपर्ने छ । बैंक तथा वित्तीय संस्थाहरुले व्यापार व्यवसाय चलेको छैन भनेर ऋण उठाउन छोड्दैन । ऋण उठाउन जाँदा अहिलेको अवस्थामा आएको हो ।

लघुवित्तको हकमा सञ्चालनमा कमिकजोरी र एउटा व्यक्तिहरुलाई धेरै लघुवित्तहरुले ऋण दिएको कर्जा सूचना केन्द्रको डाटा थिएन । कुनै पनि व्यक्तिले कतैबाट पनि ऋण लिएको छैन भनेपछि लघुवित्तले ऋण दिने प्रचलन भयो । त्यो कारणले पनि अहिले धेरै संस्थाहरुले एउटै व्यक्तिलाई ऋण दिएको अवस्था देखिएको छ । त्यसले मल्टिपल ल्याण्डिङ भएर एउटै व्यक्तिलाई ऋणको भार धेरै भएको देखियो ।

यो विषयमा लघुवित्त संस्थागत र व्यक्तिगत रुपमा कमजोरी भयो । पछिल्लो समय अर्थतन्त्रमा संकट देखिएकाले बैंक तथा वित्तीय संस्थाहरुले ऋण तिर भन्नु स्वभाविक हो । पैसाको अभाव भइरहेको अवस्थामा व्यक्तिहरुसँग ऋण उठाउन खोज्दा समस्या भयो ।

ग्राहकहरुले धेरै लघुवित्त संस्थाहरुसँग ऋण लिएकाले सबैले फोन गरेर ऋण उठाउन ताकेता गर्दा समस्या आयो । त्यस्ता ऋणीहरु कहाँ गएर यो ऋण नतिर्न पाए हुने थियो भनेर अहिले लघुवित्त संघर्ष समिति र मिडियामा गएर भन्ने गरेको देखिएको हो । विगतमा लघुवित्तहरुले गर्दै आएको कमजोरी र अहिले भइरहेको आर्थिक मन्दीको कारण सिर्जना भएको समस्या हो ।

लघुवित्त संस्थाहरुमा आएका समस्याको जड के हो, यो कसरी आयो ?

समस्या आउनुमा लघुवित्त संस्थाहरु नै जिम्मेवार छौं । संस्थागत रुपमा लघुवित्त संस्थाहरु धेरै भएर पनि होला । तर त्यसको करेन्सनको शुरुवात भएको छ । मर्जरको कारण संस्थाहरु कम हुँदै गएका छन् । दर्ताको प्रक्रियाको कारण पनि धेरै संस्थाहरु भए । त्यसपछि जसरी लघुवित्त संस्थाहरु सञ्चालनमा आए ति संस्थाहरु तत्काल नाफा ल्याउने प्रतिष्पर्धा पनि रह्यो । तर नियमन कानून भित्र रहेर नै त्यो काम भए । धेरै लगानी गरेर धेरै नाफा गर्छु भन्ने कुरा गुणस्तर घट्ने पनि कानून विपरित होइन ।

लघुवित्तको ब्याजदर,सेवा शुल्क नियमन निकायले तोकेको गर्ने र तत्काल नाफा कमाउने रफतारमा जाँदा समस्या आएको हो । त्यस्तै,लघुवित्तको सदस्य भएर ऋण लिने व्यक्तिहरुले पनि वित्तीय साक्षरता बैंक तथा वित्तीय संस्थाहरुबाट लिने ऋणको विषयमा जानकारी नलिएकाले समस्या देखिएको हो ।

यसको शुरुवात लघुवित्त संस्था दर्ता र पछिल्लो समय समाजको संरचना परिवर्तन भएको छ । जहाँ लघुवित्त सामूहिक ऋणमा चल्ने हो तर अहिले एकले अर्कोको जवानी बस्दैन ।

