खाद्य संकट सामना गर्न एशियाली देशलाई एडीबीले १८ खर्ब २७ अर्ब रुपैयाँ अनुदान दिने



काठमाडौं । एशियाली विकास बैंकले खाद्य संकट सामना गर्न एशियाली देशहरुलाई १४ बिलियन अमेरिकी डलर (१८ खर्ब २७ अर्ब रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ ।

एसिया र प्यासिफिक क्षेत्रमा बढिरहेको खाद्यान्न अभावलाई कम गर्नका लागि मंगलबार एडीबीले १४ बिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको हो ।

एडीबीले २०२२ देखि २०२५ को अवधिका लागि १४ बिलियन अमेरिकी डलर बराबरको कार्यक्रममार्फत यो क्षेत्रमा बढिरहेको खाद्यान्न अभावलाई कम गर्ने घोषणा गरेको छ ।

एशिया र प्यासिफिक क्षेत्रमा बढ्दो खाद्यान्न अभावसँगै वातावरणीय परिवर्तन र जैविक क्षतिका कारण खाद्यान्न प्रणालीमा भइरहेको क्षतिलाई पनि कम गर्नका लागि यो कार्यक्रम ल्याइएको हो । एडीबीले यसअघि नै सञ्चालनमा राखेको सहायतालाई यसले थप जोड दिने अनुमान गरिएको छ ।

यो कार्यक्रमका लागि वितरण गरिने अनुदानलाई विभिन्न फार्म, खाद्यान्न उत्पादन तथा वितरण, सामाजिक संरक्षण, सिंचाई तथा जलस्रोत व्यवस्थापनलगायतका क्षेत्रमा लगानी गरिनेछ । खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि शक्ति प्रतिस्थापनक, यातायात, वातावरण, स्वास्थ्यजस्ता क्षेत्रमा पनि लगानी गरिने एडीबीले बताएको छ ।

पछिल्लो समय युक्रेन र रसियाबीच भएको द्वन्द्वका कारण खाद्यान्न सामग्री र रसायनिक मलको वितरणमा क्षति पुग्दा विश्वभर नै खाद्यान्न प्रणालीमा असर गरेको छ । वातावरणीय परिवर्तन, कोरोना महामारीलगायतका विषयले यसअघि नै असर गरेको खाद्य प्रणालीलाई पुनः रुस युक्रेन द्वन्द्वले मारमा पारेको छ ।

जसकारण एडीबीको अनुदान कार्यक्रमले यस्तो समस्याबाट राहत हुने गरि काम गर्ने बताइएको छ । एडीबीका अध्यक्ष मासात्सुगु अशाकावाले भने, ‘यो समयमा एसियामा रहेका धेरै गरिब र भोका परिवारहरुलाई सहयोगको आवश्यकता छ । हामीले अहिले नै कदम चाल्नुपर्छ । हाम्रो सहयोग निश्चित समुह र मानिसहरुको लागि हो, जो खाद्य सुरक्षा अभावमा बाँचिरहेका छन् ।’


क्लिकमान्डु