प्रविधिमैत्री सेवामा मोडिँदै बीमा बजार



काठमाडौं । सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनमा आमूल परिवर्तन ल्याए पनि बीमा बजारमा भने त्यसको असर पर्न सकेको थिएन । बीमा बजारमा प्रविधिको विकास नहुँदा बीमा कम्पनीहरूको सेवा पुरानै शैलीमा सीमित थियो ।

बीमा व्यवसायमा बीमा अभिकर्ताको मूख्य भूमिका हुन्छ । अर्थात अभिकर्ताले नै बजारमा गई बीमालेख बिक्री गर्छन् । तर, विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण बन्दाबन्दीको अवस्था सृजना भयो ।

बीमा क्षेत्रको काम प्राय कागजी रूपमा गर्नुपर्ने हुन्छ । अर्थात, कार्यालयमै उपस्थित हुनुपर्ने र हरेक बीमितलाई प्रत्यक्ष रूपमा नै भेटेर गर्नुपर्ने हुन्छ । लकडाउनको समयमा प्रत्यक्ष रूपमा भेटेर पोलिसी बिक्री गर्न सम्भव भएन । जसले गर्दा बीमा कम्पनीहरूले प्रविधिमैत्री सेवा दिन थालनी गरे ।

बन्दाबन्दीका कारणले भौतिक रूपमा कर्यालय बन्द गर्नुपर्ने र प्रत्यक्ष भेटघाट पनि नभएको अवस्थामा बीमा कम्पनीहरूलाई व्यवसाय गर्न चुनौती थपियो ।

प्रविधिको प्रयोग नगरि अन्य विकल्प थिएन । जसले गर्दा पनि बीमा कम्पनीहरूलाई प्रविधिमैत्री बीमाको अवसर सृजना भयो । बन्दाबन्दीको समयमा बीमा कम्पनीहरूले बीमितहरूलाई अनलाइन तथा टेलिफोनमार्फत सेवा दिए ।

बीमाशुल्क, पोलिसी नवीकरण तथा दाबी भुक्तानी गर्ने लगायतका अन्य सुविधा अनलाइनमार्फत नै भएका थिए ।

प्रविधिमैत्री सेवाको आकर्षण र यसको प्रभावकारीता विस्तारै बढ्दै गएको बीमकहरू बताउँछन् ।

अझै पनि अन्य क्षेत्रमा जस्तो बीमा सेवामा भने पूर्ण रूपमा प्रविधिको प्रयोग भने हुन सकेको छैन ।

यद्दपि, बीमा कम्पनीहरूले प्रविधिको आवश्यकता बोध गर्दै प्रविधिको प्रयोगमार्फत अनलाइनबाट सेवा प्रवाह गर्न थालेका छन् ।

बीमा बजारमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्ने, दाबी गर्न सक्ने, बीमाको प्रिमियम तिर्न सक्ने लगाएतका सुविधाको विकास भएको हो ।

मान्छेहरू सूचना, प्रविधिसँग अभ्यस्त भइरहँदा बीमा क्षेत्रमा पनि यसको आवश्यकता बढ्दै गइरहेको बीमकहरू बताउँछन् ।

बीमाको पहुँच बढाउन र लागत घटाउन बीमामा प्रविधिको आवश्यक रहेको उनीहरूको तर्क छ ।

अन्य क्षेत्रमा जस्तै बीमा क्षेत्रमा पनि प्रविधिको प्रयोग बढाउँदै जानु पर्ने आवश्यकता बढ्दै गएको बीमक संघका अध्यक्ष चंकी क्षेत्री बताउँछन् । बीमा क्षेत्रमा प्रविधिको प्रयोग गर्दै जाने हो भने गाउँका दूरदराजमा रहेका वस्तीमा बीमाको दायरा पुग्ने क्षेत्रीको तर्कछ ।

‘बीमामा प्रविधिको प्रयोग बढाउँने हो भने बीमाको दायरा विस्तार गर्न थप सहयोग पुग्छ,’ सगरमाथा इन्स्योरेन्सका सीइओ समेत रहेका क्षेत्रीले क्लिकमाण्डूसँग भने,‘प्रविधिको प्रयोगले बीमाको पहुँच गाउँ गाउँमा पुग्छ ।’

बीमा क्षेत्रमा प्रविधिको आवश्यकता बढ्दै गएको उनले बताए । ‘छिटो, छरितो हुने हुनाले सहज हुन्छ । आफ्नो समायानुकुल बीमा गर्न सकियो । जसले गर्दा समय बच्यो,’ क्षेत्रीले थपे ‘प्रविधिसँग अभ्यस्त नहुँदा भने गाह्रो हुन्छ । अभ्यस्त नहुँदा पछि पनि परिन्छ,।’

बीमा वर्षमा एक पटक किनिन्छ । जसले गर्दा मान्छेहरू बीमामा प्रविधिसँग अभ्यस्त हुँदैनन् । तर, पछिल्लो समय भने आर्कषण बढेको उनी बताउँछन् ।

डिजिटल बीमालेख जारी गर्न सकिने

समितिले बीमा कम्पनीहरूलाई डिजिटल (अभौतिक) बीमालेख जारी गर्न बाटो खुलेको छ । अनिवार्य रूपमा भौतिक हुलाक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बीमा समितिले बीमा कम्पनीलाई डिजिटल बीमालेख जारी गर्ने बाटो खुला गरिदिएको थियो ।

