घरजग्गा कारोबार संकटमा, मंसिरमा २९ हजार मात्रै किनबेच



काठमाडौं । बजारमा तरलता अभाव र ब्याजदर वृद्धिले घरजग्गा कारोबारमा ठूलो ह्रास आएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट पर्याप्त मात्रामा कर्जा प्रवाह हुन नसक्दा घरजग्गा कारोबार निकै प्रभावित भएको छ ।

त्यस्तै, सरकारले गत जेठमा जारी गरेको भू–उपयोग नियामवलीले पनि देशभर कारोबारमा निकै असर पुर्याएको छ । सरकारले जग्गा वर्गीकरणको कार्यलाई अनिवाई गरेसँगै यस क्षेत्रमा काम अघि बढ्न सकेको छैन् । त्यसको प्रत्यक्ष असर त छँदैछ । त्यसमाथि तरलता अभाव र ब्याजदर वृद्धिले झनै मारमा परेको घरजग्गा व्यवसायीहरु बताउँछन् ।

अहिले अधिकांश व्यक्तिहरुले समयमै ब्याजदर दिन सकेका छेनन् । जसले गर्दा अधिकांश घरजग्गाको लिलामीका सूचना आइरहेका छन् । तर, पनि घरजग्गा भने विक्री हुन सकेको छैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले पनि घरजग्गा कारोबार मन्दितर्फ धकेलिएको स्पष्ट पार्छ ।

गत वर्षको मंसिर महिनामा ७० हजारको हाराहारीमा घरजग्गा किनबेच भउको थियो । तर, यो वर्षको सोही अवधिमा देशभर २९ हजार १८४ वटा घरजग्गा किनबेच भएको छ । विभागअनुसार गत कात्तिक महिनामा देशभर २८ हजार र असोजमा २५ हजार ७८९ घरजग्गा किनबेच भएको थियो ।

गत कात्तिकको तुलनामा मंसिरमा करिब १ हजार बढी घरजग्गा किनबेच भएको तथ्याङ्कले उल्लेख गर्छ ।

मंसिर महिनामा देशभरका मालपोत कार्यालयबाट २९ हजार १८४ वटा घरजग्गा लिखत पारित हुँदा २ हजार ५११ नामसारी, ३ हजार ९४ संशोधन, २५ हजार ६०८ रोक्का, १८ हजार ३७३ फुकुवा र ८३७ वटा घरजग्गा दाखिला खारेज गरेको छ ।

मंसिरमा सबैभन्दा बढी कारोबार नेपालगञ्ज मालपोत कार्यालयबाट भएको छ । उक्त कार्यालयबाट मंसिरमा १ हजार ३८२ घरजग्गा किनबेच भएको छ । त्यस्तै, इनरुवा मालपोत कार्यालयबाट १ हजार २३३ वटा, बेलाबारी मोरङबाट १ हजार २४, भद्रपुर झापाबाट ८२३, धनगढीबाट ८०१, चितवनबाट ७९०, तुलसीपुर दाङबाट ७८६, बुटवल रुपन्देहीबाट ७४१ र लगनखेलबाट ७१५ घरजग्गा किनबेच भएको छ ।

साढे २ अर्ब राजस्व संकलन

मंसिर महिनामा कारोबार बढेपनि राजस्व संकलन भने कम भएको छ । ग्रामिण क्षेत्रलक्षित घरजग्गा किनबेच हुँदा राजस्व संकलन कम भएको विभागको भनाइ छ । गत कात्तिकमा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ७६ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । तर, मंसिरमा भने २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ मात्रै संकलन भएको छ ।

विभागअनुसार मंसिरमा सेवा करबापत १७ करोड ८ लाख रुपैयाँ, बागमतिबापत ६ करोड ७६ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ४४ करोड २४ लाख रुपैयाँ, पूँजीगत लाभकरबापत ७२ करोड ७८ लाख रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत १ करोड ६० लाखरुपैयाँलगायत अन्य विभिन्न सेवा दिएबापत राजस्व संकलन गरेको छ । साथै, विभागले सो अवधिमा २२ करोड रुपैयाँ राजस्व छुट दिएको छ ।

देशभरका मालपोत कार्यालयमध्ये मंसिरमा सबैभनदा बढी लगनखेल मालपोत कार्यालयले २० करोड ७१ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, डिल्लीबजारबाट १५ करोड २५ लाख रुपैयाँ, कलंकीबाट १४ करोड ८५ लाख रुपैयाँ, चावहिलबाट १४ करोड ३० लाख रुपैयाँ, भक्तपुरबाट १३ करोड ५१ लाख रुपैयाँ, चितवनबाट १० करोड ६७ लाख रुपैयाँ र कास्कीबाट ७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

१३ हजार जग्गा कित्ताकाट

सरकारले भूउपयोग नियामवली जारी गर्दै कित्ताकाटमा निकै कडाइ गरेको छ । उक्त कडाइ गरेकाले देशभरमा हुने कित्ताकाटमा शतप्रतिशत कमी आएको छ । सरकारले आगामी मंसिर २३ गतेसम्ममा कृषि, गैह्रकृषिमा अनिवार्य जग्गा वर्गीकरण गर्न निर्देशन दिएको थियो । तर, स्थानीय तहमा भने वर्गीकरणको अन्यौल नै देखिएको छ ।

विभागअनुसार गत साउनमा ८ हजार ७८५ जग्गा कित्ताकाट भई १५ हजार ३०५ कित्ता कायम भएको थियो । भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भई २१ हजार ८७७ कित्ता कायम भएको छ । त्यस्तै, असोजमा ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ वटा कित्ता कायम भएको र कात्तिकमा १० हजार ५४४ जग्गा कित्ताकाट भई २२ हजार ५६५ कित्ता कायम भएको थियो ।

मंसिरमा भने देशभर १३ हजार २२१ कित्ता वर्गीकरण भई ३० हजार ७२८ कित्ता कायम भएको छ ।


क्लिकमान्डु