एक जना ऋण तिर्न नसकेर भागिदिँदा समग्र समूहमा समस्या देखिएको छ । लघुवित्तको जुन सामुहिक मापदण्ड रहेको छ त्यो नहुँदा समस्या देखिन्छ । यी सबै समस्या अर्थतन्त्रमा समस्या परेको बेला देखिएको कारण यस्ता समस्याहरु बाहिर देखिएका हुन् । विगतमा पनि यस्ता समस्या हुँदै आएका हुन् ।

लघुवित्त वित्तीय संस्थाहरु जुन मूल्य र मान्यतामा चल्नुपर्ने हो, तर त्यो निश्चित मूल्य र मान्यता भन्दा बाहिर गएर जल्न खोज्दा यस्तो समस्या आएको त होइन ?

लघुवित्तहरु जुन मूल्य र मान्यतामा चल्नुपर्ने थियो त्यसरी नचल्दा पनि आएको हो । लघुवित्त संस्था सञ्चालनमा निश्चित मापदण्ड भन्दा बाहिर गएर चल्न खोजेको कुरा हामीले स्वीकार गर्छौं ।

लघुवित्तले ऋणीहरुलाई कति वित्तीय साक्षरता दिनुपर्ने,सचेत बनाउनु पर्ने नियम छ । त्यो नियम भन्दा विपरित धेरै बाहिर पनि गएको होइन । तर लघुवित्तले गर्नुपर्ने काउन्ट सेलिङमा कमी भएको हो । तर अहिलका नागरिक धेरै कानूनी प्रक्रिया पूरा गर्न चाहँदैन । छिटो काम चाहिन्छ । अहिलेको युवा पुस्ता प्रक्रिया पूरा गर्नुभन्दा लघुवित्तलाई नै गाली गर्नुहुन्छ ।

लघुवित्तहरुले ऋण दिन कडाइ गर्न थाल्यो भने लघुवित्तले ऋण नै दिँदैन भनेर बिरोध गर्न शुरु हुन्छ । संस्थाले ऋण दिन पनि विभिन्न प्रक्रिया देखाएर विनाकारण दुःख दिन्छ भन्ने समस्या आउँछ । दियो भने सजिलै किन दिएको भनेर प्रश्न गरिन्छ । यो समस्यामा लघुवित्त र ऋण लिनेहरु दुवैको कमजोरी छ ।

लघुवित्त संस्थाहरुमा अहिलेको वर्तमान समस्या आउनुमा नियमन निकाय राष्ट्र बैंकको नियमनमा कमजोरी भएर हो वा संस्थाहरु स्वनियमन हुनुपर्ने हो तर स्वनियमन हुन नसक्दा पनि समस्या आएको होइन ?

लघुवित्तको सिद्धान्त स्वनियमनमा बस्ने हो । स्वनियमनमा पनि बस्छौं । स्वनियमनमा बस्न नसकेको होइन । बसेका छन् । तर कुनै एउटा व्यक्तिले १५ लाख ऋण लग्यो । त्यो राष्ट्र बैंकको नियमन भन्दा फरक हो । यसमा प्रश्न आउँछ । लघुवित्तहरुमा विगतमा कर्जाको डाटा बेस थिएन । कुनै एउटा महिला आएर समूहमा बस्यो । कतैबाट ऋण लिएको छ भनेर सोध्दा छैन भन्छ । उसले लिएको कर्जाको डाटा हेर्ने माध्यम लघुवित्तसँग थिएन । त्यस्तो अवस्थामा एक जना ऋणीले कतै ऋण लिएको छैन भन्दै धेरै संस्थाहरुमा ऋण लिने गरेको देखियो । अन्य कुनै संस्थामा ऋण लिएको छैन ।

