लगानी कोष प्रबन्धकको काम गर्न आध्यन्तलाई सेबोनले दियो अनुमति



काठमाडौं । धितोपत्र बोर्डले आध्यन्त फण्ड म्यानेजमेन्टलाई लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र दिएको छ ।

विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त सो इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवर्द्धन गर्न अनुमति दिएको छ ।

आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसायहरू र नवीन उद्यमहरूलाई पूँजीमा पहुँच प्रदान गर्ने भएको छ ।

आध्यन्तका संस्थापक मनोज पौडेलका अनुसार सेबोनले देखाएको नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालन मार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्नेछ ।

आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पूँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको उनले बताए ।

‘हामी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्रप्तिको उद्देश्य सहित नेपाललाई मध्य–आय भएको देशमा स्तरोन्नति गर्न प्राथमिकतामा रहेका क्षेत्रहरूलगायत उद्योग–व्यवसाय, पूर्वाधार, नवउद्यम, र अन्य क्षेत्रहरूमा लगानी परिचालन गर्नेछौं’ उनले भने ।

आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक फर्म हो । जसले उद्यमी र उद्यमहरूका लागि पूँजी परिचालनको नयाँ प्रणालीमा सहयोग गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सनराइज बैंक र लक्ष्मी बैंकबाट संस्थागत लगानीकर्ताहरू र विभिन्न क्षेत्रका विज्ञद्वारा प्रवद्र्धित भएको छ ।


क्लिकमान्डु