के हो काठमाडौं महानगरलाई रातारात परिवर्तन गर्ने भनिएको ‘चिनियाँ शैली’ ?



काठमाडौं । टुकुचा उत्खनन अभियानमा सक्रिय रहेको काठमाडौं महानगरपालिकाको महानगर प्रहरी प्रमुख राजु पाण्डेले सोमबार एउटा अभिव्यक्ति दिए ।

उनले काठमाडौं महानगरपालिकालाई चिनियाँ शैलीमा विकास गर्ने दाबी गरे । रातारात काठमाडौ. परिवर्तन गर्ने योजना रहेको बताउँदै उनले भने, ‘अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढेकै गर्छ । महानगर चीनको देख्नु भएको छ । हामी चीनको महानगर स्टाइलले अघि बढ्न चाहन्छौं ।’

पाण्डेले थप विस्तार गर्दै आज केही नभएको ठाउँमा भोलि संरचना बन्ने किसिमले विकास गर्ने बताए । उनले भने, ‘रातारात काठमाडौं चेन्ज गर्नुपर्छ । अब सुत्ने होइन, उठ्ने बेला हो ।’

पाण्डेले भनेको चिनियाँ विकास मोडलको अर्थ पछिल्लो समय चीनमा भइरहेको तिव्र र व्यवस्थित विकासको मोडल हो । सन् २०१८ मा चीनको छेङ्दु नामक क्षेत्रमा एक रातमा नै पार्कको निर्माण भएको थियो । उक्त निर्माणको कार्य रातारात हुनु मात्रै प्रमुख कुरा नभएर दीगो विकासका रुपमा हुनु महत्वपूर्ण कुरा थियो ।

चीन पछिल्लो दशकमा तिव्ररुपमा शहरीकरणतर्फ लम्किरहेको छ । जसअनुसार तिव्र गतिमा विकास गर्ने र त्यसलाई दीगो विकासका रुपमा अवलम्बन गर्ने शैली चीनले अपनाएको छ । छेङ्दुको जुन ठाउँमा पार्क बनेको थियो, उक्त क्षेत्रमा ६ तलाभन्दा अग्लो भवन थियो । रातारात उक्त भवनलाई बन्द गरेर भत्काइयो । केही दिनमा नै सो भवन रहेको क्षेत्रमा पार्क निर्माण भएको थियो । चीनको सिचुआन प्रान्तमा रहेको यो क्षेत्रलाई अहिले ‘पार्क सिटी’का रुपमा पनि चिनिन्छ ।

छेङ्दु एउटा उदारहण मात्रै हो, चीनमा भइरहेको तिव्र विकासको । चीनमा पछिल्लो शताब्दीमा भइरहेको विकासको गति हेर्ने हो भने यो निकै तिव्र छ । सन् २०१८ मा १५ सय जना कामदारहरुले ९ घण्टा काम गरेर ट्रेन स्टेसनको निर्माण गरेका थिए ।

फुजियान प्रान्तको लोङयान शहरमा उनीहरुले ९ घण्टामा नै यो संरचनाको निर्माण सम्पन्न गरेका थिए । कोरोना महामारीको समयमा चीनमा १५ सय कोठा भएको अस्पताल पाँच दिनमा नै निर्माण गरेर चीनले विश्वलाई नै चकित बनाएको थियो । चीनको हबेइ प्रान्तमा रहेको नाङोग शहरमा उक्त अस्पताल बनेको थियो ।

२०२१ मा एक दिनभन्दा कम समयमा १० तलाको घर निर्माण भएको थियो । ‘प्रिफेब्रिकेटेड युनिट’ नामक एक प्रकारको निर्माण सामग्रीको प्रयोग गरेर चीनमा १० तलाको घरको निर्माण एक दिनभन्दा कम समयमा भएको थियो ।

