४० किसानलाई डेबिट र १३ किसानलाई क्रेडिट कार्ड वितरण, क्रेडिट कार्ड हुनेले बिना धितो ऋण पाउने



दाङ । तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ ।

पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो ।

सिसा परियोजना, सीमिट इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोगमा मेगा बैंकले उक्त डेबिट र क्रेडिट कार्ड वितरण गरेको हो । डेबिट र क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको वडाध्यक्ष डाँगीको भनाइ थियो ।

अर्थाभावले कृषि खेतीमै प्रभाव पार्ने अवस्था आउन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न यसले भूमिका खेल्ने अध्यक्ष डाँगीको भनाइ थियो । ‘क्रेडिट कार्डबाट किसानले मल, बीउलगायत अन्य कृषिसम्बन्धी सामग्री चाहियो भने लैजान सक्नुहुन्छ’, उनले भने, ‘यसले किसानलाई फाइदा पुर्याउँछ ।’

क्रेडिट कार्ड प्राप्त किसानलाई बिना धितो राज्यले दुई लाखसम्म ऋण दिन्छ । सहुलियत कर्जाका रूपमा पाउने त्यो ऋण किसानले कृषि उत्पादन बिक्रीपछि प्राप्त गरेको रकमले पनि तिर्न सक्छन् । उनीहरूले त्यो ऋण कृषि सामग्री खरिदभन्दा अन्य कामका लागि प्रयोग गर्न पाउँदैनन् । त्यस्तै डेबिट कार्डबाट किसानले अनुदान सहयोग, क्षतिपूर्ति हालिदिनका लागि प्रयोग हुनेछ । क्रेडिट कार्ड प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ भने डेबिट कार्ड पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्छ ।

पहिलो चरणमा वडा नं १६ बाट वितरण गरिएको भए पनि सबै पालिकाका सबै किसानलाई उक्त कार्ड प्रदान गरिने सिसा परियोजनाका कार्यक्रम अधिकृत जङ्गबहादुर गुरुङले बताए । “सुरुआत वडा नं १६ बाट भयो, १३ मा पनि वितरण गर्ने तयारी गरेका छौँ”, उनले भने, ‘अब हामीले उपमहानगरपालिकासँग समन्वय गरेर सबै वडामा पु¥याउने छौँ ।’ कार्ड पाएपछि किसान पनि खुसी भएका छन् । आफूहरूले अनुदान पाउने गरी क्रेडिट कार्ड दिएपछि यसले थप सहज हुने किसान वीरबल केसीले बताए ।


क्लिकमान्डु