बीमा कम्पनीहरूले जारी गर्ने बीमालेखमा टाँस गरिने हुलाक टिकट वापतको रकममा प्रति बीमालेख २० रूपैयाँ र बीमाशुल्क रसिदमा टाँस गरिने हुलाक टिकट वापतको रकममा प्रति बीमाशुल्क रसिद ५ रुपैयाँ बराबरको रकम नेपाल राष्ट्र बैंक, नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले राजश्व संकलनको लागि तोकेको बैंकमा राजश्व दाखिला गरी डिजिटल बीमालेख जारी गर्न सक्नेछन् ।

तर, डिजिटल माध्यमबाट जारी गरिएको बीमालेखको गोपनीयता र सुरक्षाको प्रत्याभुति बीमा कम्पनीहरूले नै गर्नुपर्नेछ ।

भौतिक रूपमा (कागजी स्वरूपमा) जारी गरिने बीमालेखको लागि भने हालकै व्यवस्था लागू हुने समितिको भनाइ छ ।

जीवन बीमा कम्पनीहरूले डिजिटल बीमालेख जारी गर्न थालेका छन् । सिटिजन लाइफ लगायतका कम्पनीहरूले अनलाइन बीमालेख जारी गर्न थालेका छन् ।

बीमाको प्रिमियम अनलाइनबाटै तिर्न सकिने

बीमा कम्पनीहरूले बीमाको प्रिमियम अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाएका छन् ।

कम्पनीहरूले राष्ट्र बैंकबाट इजाजतपत्र पाएका भुक्तानी सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गर्दै बीमाशुल्क तिर्न सकिने व्यवस्था मिलाएका हुन् ।

बीमालेख खरिद गर्ने बीमितले इसेवा, कनेक्ट आइपीएस, एनएचसीएल, खल्ती, सेलकम, फोन पे, खल्ती लगाएतका भुक्तानी सेवा प्रदायक संस्थाबाट बीमाको प्रिमियम तिर्न सक्नेछन् ।

यस्तै, वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगारीमा जाने सबै नेपालीहरूले अनिवार्यरूपमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गर्नुपर्ने व्यवस्था छ ।

यस्तो बीमा गर्दा लाग्ने प्रिमियम पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था कम्पनीहरूले मिलाएका छन् ।

वैदेशिक रोजगारमा जानेहरूले बीमालेख खरिद गर्न तथा बीमाशुल्क समेत भुक्तानी अनलाइनबाट नै गर्न सक्नेछन् ।

बीमा कम्पनीको मोबाइल एपबाट बीमा

बीमा कम्पनीहरूले आफ्नो एपमार्फत नै बीमालेख खरिद गर्न सक्ने व्यवस्था मिलाएका छन् ।

कम्पनीहरूले प्रविधिको प्रयोगलाई बढाएर ग्राहकलाई सुलभ सेवा दिने लक्ष्यका साथ कम्पनीहरूले मोबाइल एप संचालनमा ल्याएका हुन् ।

कम्पनीहरूले संचालनमा ल्याएको मोबाइल एपबाट बीमितहरूले आफ्नो बीमाको बारेमा जानकार पाउनुका साथै सोही एपमार्फत बीमालेख समेत खरिद गर्न सक्ने व्यवस्था छ ।

एपमार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरू तथा बीमाशुल्कको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिने, बीमा योजना र बीमाशुल्क गणना सम्बन्धी लगाएतका अन्य सूविधा समेत पाइने छ ।

बीमा कम्पनीलाई एकै ठाउँबाट नियमन गर्न एकीकृत सफ्टवेयर

नियामक निकाय बीमा समितिले पनि आफ्नो काम कारबाहीलाई छिटो, छरितो बनाउनका लागि एकीकृत सफ्टवेयरको निमार्ण गरेको छ । बीमा कम्पनीहरूलाई प्रभावकारी ढङ्गले नियमन गर्न सघाउ पुर्याउने विश्वासका साथ समितिले सफ्टवेयर सञ्चालनमा ल्याएको हो ।

बीमा कम्पनीहरूबाट कानूनी, उजुरी, नियमन, नीति विश्लेषण र परिपालन सम्बन्धी विषयका साथै दाबी तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरणहरू, बीमालेख तथा बीमाङ्की, अण्डरराइटिङ्, वित्तीय एवं लेखापरीक्षण र सूचना प्रविधि सम्बन्धी विवरणहरू सफ्टवेयरमार्फत समितिलाई प्राप्त हुन्छन् ।

अभिकर्ता र सर्भेयरको लाइसेन्स अनलाइनबाटै नवीकरण गर्न सकिने

यस्तै, समितिले बीमा अभिकर्ता तथा बीमा सर्भेयरको इजाजतपत्र नवीकरण पनि अनलाइनबाटै गर्न मिल्ने व्यवस्था गरेको छ ।

समितिले गत चैत ८ गतेदेखि बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाट गर्न मिल्ने व्यवस्था गरेको हो ।

बीमा कम्पनीहरूमा एपीआई मोडल लागू

बीमा कम्पनीहरूमा एपीआई मोडल लागू भएको छ । बीमा कम्पनीहरूको व्यवसायको विवरण दैनिक रूपमा संकलन गर्ने व्यवस्थाको लागि समितिले एपीआई मोडल लागू गरेको हो ।

बीमा कम्पनीहरूले बीमा समितिको एपीआई मोडलमा आफ्नो सफ्टवेयर इन्ट्रिगेट गरेपछि समितिले बीमा कम्पनीहरूको गतिविधिलाई लाइभ मोनिटरिङ गर्न सक्छ ।

बीमा कम्पनीहरूले जारी गरेका बीमालेख संख्या, बीमाशुल्क संकलन, दाबी भुक्तानी, बीमालेख धितोमा दिएको कर्जा, अभिकर्ता कमिशन, लगानी, पोलिसी सरेण्डरलगायतका डाटा समेत लाइभ हेर्न सक्ने व्यवस्था छ ।


बिजया बास्कोटा