अधिकांश फाइनान्सको नाफा घट्यो, पहिलो त्रैमासमा मञ्जुश्रीले ७ करोड कमाउँदा कुन कम्पनीले कति ?



काठमाडौं । सञ्चालनमा रहेका १३ वटा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

वित्तीय विवरण सार्वजनिक गरेका १३ फाइनान्स कम्पनीमध्ये ७ कम्पनीको नाफा प्रभावित भएको छ ।

गत आवको सोही अवधिको तुलनामा नाफा प्रभावित हुने फाइनान्सहरुमा सेन्ट्रल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेष्टमेन्ट, बेस्ट फाइनान्स, आइसीएफसी फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी फाइनान्स रहेका छन् ।

पहिलो त्रैमासको अवधिमा मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स र गोर्खाज फाइनान्सको भने नाफा बढेको कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ ।

गत आवको पहिलो त्रैमासमा मल्टीपपर्स फाइनान्सको नाफा ऋणात्मक थियो । चालु आवको पहिलो त्रैमासको अवधिमा फाइनान्सको नाफा धनात्मक भएको छ । यस्तै, समृद्धि फाइनान्स नोक्सानीमा छ ।

मञ्जुश्रीले कमायो सार्वधिक, ३ महिनाको नाफा ७ करोड ११ लाख

१३ कम्पनीमध्ये सर्वाधिक नाफा मञ्जु श्री फाइनान्सले कमाएको छ । यस अवधिमा फाइनान्सले ७ करोड ११ लाख ३७ हजार रूपैयाँ नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १४७.९२ प्रतिशतले धेरै हो ।

गत आवको सोही अवधिमा कम्पनीले २ करोड ८६ लाख ९३ हजार रूपैयाँ मात्रै नाफा कमाएको थियो ।

यस्तै, मञ्जु श्रीपछि धेरै नाफा कमाउनेको सूचीमा गुडविल फाइनान्स, आइसीएफसी फाइनान्स, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, रहेका छन् ।

चालु आवको ३ महिनामा गुडविलले ३ करोड ८४ लाख २३ हजार रुपैयाँ, आइसीएफसीले ३ करोड ३४ लाख ५८ हजार रुपैयाँ, गोर्खाज फाइनान्ँसले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ र प्रोग्रेसिभ फाइनान्सले २ रकोड २९ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

पोखरा फाइनान्सको २६१.६० प्रतिशतले बढ्यो

वित्तीय विवरण सार्वजनिक गर्ने १३ फाइनान्समध्ये ४ वटाको नाफा बढेको छ । नाफा बढेका ४ फाइनान्समध्ये पोखरा फाइनान्सले सबैभन्दा धेरै प्रतिशतले नाफा बढाएको छ ।

चालु आवको पहिलो त्रैमासमा फाइनान्सले ४६ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा फाइनान्सको नाफा २६१.६० प्रतिशतले बढेको हो । फाइनान्सले अघिल्लो आवको सोही अवधिमा १२ लाख ९७ हजार रूपैयाँ नाफा कमाएको थियो ।

यस्तै, मञ्जु श्री फाइनान्स, नेपाल फाइनान्स र गोर्खाज फाइनान्सको नाफा गत आवको सोही अवधिको तुलनामा बढेको हो ।

गत आवको सोही अवधिको तुलनामा मञ्जुश्री फाइनान्सको नाफा १४७.९२ प्रतिशतले बढेर ७ करोड ११ लाख ३७ हजार रुपैयाँ पुगेको छ । यस्तै, नेपाल फाइनान्सको नाफा १३२.९२ प्रतिशतले बढेर ८१ लाख ७९ हजार रुपैयाँ र गोर्खाज फाइनान्सको नाफा १०१.०५ प्रतिशतले बढेर ३ करोड ३३ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा मञ्जुले २ करोड ८६ लाख ९३ हजार रुपैयाँ, नेपालले ३५ लाख २४ हजार रुपैयाँ र गोर्खाजले १ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएका थिए ।

वेस्ट फाइनान्सको नाफा ९५.१० प्रतिशतले घट्यो

गत आवको सोही अवधिको तुलनामा नाफा प्रभावित भएका ७ फाइनान्समध्ये बेस्ट फाइनान्सको नाफा धेरै प्रतिशततले घटेको छ । गत आवको सोही अवधिको तुलनामा बेस्टको नाफा ९५.१० प्रतिशतले घटेको हो ।

चालु आवको ३ महिनामा फाइनान्सले ५९ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा बेस्टले १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

श्री इन्भेष्टमेन्टको नाफा ८९.६७ प्रतिशतले घटेर २८ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा श्रीले २ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आवको सोही अवधिको तुलनामा सेन्ट्रल फाइनान्सको नाफा ३१.३७ प्रतिशतले ९३ लाख ६६ हजार रूपैयाँमा सीमित भएको हो । अघिल्लो आवमा फाइनान्सले १ करोड ३६ लाख ४८ हजार रूपैयाँ नाफा कमाएको थियो ।

प्रोग्रेसिभ फाइनान्सको नाफा ३१.९० प्रतिशतले घटेर २ करोड २९ लाख ३१ हजार रूपैयाँमा खुम्चिएको छ । गत आवको यसै अवधिमा यस फाइनान्सले ३ करोड ३६ लाख ७४ हजार रूपैयाँ नाफा कमाएको थियो ।

यस्तै, आइसीएफसी फाइनान्सको नाफा २९.७९ प्रतिशतले घटेर ३ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा फाइनान्सले ४ करोड ७६ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ ।

यस्तै, गुहेश्वरी फाइनान्सको नाफामा ८५.५७ प्रतिशतको गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा १ करोड ५७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको गुहेश्वरीको नाफा चालु आवको असोज मसान्तमा आईपुग्दा २२ लाख ७२ हजार रुपैयाँमा सीमित भएको हो ।

मल्टीपर्पस फाइनान्सको नाफा धनात्मक

गत आवको पहिलो त्रैमासको अवधिमा मल्टीपर्पस फाइनान्स ऋणात्मक थियो । उक्त अवधिमा १ करोड ५२ लाख रुपैयाँ ऋणात्मक थियो । चालु आवको पहिलो त्रैमासमा भने यस फाइनान्सले ४ लाख १८ करोड रुपैयाँ नाफा कमाएको हो ।

समृद्धि फाइनान्स नोक्सानीमा

वित्तीय विवरण सार्वजनिक १३ फाइनान्समध्ये १ वटा नोक्सानीमा छ । जसमा समृद्धि फाइनान्स रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सले ३ करोड १४ लाख ६३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

जानकी फाइनान्स र रिलायन्स फाइनान्सले भने चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।


बिजया बास्कोटा