मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै घुस मागेपछि विमानस्थलका जीएमलाई कारबाही: पर्यटनमन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताएका हुन् ।

उनले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए ।

मन्त्री किराँतीले महाप्रवन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घुस लिने गरेकाले निलम्बन गरेको बताए । उनले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्नेकुरा स्पष्ट पार्नुपर्ने बताए ।

उनले आफूले कसैको पनि एकपैसा नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिए ।

मन्त्री वा जिम्मेवार निकायको कुर्सीमा बसेर देशलाई धोका दिन नहुने उनको भनाइ छ ।

मन्त्री किराँतीले कोही घुस खानको लागि मन्त्री हुन आए उसलाई जनताले सजाय दिने बताए ।

उनले आफूलाई पैसा नचाहिएको भन्दै कर्मचारीबाट पारदर्शी काम चाहिएको बताए ।

‘विमानस्थलको निर्देशकलाई भर्खरै निलम्वन गरेर आएँ । मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै असुल्ने रहेछ । त्यही पनि थाइल एयरलाइन्सलाई करोडौं रुपैयाँ अब अरु पनि आउँछ, खुल्दै जान्छ । मन्त्रीलाई पैसा बुझाउनु पर्ने,कहिले कहिले बुझाइयो । को–को लाई बुझाइयो । त्यो स्पष्ट हुनुपर्छ । पैसा खानको निम्ति मन्त्री आएको हो भने जनताले सजाय गर्नुपर्छ’ उनले भने ।

उनले पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताए ।

सुशासन विधिको शासन भन्दा बाहिर कोही चल्न नसक्ने उनले बताए ।


क्लिकमान्डु