८ फाइनान्सले कमाए १६ करोड नाफा, पोखरा फाइनान्सको २६१.६०% ले बढ्दा अरुको के भयो ?



काठमाडौँ । आठ वटा फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीहरुले चालु आवको असोज मसान्तसम्ममा कुल १५ करोड ८४ लाख २२ हजार रुपैयाँ नाफा कमाएका छन् ।

फाइनान्स कम्पनीहरुको यो नाफा गत अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.७० प्रतिशतले कम हो ।

अघिल्लो आवको यसै अवधिमा यी कम्पनीहरूले २४ करोड ६३ लाख रुपैयाँ नाफा कमाएका थिए । ८ फाइनान्स कम्पनीमध्ये ४ वटाको नाफा प्रभावित भएको छ ।

८ फाइनान्स कम्पनीमध्ये सेन्ट्रल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेष्टमेन्ट र बेस्ट फाइनान्सको नाफा प्रभावित भएको हो ।

यस्तै, वित्तिय विवरण सार्वजनिक गरेका मञ्जु श्री फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स र गोर्खाज फाइनान्सको भने नाफा बढेको छ ।

गत आवको सोही अवधिको तुलनामा सेन्ट्रल फाइनान्सको नाफा ३१.३७ प्रतिशतले ९३ लाख ६६ हजार रूपैयाँमा सीमित भएको हो । अघिल्लो आवमा फाइनान्सले १ करोड ३६ लाख ४८ हजार रूपैयाँ नाफा कमाएको थियो ।

प्रोग्रेसिभ फाइनान्सको नाफा ३१.९० प्रतिशतले घटेर २ करोड २९ लाख ३१ हजार रूपैयाँमा खुम्चिएको छ । गत आवको यसै अवधिमा यस फाइनान्सले ३ करोड ३६ लाख ७४ हजार रूपैयाँ नाफा कमाएको थियो ।

श्री इन्भेष्टमेन्ट फाइनान्स र बेस्ट फाइनान्सको नाफा ५० प्रतिशत भन्दा धेरैले प्रभावित भएको छ । चालु आवको पहिलो त्रैमासको अवधिमा श्री इन्भेष्टमेन्टको नाफा ८९.६७ प्रतिशत र बेसट फाइनानस्को नाफा ९५.१० प्रतिशतले घट्न पुगेको हो ।

चालु आवको असोज मसान्तसम्ममा श्री इन्भेष्टमेन्टले २८ लाख ७२ हजार रुपैयाँ र बेस्ट फाइनान्सले ५९ लाख ३३ हजार रुपैयाँ नाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा श्रीले २ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै, बेस्टले १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

४ वटाको बढ्यो, पोखरा फाइनान्सको २६१.६० प्रतिशतले बढ्यो

वित्तीय विवरण सार्वजनिक गर्ने ८ फाइनानस्मध्ये ४ वटाको नाफा बढेको छ । नाफा बढेका ४ फाइनान्समध्ये पोखरा फाइनान्सले सबैभन्दा धेरै प्रतिशतले नाफा बढाएको छ । चालु आवको पहिलो त्रैमासमा फाइनान्सले ४६ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा फाइनान्सको नाफा २६१.६० प्रतिशतले बढेको हो । फाइनान्सले अघिल्लो आवको सोही अवधिमा १२ लाख ९७ हजार रूपैयाँ नाफा कमाएको थियो ।

यस्तै, मञ्जु श्री फाइनान्स, नेपाल फाइनान्स र गोर्खाज फाइनान्सको नाफा गत आवको सोही अवधिको तुलनामा बढेको हो ।

गत आवको सोही अवधिको तुलनामा मञ्जु श्री फाइनान्सको नाफा १४७ं९२ प्रतिशतले बढेर ७ करोड ११ लाख ३७ हजार रुपैयाँ पुगेको छ । यस्तै, नेपाल फाइनान्सको नाफा १३२.९२ प्रतिशतले बढेर ८१ लाख ७९ हजार रुपैयाँ र गोर्खाज फाइनान्सको नाफा १०१.०५ प्रतिशतले बढेर ३ करोड ३३ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा मञ्जुले २ करोड ८६ लाख ९३ हजार रुपैयाँ, नेपालले ३५ लाख २४ हजार रुपैयाँ र गोर्खाजले १ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएका थिए ।


बिजया बास्कोटा