ऋण दिनु भनेपछि लगानी गर्ने संस्थाले ऋण दिन्छ । तर ऋण लिने व्यक्तिले लघुवित्तलाई अन्य संस्थाबाट ऋण लिएको विषयमा जानकारी दिएन । त्यसैले लघुवित्तको सिस्टमले लघुवित्तमा ऋण लिन आउने ग्राहकले अन्य संस्थाबाट लिएको ऋणको डाटा लिन अहिले पनि सक्दैन । एक, दुई वर्षदेखि कर्जा सूचना केन्द्रमा हेर्दा एउटा व्यक्तिले १५ वटा संस्थामा ऋण लिएको देखिएको छ । विगतमा त्यस्तो थिएन । लघुवित्त संस्थाहरु स्वनियमन बस्न चाहँदा चाहँदै पनि थाहा नपाएर बस्न नसकेको हो ।

लघुवित्त सबैले स्वनियमनमा बसेको छ भन्ने होइन । कसैले आँखा चिम्लेको पनि होला । स्वनियमन भनेको नैतिकता हो सबैमा नैतिकता नभएको हुनसक्छ । त्यस्तै राष्ट्र बैंकले नियमन गर्ने विषयमा पनि सबैलाई नियमन गर्न नसकेको हो । ऋणीले कति संस्थामा ऋण लिएको छ भन्ने डाटा राष्ट्र बैंक र लघुवित्तसँग नभएपछि नियमन भएन । पछिल्लो समय डाटा आएपछि थाहा भयो । अहिले पनि कर्जा सूचना केन्द्र प्रभावकारी छैन ।

लघुवित्त संस्थाहरुले वर्तमान समस्या आउनुमा कुनैपनि दोष छैन भनेर कसरी भन्न सकिन्छ ?

पछिल्लो समय लघुवित्त खारेज गर्न माग भइरहेको छ । लघुवित्त संस्था खारेज र संस्थाको ऋण मिनाह हामीले गर्ने होइन । एउटा संस्थाले मिनाह गर्न सक्दैन । यस्ता विषय हामीसँग सरोकार भएको विषय होइन । खारेज गर्ने भए नेपाल सरकारले गर्नुपर्छ ।

लघुवित्त संस्था आवश्यक नभए सरकारको त्यही अनुसार वित्तीय नीति बन्नुपर्‍यो । सरकारले लघुवित्त संंस्था खारेज गरेर कसलाई प्राथमिकता दिनुपर्ने हो । ग्रामिण क्षेत्रमा लघुवित्त नभएको स्थानमा मिटर ब्याजी चलिरहेको छ । विगतको जस्तो साहुमाहजन जस्तै मिटर ब्याजीलाई प्रोत्साहन गर्नुपर्‍यो ।

लघुवित्त संस्थाहरुले नेपालमा गरिबी अन्त्य गर्नको लागि ग्रामिण क्षेत्रमा वित्तीय पहँुच पुर्‍याउन काम गरेको ४० वर्ष भयो । अहिलेसम्म धेरै समस्या थिएन । अहिले अर्थतन्त्रमा मन्दीको कारण समस्या आएको हो । नेपालभरका ६० लाख नागरिकहरुलाई बैंकिङ पहुँचमा जोडेको छ । ३३ लाखलाई ऋण प्रवाह गरेर व्यवसायी बनाएको छ ।

महिलाहरुलाई उद्यमशिल बनाएर वित्तीय साक्षरता दिँदै अगाडि बढाएको छ । लघुवित्तले हजारौं मानिसहरुलाई सफल बनाएका उदाहरणहरु रहेका छन् । पछिल्लो समय लघुवित्तको कारण घरबाट भाग्नुपर्ने अवस्था आयो भन्नुभएको छ । त्यस्तो अवस्था किन आयो । त्यो अवस्था ऋणी आफैँले पनि बनाएको हो । ऋण धेरै भएर तिर्न नसक्ने अवस्था भएपछि रुन्छन् ।

घर छाड्ने र आत्मदाहाको बाटो रोज्ने भन्दा पनि समस्याको समाधानतर्फ सबै केन्द्रित हुनु आवश्यक छ । आत्महत्या गर्नु दुभाग्यपूर्ण नराम्रो कुरा हो । लघुवित्त संस्थामा भएका विकृतिलाई सधार गर्ने हो । संस्था बन्द गर्ने विषय तत्काल समस्याको समाधान होइन।

लघुवित्तका कर्मचारीहरुले ऋणीहरुको घरमा गएर विभिन्न खालका यातना दिएको घटनाहरु बाहिर आएका छन् ? लघुवित्तका कर्मचारीहरुलाई मध्यराति १२ बजेसम्म ऋण उठाउन पठाउनु हुन्छ ?

