दाल बेच्ने ३ कम्पनीले एक वर्षमा गरे ५ अर्बको व्यापार, कुनले कति ?



काठमाडौं । नेपाली बजारमा विभिन्न प्रकारका दाल बेच्ने तीन कम्पनीले एक वर्षमा करिब ५ अर्बको व्यापार गरेका छन् । कम्पनीहरुले सन् २०२१ मा ४ अर्ब ८३ करोड २० लाख रुपैयाँको व्यापार गरेका हुन् ।

सन् २०२१ मा आशीर्वाद दाल मिल्स प्रालि, नारायणी मोडर्न पल्सेस उद्योग र त्रिवेणी दाल र आयल उद्योग प्रालिले सो रकम बराबरको करिब ५ अर्बको व्यापार गरेका हुन् । सो वर्ष आशीर्वाद दाल मिल्सले सन् २०२१ मा ८२ करोड ८० लाख रुपैयाँ, नारायणी मोडर्न पल्सेस उद्योगले २ अर्ब ५५ करोड २० लाख रुपैयाँ र त्रिवेणी दाल एण्ड आयल उद्योगले १ अर्ब ४५ करोड २० लाख रुपैयाँको व्यापार गरेको तथ्याङ्कले देखाउँछ ।

कम्पनीहरुले रेटिङ गर्नका लागि सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोभिडको समयमा पनि उच्च व्यापार गरेको देखिन्छ । उक्त कम्पनीहरुले बजारमा विभिन्न ब्रान्डमा मसुर दाल, मुङ दाल, हरियो र पहेंलो केराउलगायत अन्य विभिन्न प्रकारका दाल बिक्री वितरण गर्दै आएका छन् ।

त्यस्तै, कम्पनीहरुले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब २० करोड ४५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

नारायण मोडर्न पल्सेस उद्योगः चचन ग्रुपद्वारा सञ्चालित नारायणी मोडर्न पल्सेस उद्योगको व्यापार कोरोना महामारीका कारण घटेको व्यापारमा कोरोनापछि रिबाउन्ड हुँदै गएको जनाएको छ ।

कम्पनीले कोरोनाअघि अर्थात् सन् २०१९ मा २ अर्ब ६८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२० मा कोरोना महामारीका कारण २ अर्ब २३ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

त्यस्तै, सन् २०२१ मा कोरोना महामारीको संक्रमण कम भएसँगै १३.९६ प्रतिशतले आम्दानी वृद्धि गरी २ अर्ब ५५ करोड २० करोडको व्यापारसहित रिबाउन्ड हुँदै गएको कम्पनीको भनाइ छ ।

त्यसैगरी, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा १ अर्ब २१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।

मोहनलाल अग्रवाल र श्रवणकुमार चचनको स्वामित्व रहेको कम्पनीको व्यापारमा रिबाउन्ड हुँदै गएपनि नाफा भने घटेको छ । कम्पनीले सन् १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएकोमा सन् २०२१ मा भने १ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीअनुसार सन् २०२० मा ७.४१ प्रतिशतले नाफा कमाएकोमा सन् २०२१ मा ५.९६ प्रतिशतमात्रै नाफा कमाएको छ ।

कम्पनीले विभिन्न देशबाट मसुर दाल, हरियो र पहेंलो केराउ आयात गर्दै प्रशोधन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । साथै, कम्पनीले निर्यातसमेत गर्ने गरेको छ ।

५० हजार मेट्रिक टन क्षमताको खाद्यान्न उत्पादनसहित साना तथा घरेलु उद्योगमा दर्ता भएको कम्पनीको काठमाडौं, पोखरा, इटहरी, भैरहवा, नेपालगञ्ज र जनकपुरमा डिपो छ ।

केयर रेटिङ नेपालमार्फत् कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८३ करोड ७५ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा केयर रेटिङले कम्पनीलाई दीर्घकालीन कर्जाका लागि २० करोड ४० लाख रुपैयाँ अर्थात् डबर बी र अल्पकालीन कर्जाका लागि १ अर्ब ६३ करोड ३५ लाख रुपैयाँको अर्थात् एफोर रेटिङ दिएको छ ।

त्रिवेणी दाल तथा तेल उद्योगः त्रिवेणी दाल तथा तेल उद्योगले सन् २०२१ मा १ अर्ब ४५ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२० मा १ अर्ब ३० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । जसमा कम्पनीले सन् २०२१ मा ११ प्रतिशतले व्यापार बढेको जनाएको छ । कम्पनीले सन् २०१९ मा ८७ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

कम्पनीको सन् २०२१ मा साढे १ अर्बको व्यापार गरेपनि नाफा भने ६९ लाख रुपैयाँले घटेको छ । सन् २०२० मा कम्पनीले १ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा १ अर्ब १ करोड ७० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६२ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ करोड ९६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५९ करोड रुपैयाँको रेटिङ गराएको छ ।

वार्षिक १८ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले विभिन्न देशबाट दाल चामल आयात गरी बिक्री वितरण गर्दै आएका छन् । कम्पनीले विशेषगरी मसुर दाल, हरियो र पहेंलो केराउ आयात गर्दै प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ ।

संघाई परिवारको ७५ प्रतिशत हिस्सा रहेको कम्पनीमा दुई जना सञ्चालक समिति छन् ।

आशीर्वाद दाल मिल्स प्रालिः ‘जगत’ ब्रान्डमा विभिन्न प्रकारका दाल बेच्ने आशीर्वाद दाल मिल्सले प्रालिले सन् २०२१ मा ८२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०१६ देखि विभिन्न देशबाट अप्रशोधित दाल आयात गरी प्रशोधन गर्दै बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीसँग दुई वटा प्रशोधन युनिट छ । उक्त दुई उद्योगमध्ये मास मिलले दैनिक ३५ मेट्रिक टन मुङ दाल र मास दाल प्रशोधन गर्दै आएको छ । त्यस्तै, मसुर मिलले दैनिक ४० मेट्रिक टन चना दाल, मसुर दाल र रहर दाल प्रशोधन गर्ने क्षमता छ ।

कम्पनीले सन् २०२० मा ४० करोड ७० लाख रुपैयाँ र सन् २०१९ मा ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७४ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ११ करोड २० लाख रुपैयाँ अर्थात् ‘बी माइनस’ र अल्पकालीन कर्जाका लागि ६३ करोड ५० लाख रुपैयाँ अर्थात् ६३ करोड ५० लाख रुपैयाँको रेटिङ पाएको छ ।

कम्पनीले अष्ट्रेलिया, क्यानाडा, तान्जानिया र म्यानमारबाट कच्चा पदार्थ आयात गर्दै प्रशोधन गरी जगत ब्रान्डमा नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विशेषगरी मसुर, मास, रहर, चना र मुङ दाल गरी ५ वटा दालको कारोबार गर्दै आएको छ ।

शिवजी प्रसाद साह कल्वार अध्यक्ष रहेको कम्पनी वीरगञ्ज पर्सा जिल्लामा रहेको छ । कम्पनीअनुसार सन् २०१८ देखि सन् २०२१ मा २३ प्रतिशतले आम्दानी बढेको जनाएको छ । त्यस्तै, कम्पनीले सन् २०२१ मा ८.३२ प्रतिशतले नाफा कमाएको छ ।


अरिष्मा मोक्तान