सहकारी र लघुवित्तमा तरलता सहज नहुँदासम्म अर्थतन्त्र चलायमान हुँदैन: शेखर गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सहकारी र लघुवित्तमा तरलता सहज नहुँदासम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् ।

मंगलबार महासंघले आयोजना गरेको कार्यक्रममा गोल्छाले तल्लो तहमा तरलता सहज नहुँदासम्म बजारमा माग नबढ्ने र माग नबढ्दासम्म बजारमा आर्थिक गतिविधि बढ्न नसक्ने बताए ।

‘बजारमा माग नबढ्दासम्म आयात बढ्दैन । आयात नबढेको अवस्थामा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सक्दैन,’गोल्छाले भने,‘हामीले अर्थतन्त्र जोगाउनु पर्छ भनेर मात्रै हेर्नु हुँदैन् । अर्थतन्त्र चलायमान बनाउन तल्लो तहसम्म तरलता सहज हुने वातावरण बनाउँदै पर्छ ।’

कोरोना महामारीपछि अत्याधिक कर्जा प्रवाह हुँदा नेपालको अर्थतन्त्र समस्यामा परेको गोल्छाले बताए ।

‘हामीले अर्थतन्त्र समस्यामा पर्न सक्छ भन्ने अनुमान गरेर समयमै सही कदम चाल्न सकेको भए अहिलेको जस्तो मन्दी आउने थिएन,’गोल्छाले भने,‘तिब्र गतिमा चलिरहेको अर्थतन्त्रमा झ्याप्पै ब्रेक लगाउँदा अहिले संकट देखिएको हो ।’

सीसीडी रेसियोबाट सीडी रेसियो, आयात प्रतिबन्ध, चालू पुँजी कर्जा सम्बन्धी नीतिले अर्थतन्त्र संकटमा पर्नबाट जोगाए पनि अर्थतन्त्र चलायमान बनाउन नियामक निकायले सहजीकरण गर्न नसक्दा अहिले बजार चलायमान हुन नसकेको गोल्छाको भनाइ छ ।

क वर्गका बाणिज्य बैंकले मात्रै नभई सहकारी र लघुवित्त संस्थाबाट सहजै कर्जा लिन मिल्ने वातावरण बनाएर अर्थतन्त्र चलायमान बनाउनु पर्ने गोल्छाले बताए ।

‘अहिले विदेशी मुद्राको सञ्चितिमा सुधार भएको छ । शोधानान्तर स्थिति बचतमा छ,’गोल्छाले भने, ‘नियामक निकायले गरेको कडाईले नेपालको अर्थतन्त्र पाकिस्तान, श्रीलंका जस्तो खराब अवस्थामा पुगेन् । तर, अहिले अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँदा समेत अर्थतन्त्र जोगाउने भन्दै कडाई गरिरहँदा उद्योगी व्यवसायी समस्यामा परेको बताए ।’


क्लिकमान्डु