भारतमा नोटबन्दी सही ठहर, नेपालमा रहेको ५ करोड बढी भारु के होला ?



काठमाडौं । भारतको सर्वोच्च अदालतले सन् २०१६ मा भएको नोटबन्दीलाई सही ठहर गरेको छ ।

नोटबन्दीविरुद्ध दायर ६८ याचिका (रिट) माथि अदालतले फेसला सुनाएको हो । अदालतले भारतीय केन्द्र सरकार, रिजर्ब बैंक र याचिका दायरकर्ताहरुको बहसपछि गत सात डिसेम्बरमा फेसला सुरक्षित गरेको थियो ।

सुप्रिम कोर्टका न्यायाधीश एस नजिरको अध्यक्षतामा पाँच न्यायाधीशको समूहले फैसलामा नोटबन्दीलाई सही ठहर गरेको हो । तर न्यायाधीश नागरत्नाले आफ्नो फरक रायमा यसलाई गैह्रकानूनी उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१६ नोभेम्बर ८ को राति अप्रत्याशित रुपमा ५ सय र १ हजार रुपैयाँको भारतीय नोट बन्द गर्ने घोषणा गरेका थिए । यसपछि केयौं हप्तासम्म देश भर बैंक तथा एटीएम अगाडि पुरानो नोट बदलेर नयाँ नोट पाउनका लागि मानिसहरुको लामो लाइन लागेको थियो ।

मोदीको यो निर्णयसँगै कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा यसविरुद्ध याचिका दर्ता गरेका थिए । सुप्रीम कोर्टले यस्ता ५८ याचिकामाथि सुनुवाइ गर्दै सोमबार फैसला सुनाएको हो ।

उक्त फैसलाले नेपाललाई भने असर पर्ने भएको छ । नेपालको बैंकिङ प्रणालीमा प्रतिबन्धित ५ सय र १ हजार दरका ५ करोड भन्दा बढी भारतीय रहेको राष्ट्र बैंक स्रोतको भनाइ छ । अब उक्त नोट के हुने हो भन्ने अन्त्योलता बढेको छ ।


क्लिकमान्डु