शिवम् सिमेन्टले तीन महिनामा गर्‍यो डेढ अर्बको व्यापार



काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा डेढ अर्ब बढीको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२३ को तीन महिनाको अवधिमा १ अर्ब ५३ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा ९ अर्ब २६ करोड रुपैयाँ, सन् २०२१ मा ९ अर्ब ६१ करोड ५० लाख रुपैयाँ र सन् २०२० मा ९ अर्ब ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१३ मा सञ्चालनमा आएको कम्पनीले सन् २०१५४ मा आईपीओ जारी गरी लिमिटेड कम्पनी भएको थियो ।

लक्की ग्रुप, शारडा ग्रुप र गोयल ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले सिमेन्ट उत्पादन गरी ओपीसी सिमेन्ट ‘शिवम् सिमेन्ट’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको चारवटा चुनढुङ्गा खानी रहेको छ । कम्पनीले सोही खानीबाट क्लिङ्कर उत्पादन गरी सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।

कम्पनीमा ८८ प्रतिशत शेयर शिवम् होल्डिङ प्रालिको छ । साथै, कम्पनीमा नेपालको सबैभन्दा ठूलो उद्योगमा स्थापित होङ्सी सिमेन्ट प्रालिले जोइन्ट भेन्चरको रुपमा रहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब १० करोड ९४ लाख रुपैयाँ को रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड १४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ९ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा रेटिङ कम्पनीले वाच विथ नेगेटिभ इम्प्लिेकेशनमा राखेको छ ।

कम्पनीअनुसार विश्वव्यापीरुपमा गत वर्षको तुलनामा यो वर्ष कोइलालगायत अन्य कच्चा पदार्थको मूल्य अत्याधिक बढेको छ । जसले गर्दा नाफामा निकै असर परेको देखिन्छ । कम्पनीले सन् २०२१ को तीन महिनाको अवधिमा १२.५ प्रतिशतले नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा ६.४ प्रतिशतमा खुम्चिएको छ ।


क्लिकमान्डु