ठूला ठूला यन्त्र र सैयौं कामदारहरुले एकसाथ काम गरेर यति कम समयमा निर्माण सम्पन्न गरेका थिए । भूकम्प प्रतिरोधी र दीर्घकालीन हुने गरि उक्त भवनको निर्माण यति कम समयमा भएको थियो । चीन केही दिनभित्र गरेको विकासका केही उदाहारण हुन् यी ।

काठमाडौं महानगरले अपनाउन खोजिरहेको चिनियाँ विकासको मोडलको अर्थ पनि यहिसँग जोडिएको छ । तिव्र गतिमा विकास गर्ने र त्यसलाई दीगो विकासको अवधारणाअन्तर्गत नै राखेर गर्ने चिनियाँ मोडलअनुसार नै महानगरले काम गर्न खोजेको पाण्डेले बताएका छन् ।

चीनको विगतमा फर्किने हो भने त्यहाँ १९४० सम्ममा ६९ वटा मात्रै शहरहरु थिए । व्यवस्थित शहरको विकासमा चीनले अर्बौं रकम खर्च गरेर काम सुरु गरेको थियो । निश्चित संख्यामा शहर हुनुले दुर्गम क्षेत्रबाट शहरी क्षेत्रमा हुने आवगमन तिव्र थियो । त्यसलाई कम गर्न र समग्र देशकै विकास गर्नका लागि चीनले शहरीकरणको बाटो अपनायो ।

सन् २००७ सम्म आइपुग्दा चीनमा ६७० वटा शहरहरु थिए । ६७ वर्षको अवधीमा करिब १० गुणाले त्यहाँका शहरका संख्याहरुमा वृद्धि भयो ।

करिब ४ हजार वर्षअघि सुरु भएको चीनको शहरी करण पछिल्लो समयमा आउँदा निकै व्यवस्थित र तिव्र देखिन्छ । कुनै संरचना भएको ठाउँमा रातारात परिवर्तन हुन्छ । रातारात हुने विकास देखावटी मात्रै नभएर दीर्घकालिन र दिगो पनि देखिएको छ ।

२००८ को विश्व व्यांकको एक रिपोर्टमा उल्लेख भएअनुसार चीनको सफलता पनि यहाँको शहरीकरणको शैली र प्रक्रियासँग जोडिएको छ । विश्वबैंकका उच्च सल्लाहकार शाहिद युसुफले उक्त रिपोर्टमा भनेअनुसार चीन जुन गतिमा विकास भइरहेको छ, त्यसले चीनलाई शहरीकरणमा मात्रै नभएर व्यवस्थित विकासतर्फ पनि लगेको छ ।

चीनले यस्तो तीव्र गतिमा विकास कसरी गर्न सकिरहेको छ त? पूर्वाधारमा चीनको अर्बौं लगानी छ । चीनमा ३ सय बिलियन अमेरिकी डलरभन्दा धेरै रकम लगानी गरेर विश्वकै सबैभन्दा तिव्र गतिमो ट्रेन बनेको थियो । जसले यातायातमा एउटा क्रान्ती नै ल्यायो । यस्ता थुप्रै आयोजनाहरु सफल हुनमा चीनमा भएका यन्त्रहरु हुन् ।

चीनमा ठूला ठूला यन्त्रहरु छन् । जुन यन्त्रसँग मानिसले सँगै काम गरेर तीव्र गतिमा निर्माण कार्य भइरहेको छ । चिनियाँ सरकारले पूर्वाधार निर्माणलाई विकासको प्रमुख पक्षको रुपमा गर्ने व्यवहारले पनि यो किसिमले तीव्र विकास सम्भव भएको छ ।

पिपुल म्यागजिनको २०२२ को एक अंकमा भनिएको छ, ‘चीनमा भएको सहज नीति, विकासका लागि भोक, कामदारले लगनशिल भएर गर्ने काम र विकासप्रतिको चाहनाले यस्तो तिव्र विकास सम्भव भएको छ ।’


क्लिकमान्डु