आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरको सम्झौता



काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षहरुको समुपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षहरू लगायत संचालकहरू र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता भएको हो ।

उक्त सम्झौतामा आईएमई कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरे ।

नेपाल बीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढदै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखि एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भै दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको एक आपसमा गाभ्ने/गाभिने सहमति सहित प्रारम्भिक सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डीडीए रिपोर्ट समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात १:१ कायम रहने गरी सम्झौता भएको छ ।


क्लिकमान्डु