ऋणीहरुको घरमा गएर लघुवित्तले ताल्चा लगाउने,घरको समान जफत गर्नु गलत हो । कुनैपनि लघुवित्तले गरेको छ भने पनि गलत हो । लघुवित्तहरुले कर्मचारीहरुलाई त्यस्तो गराउनु हुँदैन । हामीले लघुवित्तका कार्यकारी निर्देशकहरुलाई भनेका छौं ।

यदि विगतमा भएका छन् भने पनि तत्काल बन्द गर्न निर्देशन नै गरेका छौं । किस्ता उठाउने विषयमा बिहान १० बजेदेखि ५ बजेसम्म भेट हुँदैन । फोन स्वीच अफ गर्छ त्यसलाई के गर्ने ? अफिस समयमा ऋणी घरमा भेट नहुँदा बेलुका कर्मचारी उसको घरमा गएको हुनसक्छ । ऋणीहरुले कार्यालय समयमा सम्पर्कमा रहनुभयो भने मध्यराति किस्ता उठाउन जाने कसैको रहर हुँदैन । ११ बजेसम्म घरमा ग्राहक आउँछ र कुरा गर्न बसेको हो नराम्रो नियतले बसेको नहुन सक्छ । हामीले त्यो दृष्टिकोणमा पनि हेर्नु पर्छ । त्यसरी जानु रहर नभएर बाध्यता हो ।

लघुवित्तले नियमभन्दा बाहिर गएर काम गरेको छैन भन्ने आधार पनि छैन, अर्को कुरा लघुवित्त वित्तीय संस्थाहरुले ऋणीहरुबाट आवश्यक भन्दा बढी सेवा शुल्क बापत लिएको १ अर्ब ६० करोड फिर्ता गर्ने सहमति गर्नुभयो, के हो वास्तविकता ?

सेवा शुल्कको व्याख्या र दृष्टिकोण फरक हो । राष्ट्र बैंकको निर्देशनलाई लघुवित्तले बुझेको र राष्ट्र बैंकले बुझाई फरक भएकाले यस्तो भएको हो । त्यसमा केही विषयमा नियमन विपरित गरेको भन्ने विषय स्वीकार गर्छु । तर जुन रुपमा बाहिर आएको छ त्यो चाहीँ होइन ।

सरकार र लघुवित्त बीच रकम र्फिता गर्ने विषय सत्य हो । लघुवित्त सदस्यको पैसा केही सहुलियत दिने भनेर फिर्ता गर्ने विषय भएको हो । तर नियम विपरित गएर पैसा फिर्ता गर्नुपरेको भनेर भन्ने विषय कसरी ब्याख्या गर्ने विषयको कुरा हो ।

लघुवित्तहरुमा देखिएको समस्या लघुवित्त आफ्नै कारण र संस्था खोल्नलाई राष्ट्र बैंकले धेरैलाई लाइसेन्स दिँदा निम्तिएको समस्या भन्न मिल्छ ?

