भारतीय कम्पनी एनएचपीसीले पायो पश्चिम सेतीको लाइसेन्स



काठमाडौं । लगानी बोर्डको कार्यालयले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई सम्भाव्यता अध्ययनको लाइसेन्स दिएको छ ।

बिहीबार लगानी बोर्डले आयोजना सर्वेक्षणका लागि एनएचपीसीलाई लाइसेन्स दिएको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले एनएचपीसीका नायव महाप्रवन्धक अशोक कुमार जोशीलाई अनुमति पत्र हस्तान्तरण गरेका हुन् ।

लगानी बोर्ड नेपालबाट लाइसेन्स पाएसँगै एनएचपिसीले आयोजनाबाट आर्थिक लाभ भए नभएको, आयोजना निर्माण गर्दा लाग्ने लागत, वातावरणीय प्रभाव मूल्यांकन, आयोजनामा अधिकतम विद्युत् उत्पादन हुन सक्ने सम्भावना लगायतका विभिन्न विषयमा २ वर्ष लगाएर अध्ययन गर्नेछ ।

गत जेठ २३ गते बसेको लगानी बोर्डको ५१ औं बैठकले पश्चिम सेती निर्माणको जिम्मा एनएचपीसीलाई दिने निर्णय गरेको थियो भने गत जेठ २ गते एनएचपीसी र लगानी बोर्डबीच सर्वेक्षण अनुमति पत्र जारी गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।


क्लिकमान्डु