चेक बाउन्सबारे सीएनआई प्रदेश १ को ध्यानाकर्षण



विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले चेक बाउन्स बैंकिङ कसुरबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले विज्ञप्ति जारी गर्दै चेक बाउन्स बैंकिङ कसुरबारे  ध्यानाकर्षण भएको जनाएका हुन् ।

नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चेक बाउन्सलगायतका बैंकिङ कारोबारसँग सम्बन्धित विषयलाई बैंकिड कसुर मान्न नहुने गरी बैंकिड कसुर तथा सजाय ऐन २०६४ संशोधन गर्न माग गरेकोप्रति असहमति जनाउँदै उनले त्यस कार्यप्रति आफ्नो संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

कसुरवारहरुको पक्षपोषण हुनेगरी नेपाल राष्ट्र बैंकसमक्ष पेस गरेको सुझावप्रति सीएनआई प्रदेश १ ले विरोध रहने विज्ञप्तिमा उल्लेख छ । बैंक खातामा मौज्दात नभएको जानकारी हुँदाहुँदै चेक काटेर आर्थिक कारोबार गर्ने र आफ्नो कार्यसिद्धि गरेपछि पनि भुक्तानी पाउनुपर्नेले नै सास्ती व्यहोर्नुपर्ने जस्तो गम्भीर विषयलाई बैंकर एसोसिएसनले बैंकिङ कसुर होइन भन्नु आश्चर्यको विषय भएको उनले बताएका छन् ।

विज्ञप्तिमा नेपालमा वित्तीय क्षेत्रको विस्तारसँगै कारोबार सञ्चालनमा समेत जोखिम बढ्दै गएको छ र हरेक वर्ष आर्थिक कसुरका फरक-फरक प्रकृतिका घटनामा वृद्धि भइरहेको तथ्यलाई पनि स्मरण गराइएको छ ।

‘ठूला व्यापारिक लेनदेनदेखि घरजग्गा कारोबार हुँदै सामान्य लेनदेनसम्म चेक बाउन्सको विवाद विकराल बनिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्था सुरक्षित र भरपर्दो आर्थिक कारोबार मानिने बैंकिङ प्रणालीका लागि पनि चुनौती र चिन्ताको विषय हुनुपर्ने हो ।’

आर्थिक कारोबारका लागि सुविधासम्पन्न र सुरक्षित मानिएको बैंकिङ प्रणालीलाई नै प्रयोग गरेर अपराध भइरहेका बेला यस्ता नीतिगत निर्णय गर्दा निजी क्षेत्रका संघ-संस्थासँग बृहत् परामर्श गर्न सीएनआईले अपिल पनि गरेको छ ।


क्लिकमान्डु