दशैंमा फुटपाथमा व्यापार गर्न पाइँदैन: बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ पैदलयात्रीको लागि भएकाले महानगरले त्यो अधिकार स्थापित गराउन दीर्घकालीन रुपमा सक्रिय रहेने बताएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै दशैंको सन्दर्भसँग जोडिएर फुटपाथ व्यापारको विषयमा भइरहेको टिकाटिप्पणीमाथि ध्यानाकर्षण भएका बताउँदै महानगरले निर्वाध रुपमा पैदलयात्रीले हिँडन पाउने अधिकारको संरक्षण गर्ने बताएका हुन् । कुनै पर्व विशेष वा अन्य कारणले पैदलयात्रीको अधिकार सुनिश्चित गर्ने कार्यक्रम नरोकिने महानगरले बताएको छ ।

विज्ञप्तिमा सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने भएकाले महानगरले पनि आफ्नो निति तथा कार्यक्रममार्फत यसलाई स्थापित गराउने कार्यक्रम अघि बढाएको बताइएको छ ।

आथिएक वर्ष २०७९/०८० मा वार्षिक नीतिअन्तर्गतबाट पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्रीको आवागमनका लागि फुटपाथ उपयोग सहज र सरल बनाइने र फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिने व्यवस्था भएको’ उल्लेख गर्दै विज्ञप्तिमा महानगरले यो नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनमा कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ ।

‘अन्य समयभन्दा यो बेला जेष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति, गर्भवति महिलाहरु किनमेलका घर बाहिर निस्कने समय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले, सडक किनारमा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्नो क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालिन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थापित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौं ।’


क्लिकमान्डु