‘२०२३ विश्वको अर्थतन्त्रका लागि खराब वर्ष हुनेछ’



एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टलीना जार्जीवाले २०२३ विश्व अर्थतन्त्रका लागि निकै खराब वर्ष हुने दाबी गरेकी छन् ।

उनले २०२३ मा विश्वको एक तिहाई भाग आर्थिक मन्दीको शिकार हुने बताइन् । आर्थिक मन्दी नआउने देशमा पनि अर्थतन्त्र कमजोर हुने र खराब अर्थतन्त्रको अवस्था भोग्नुपर्ने अवस्था आउने उनको दाबी छ ।

जार्जीवाले यसको कारण भने चीन, अमेरिका र युरोपियन युनियनमा कमजोर बन्दै गएको अर्थव्यवस्था हुने बताएकी छन् ।

युक्रेन युद्ध, बढिरहेको महंगी, बढिरहेको ब्याजदर र चीनमा कोरोना महामारीको पुनः बढिरहेको प्रकोपका कारण विश्वभरको अर्थतन्त्र प्रभावित हुने उनको भनाइ छ ।

आइतबार ‘फेस द नेसन’ नामक कार्यक्रममा उनले भनेकी छिन्, ‘हामीले विश्वको एक तिहाइ देशहरुमा आर्थिक मन्दी आउने अपेक्षा गरेका छौं । र आर्थिक मन्दी नआएका देशहरुमा पनि मन्दीकै जस्तो अवस्था लाखौं मानिसहरुले भोग्नुपर्नेछ ।’

आगामी वर्ष चीनका लागि आर्थिक रुपमा निकै असहज हुने उनी बताउँछिन् । पछिल्लो ४० वर्षमा चीनको आर्थिक वृद्धि बाँकी विश्वको आर्थिक वृद्धिको तुलनामा कम हुन सक्ने उनको अनुमान छ ।

चीनमा गत वर्षको डिसेम्बरमा कारखानामा उत्पादनको गतिविधिहरु पछिल्लो तीन वर्षमै सबैभन्दा कम भइरहेको छ ।

बीबीसीले जनाएअनुसार चीनका सयभन्दा धेरै शहरमा घरहरुको मूल्य पछिल्लो ६ महिना यता निरन्तर गिरावट भइरहेको छ । यो सबैको प्रभाव वैश्विक अर्थतन्त्रमा पनि पर्ने जर्जीवाले बताएकी छन् ।

युरोपमा पनि आर्थिक मन्दी देखा पर्ने उनले बताइन् । अमेरिकाको अर्थव्यवस्थाको अवस्थाले आर्थिक मन्दीबाट बच्न सक्ने अवस्था भए पनि अमेरिकामा पनि मन्दी र बढ्दो मूल्य वृद्धिलाई थप बढ्न नदिन केन्द्रित बैंकले ब्याजदरलाई निरन्तर उच्च राख्नुपर्ने हुनसक्ने उनले बताएकी छन् ।


क्लिकमान्डु