युएईको नयाँ भिसा नीति, पर्यटक र पेशाकर्मीलाई लामो समय बस्न पाउने व्यवस्था



काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)ले नयाँ भिसा नीतिलाई जारी गरेको छ । युएईको यसअघिको भिसा नीतिमा भएको संशोधन सोमबार (३ अक्टोबर)बाट लागु भएको हो । नयाँ अध्यागमन प्रणालीअन्तर्गत यो संशोधन गत महिना भएको थियो ।

लागु भएको नयाँ भिसा नीतिअनुसार युएईमा पर्यटकसँगै पेशाकर्मीहरुले पनि लामो समयसम्म बस्न पाउने व्यवस्था भएको छ । घुम्नका लागि युएई जाने पर्यटकदेखि विभिन्न कामका लागि युएई गई रोगजारी गरिरहेका पेशाकर्मीहरुले पनि अब नयाँ भिसा नीतिअन्तर्गत रहेर पहिलेभन्दा लामो समयसम्म त्यहाँ बस्न पाउने भएका छन् ।

नयाँ भीसा नीतिअन्तर्गत रहेको ‘ग्रीन भिसा’ आप्रवासीहरुका लागि रहेको छ । यो भिसा लिएर युएई पुगेका आप्रवासीहरुले त्यहाँ पाँच वर्षसम्म बस्न पाउनेछन् । सँगै यसलाई पुनः नविकरण पनि गर्न सकिनेछ ।

यो भिसा सेल्फ स्पोन्सर्ड भिसा हो । अर्थात यो भिसा युएईका नागरिक, नियोक्ता वा युएईकै कसैले स्पोन्सर्ड गर्नु पर्दैन् । यो भिसा युएई आउन चाहने पेशाकर्मी, श्रमीक वा अरु कसैले पनि लिन पाउनेछन् । ग्रिन फिजा हुनेहरुलाई नयाँ व्यवस्थाअनुसार धेरै फाइदाहरु छन् । यो भिसा हुनेहरुले आफ्ना पत्नी, पती, सन्तान वा अरु नजिकका आफन्तलाई आफू युएईमा रहँदासम्म राख्न पाउनछन् ।

आमाबुबाले आफ्ना सन्तालाई २५ वर्षसम्म त्यहाँ राख्न पाउनेछन् । यसअघि यो व्यवस्था १८ वर्षसम्म थियो । अविवाहित छोरी वा अपांग सन्तानको हकमा भने यो उमेरहद लागु हुँदैन् । ग्रिन भिसा भएकाहरुको रेसिडेन्स समय सकिएपछि उनीहरुलाई ६ महिनाको ग्रेस समय दिइनेछ । यो ६ महिना पनि उनीहरु युएईमा बस्न पाउनेछन् ।

उद्यमी र पेशाकर्मी लागि विशेषगरि यो भिसा नीतिमा व्यवस्था परिवर्तन गरिएको छ । नयाँ भिसा नीतिमा १० वर्षको ‘गोल्डेन भिसा’ कार्यक्रम पनि राखिएको छ । गोल्डेन भिसा युएईमा बस्ने विदेशी उद्यमी, अनुसन्धाता, चिकित्सकिय पेशाकर्मी, विज्ञान वा अन्य क्षेत्रमा काम गर्ने विशेषज्ञ, प्रतिभाशाली विद्यार्थीलगायतलाई दिइनेछ ।

युएईमा राम्रो प्रतिभालाई आकर्षिक गर्नका लागि सन् २०२० मा यो भिसाको सुरुवात गरिएको थियो । गोल्डेन भिसा अन्तर्गत अब पाइने भिसाको अवधी १० वर्षको हुनेछ ।

भिसा पाउनेहरुलाई अन्य थुप्रै सुविधाहरु पनि उपलब्ध गराइएको छ । यसअघि यो भिसा भएकाहरुले ६ महिना देशभन्दा बाहिर रहेमा सुविधाको अन्त्य गर्ने व्यवस्था थियो । तर, अब १० वर्षको गोल्डेन भिसा सुविधाअन्त्र्गत यो प्रतिबन्धलाई पनि हटाइएको छ । यो सुविधासँगै आप्रवासीहरुका लागि आवश्यक घरेलु सहायकहरुको संख्यामा लागिरहेको सिमालाई पनि हटाइएको छ ।
नयाँ व्यवस्थाअनुसार गोल्डेन भिसा भएकाहरुले आफ्ना जीवनसाथी वा कुनै पनि उमेरका सन्तालाई स्पोन्सर गर्न पाउनेछन् । यदि गोल्डेन भिसा भएका व्यक्तिहरुको मृत्यु भइहालेमा पनि उनीहरुले स्पोन्सर गरेर युएई आएका उनीहरुका आफन्त वा परिवारले भिसाको अवधी रहँदासम्म त्यहाँ बस्न पाउनेछन् ।

यसअघि यस्ता पेशाकर्मी तथा उद्यमीहरुका लागि यो भिसा लिन ५० हजार एइडी (डिराम) भन्दा धेरै आम्दानी हुनुपर्ने आवश्यकता थियो । तर, अहिले त्यसलाई घटाएर ३० हजार डिराम बनाइएको छ।

त्यस्तै, पर्यटकहरुका लागि पनि भिसाको व्यवस्थामा नयाँ परिवर्तन भएको छ । यसअघि ३० दिनसम्म बस्न पाउने व्यवस्थालाई अहिले परिवर्तन गरेर ६० दिन बनाइएको छ । सँगै पर्यटकहरुका लागि पाँच वर्षसम्म पटक पटक जान पाइने भिसाको पनि सुरुवात गरिएको छ । ‘मल्टि इन्ट्री’ भिसाअन्तर्गतका पर्यटकहरुले एकै चोटी युएईमा बस्न चाहेमा निरन्तर ९० दिनसम्म बस्न पाउनेछन् ।

युएईले आफ्नो भिसा नीतिमा लिएको यो परिवर्तनलाई त्यहाँको सरकारको सबैभन्दा ठूलो फैसला मानिएको छ । युएई सरकारले भने धेरै उद्यमी, पर्यटक र पेशाकर्मीहरुलाई आकर्षित गर्नका लागि यस्तो नीति लिएको बताएको छ ।


क्लिकमान्डु