एमसीसी जस्ता ठूला, जलाशययुक्त जलमार्ग विकासमा लगानी गर्न अमेरिकालाई संगठनको सुझाव



काठमाडौं । उद्योग संगठन मोरङका प्रतिनिधि र नेपालका लागि अमेरिकी राजदुत डिन आर थोम्सनबीच भेटवार्ता भएको छ ।
भेटमा नेपाल र अमेरिकाको ब्यापारका आयाम र दिपक्षीय व्यवसायीक हितका सम्वन्धमा छलफल भएको छ ।

छलफलमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले अमेरिकाले नेपाललाई सहुलियतपूर्ण प्रवेशको अनुमति दिएको ७७ वटा वस्तुहरु खासै निर्यात हुन नसकेको तथ्यलाई मध्यनजर गरी उक्त वस्तुहरुको सूची पुनरवलोकन गर्न अनुरोध गरे ।

उनले उर्जाका क्षेत्रमा नेपालमा भइरहेको लगानी रन अफ रिभरमा आधारित रहेकाले आगामी दिनमा अमेरिकी सरकारले एमसीसी जस्ता ठूला र दीर्घकालिन महत्व राख्ने परियोजना अन्तर्गत लगानी गर्दा जलाशययुक्त विद्युत गृह र नेपालको जलमार्ग विकास तर्फ लगानी गर्न सुझाव दिए ।

अध्यक्ष प्याकुरेलले नेपालको उद्योग व्यवसायहरुको प्रतिष्पर्धी क्षमता र उत्पादकत्व अभिवृद्धिका साथै हरित उत्पादनलाई दृष्टिगत गरी अमेरिकाले प्रयोगमा ल्याएको नविनतम प्रविधि प्रयोग र हस्तान्तरणमा सहजीकरण तथा अनुभव आदान प्रदानमा सहयोग गर्न अनुरोध गरे ।

नेपालका लागि अमेरिकी राजदुत डिन आर थोम्सनले नेपाल र अमेरिका वीचको व्यवसायीक विस्तारका लागि आफु सदैव सकारात्मक रहेको बताए ।

उनले अमेरिकाले सहुलियतपूर्ण निकासीका लागि अनुमति दिएको वस्तुको सूचीलाई पुर्वविचार गर्न पहल गर्ने वताउदै नीजि क्षेत्रको विकास र विस्तारले देशको आर्थिक विकासमा दुरगामी महत्व राख्ने उल्लेख गर्दै दुवै देशको व्यापारिक हितलाई मध्यनजर गरी सहयोगका लागि आफुले सहजीकरण गर्ने बताए ।

सो अवसरमा राजदुत थोम्सनले उद्योग संगठन मोरङमा रहेको अमेरिकन कर्नरको अवलोकन गरी विराटनगरमा रहेका अल्मुनाईहरुका साथ अन्तरक्रिया समेत गरेका थिए ।


क्लिकमान्डु