जीवन बीमा कम्पनीको लगानी ५ खर्ब नजिक, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीहरुको कुल लगानी ५ खर्ब नजिक पुगेको छ ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको पहिलो त्रैमासको अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ४ खर्ब ९७ अर्ब ७२ करोड २७ लाख रुपैयाँ लगानी गरेका गरेका हुन् ।

जुन गत आवको सोही अवधिको तुलनामा २७.९७ प्रतिशतले धेरै हो । गत आवको पहिलो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीहरुले ३ खर्ब ८८ अर्ब ९५ करोड १८ लाख रुपैयाँ कुल लगानी गरेका थिए ।

जीवन बीमा कम्पनीहरुको कुल लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा केन्द्रित भएको छ । कुल लगानीको ७७.२० प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ ।

जीवन बीमा कम्पनीहरूले कुल लगानी मध्ये ६७.३९ प्रतिशत वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।

यस्तै विकास बैंकहरुको मुद्दती निक्षेपमा जीवन बीमा कम्पनीहरूले कुल लगानीको ८.६७ प्रतिशत, फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा १.१० प्रतिशत र नेपाल पूर्वाधार बैंकको निक्षेपमा ०.०५ प्रतिशत गरी गरी ७७.२० प्रतिशत लगानी गरेका हुन् ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ३ खर्ब ३५ अर्ब ३९ करोड ७६ लाख रूपैयाँ, विकास बैंकहरुको मुद्दती निक्षेपमा ४३ अर्ब १२ करोड रुपैयाँ, फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ५ अर्ब ४७ करोड रुपैयाँ र नेपाल पूर्वाधार बैंकको निक्षेपमा २५ करोड रुपैयाँ लगानी गरेका छन् ।

कृषि तथा पर्यटन क्षेत्रमा ७ अर्ब १९ करोड २५ लाख रूपैयाँ र घरजग्गामा ३६ करोड २४ लाख रुपैयाँ लगानी गरेका छन् ।

कुन कम्पनीको लगानी कति ?

१९ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै लगानी नेपाल लाइफले गरेको छ । इन्स्योरेन्सले यस अवधिमा १ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) ले ७८ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले ४९ अर्ब १८ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै, राष्ट्रिय बीमा संस्थानले ४१ अर्ब ७० करोड रुपैयाँ, नेशनल लाइफले ३१ अर्ब ५२ करोड रुपैयाँ, मेट लाइफले २४ अर्ब ४४ करोड रुपैयाँ, प्राइम लाइफले १९ अर्ब ९३ करोड रुपैयाँ, यूनियन लाइफले १३ अर्ब ३८ करोड रुपैयाँ र गुराँस लाइफले ११ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेका छन् ।

यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले ९ अर्ब ८७ करोड, ज्योति लाइफले ९ अर्ब ५७ करोड, रिलायबल लाइफले ८ अर्ब ८० करोड, आईएमई लाइफले ६ अर्ब ३५ करोड, रिलायन्स लाइफले ६ अर्ब २६ करोड, सन नेपाल लाइफले ६ अर्ब १४ करोड रुपैयाँ बराबरको लगानी गरेको प्राधिकरणको तथ्यांक छ ।

चालु अवाको पहिलो त्रैमासको अवधिमा प्रभु लाइफ इन्स्योरेन्सले ५ अर्ब ७१ करोड रुपैयाँ, सानिमा लाइफ इन्स्योरेन्सले ५ अर्ब ६० करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले कूल ४ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेको प्राधिकरणको तथ्यांक छ ।

बीमकको लगानी निर्देशिकाअनुसार जीवन बीमा कम्पनीहरुले नेपाल सरकारका बचपत्रमा न्यूनतम ५ प्रतिशत, क वर्गको बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, घर जग्गामा बढिमा ५ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।

यस्तै, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा २० प्रतिशत, क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढिमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढिमा २० प्रतिशत, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढिमा २० प्रतिशत लगानी गर्न सक्छन् ।

जीवन बीमा कम्पनीहरुले म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढिमा ५ प्रतिशत, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिण्मा २० प्रतिशत र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।


बिजया बास्कोटा