लघुवित्त संस्थामा समस्या आउनुको शुरुवात धेरै संस्था खोल्न लाइसेन्स दिनु पनि एक हो । लाइसेन्स दिँदा धेरै संस्था दर्ता भए । नयाँ नयाँ व्यवसासयक क्षेत्रका लगानीकर्ताहरु आए । लघुवित्तको मर्म बुझ्ने भन्दा फरक लगानीकर्ताहरुको प्रवेश भयो । मार्केटमा नयाँ खेलाडीहरु आए सबैसँग जाडिएको छ । समस्या आउनुमा एउटा मात्रै फ्याक्टर होइन ।

नाफा मात्रै खोज्ने लगानीकर्ताहरुलाई लघुवित्तको लाइसेन्स दिएर पनि हुनसक्छ । लाइसेन्स दिँदा पनि संस्थाको गुणस्तर हेरिएन । त्यसरी खोल्न लघुवित्तहरु नाफामा मात्रै केन्द्रित भए ।

एक वर्षभित्र नै लघुवित्त नाफामा आउनुपर्छ भन्ने उद्देश्य लगानीकर्ताहरुमा हुँदा अस्वस्र्थ प्रतिष्पर्धा बढ्ने पक्ष पनि एक हो । समस्या आउनुमा एउटा मात्रै पक्षको कारण आएको होइन ।

अब समस्या नै समस्याको विचमा कसरी अगाडि बढ्न सकिन्छ, लघुवित्तप्रति विश्वास गुम्ने खतरा बढ्ने देख्नुभएको छैन ?
मुलुक यति बेला आर्थिक मन्दीको चरणमा रहेको छ । सबै व्यवसाय चुनौतिपूर्ण अवस्थामा रहेको छ । आर्थिक गतिविधिहरु धेरै कम छ । त्यस कारण अब बाच्ने र बचाउने सिद्धान्तमा अगाडि बढ्नुपर्छ । लघुवित्त संस्थाहरु चल्नुपर्छ ।

सबै ऋण मिनाह, ब्याज छाडेर संस्था चल्दैन । संस्थामा एउटा ऋणीले पैसा तिरेन भने निक्षेपकर्तालाई पनि पैसा दिन सक्दैन । त्यस्तो भयो भने बैंकिङ प्रणाली ध्वस्त हुन्छ । अहिले उत्पन्न भएका समस्यालाई गहन रुपमा हेरर समाधान गर्न सकिने गर्ने र राज्यको कुनै कोषबाट लघुवित्तमार्फत अफ्ठ्यारो अवस्थामा गर्नपर्छ । ऋणीहरुलाई किस्ता तिर्न समय दिने हो । विगतमा लघुवित्तबाट ऋणको दुरुपयोग भयो । संस्थाले पनि नियमन गरेन ।

ऋण लिनेहरुले पनि सहज रुपमा अर्को ठाउँमा प्रयोग गर्‍यो । अब ऋणीले पनि ऋणको दुरुपयोग गर्दिन भनेर आउँदा समस्या समाधान हुन्छ । बिस्तारै राम्रो हुँदै जान्छ । हामीले धैर्य गर्ने अब सम्भावनाहरु के छ कसरी अगाडि बढ्न सकिन्छ भनेर संस्था र व्यक्तिहरु पनि विकल्पहरु खोज्न जरुरी छ ।

संस्थालाई किन पैसा दिएको भनेर औला देखाएर ऋण र ब्याज तिर्दिन भन्न थालियो भने राम्रो हुँदैन । अबको समाधान भनेको ऋण तिर्ने समय थप गर्ने र अफ्ठ्यारो परेकालाई सहजिकरण गर्नु हो । त्यो गर्न लघुवित्तहरु तयार छन् । पछिल्लो समय लघुवित्तका समस्या बाहिर आएसँगै विश्वास गुम्ने अवस्था देखिएको छ ।

कतिपयले लघुवित्त संस्था नबुझेर नै धारणा बनाएको पाइएको छ । सांसदहरुले समेत संसदमा बोल्न थाल्नुभएको छ । सबैलाई लघुवित्तको विषयमा बुझाउन आवश्यक रहेको देखिएको छ । ३६ प्रतिशत लघुवित्तले ब्याज लियो भन्ने गरिएको छ । त्यो हुन सक्दैन । प्रमाण भए राष्ट्र बैंकमा उजुरी दिन आग्रह छ ।


क्लिकमान्डु