आर्थिक संकुचनको असर: साउनमा १५१ करोडका ८ हजार पोलिसी सरेण्डर, नेपाल लाइफको मात्रै साढे ३ हजार



काठममाडौं । बीमामा आर्थिक संकुचनको असर देखिएको छ । चालु आर्थिक वर्षको साउन महिनामा जीवन बीमा कम्पनीहरूमा एक अर्ब ५१ करोड रूपैयाँका ८ हजार पोलिसी सरेण्डर (त्याग, समर्पण) भएका छन् ।

बीमा समितिले उपलब्ध गराएको चालु आवको साउन महिनाको तथ्यांकअनुसार १९ जीवन बीमा कम्पनीमा एक अर्ब ५१ करोड २७ लाख ८५ हजार रूपैयाँ बराबरका ८ हजार ४२२ वटा पोलिसी त्याग भएका हुन् ।

लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सका बीमितिले ठुलो संख्यामा आफ्नो पोलिसी त्याग गरेको तथ्यांकले देखाउँछ । कुल सरेण्डर पोलिसीमध्ये नेपाल लाइफको ४४.०३ प्रतिशत सरेण्डर भएको बीमा समितिको तथ्यांक छ । साउन महिनामा नेपाल लाइफका ६४ करोड रूपैयाँका ३ हजार ६२४ वटा बीमालेख सरेण्डर भएका छन् ।

जुन कुल समर्पण मूल्यको ४२.३१ प्रतिशत हुन आउँछ ।

साउन महिनामा लाइफ इन्स्यारेन्स कर्पोरेसन(एलआइसी नेपाल) मा ३३ करोड ४५ लाख रूपैयाँका १ हजार ६६६ वटा बीमालेख त्याग भएका छन् । जुन कुल समर्पण संख्याको १९.७८ प्रतिशत र समर्पण मूल्यको २२.१२ प्रतिशत हो ।

राष्ट्रिय बीमा संस्थानमा ५ करोड ८९ लाख ९७ हजार रूपैयाँ बराबरका ६०८ वटा बीमालेख सरेण्डर भएका छन् ।

सबै भन्दा कम पोलिसी सरेण्डर हुनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सन नेपाल लाइफको १० लाख रूपैयाँका १३ वटा पोलिसी सरेण्डर भएका हुन् । यो कुल सरेन्डर पोलिसीको ०.१५ प्रतिशत मात्रै हो । भने कुल सरेण्डर रकमको ०.०७ प्रतिशत मात्रै हो ।

बीमितहरूले एशियन लाइफबाट ७३७ वटा, नेशनल लाइफबाट ६१६ वटा, मेट लाइफबाट ३५५ वटा, प्राइम लाइफबाट ४२ वटा, सूर्या लाइफबाट १०९ वटा बीमालेख त्याग गरेका छन् ।

यस्तै, आईएमई लाइफबाट ३१ वटा पोलिसी त्याग भएका छन् । यूनियन लाइफबाट ५० लाख रूपैयाँका ३६ वटा, ज्योति लाइफका ४५ लाख रूपैयाँका ३२ वटा, सन नेपाल लाइफका १० लाख रूपैयाँ बराबरका १३ वटा, रिलायन्स लाइफका ६१ लाख रूपैयाँका ७२ वटा, रिलायबल नेपाल लाइफका ६८ लाख रूपैयाँ बराबरका १४५ वटा, सिटिजन लाइफका २८ लाख रूपैयाँ बराबरका ४८ वटा, सानिमा लाइफका ३८ लाख रूपैयाँ बराबरका ३२ वटा, प्रभु लाइफको ६६ लाख रूपैयाँ बराबरका ३४ वटा र महालक्ष्मी लाइफको ४४ करोड रूपैयाँ बराबरका १७ वटा बीमालेख त्याग भएका छन् ।

समितिले बीमालेख खरिद गरेको १ वर्षमै पोलिसी सरेण्डर गर्न सक्ने व्यवस्थालाई कडाई गर्दै ३ वर्ष पुर्याएको छ ।

‘बीमकले बीमालेखअन्तर्गत पूरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखी ऋण प्रदान गर्न सक्नेछ ।’ समितिद्वारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८मा उल्लेख छ ।

उक्त निर्देशिकाले बीमा पोलिसी समर्पण मूल्य समेत निर्धारण गरेको छ ।

बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ  । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिने छ  ।

बीमा योजनाका बारेमा बुझेर आफ्नो आवश्यकताअनुसार बीमालेख खरिद गर्ने अभ्यासको विकास नहुँदा बीमितले आफ्नो बीमालेखलाई निरन्तरता दिन सक्दैनन् । र बीचमै सरेण्डरको बाटो रोज्ने गर्छन् ।

बीमालेख खरिद गर्नुपूर्व आफुले खरिद गर्ने बीमा योजनाका बारेमा राम्रोसँग नबुझ्दा बीमितलाई आफ्नो बीमालेखलाई निरन्तरता दिन नसक्ने अवश्था सृजना हुने विज्ञहरू बताउँछन् ।

उनीहरूका अनुसार बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुका कारणहरूमा बीमितलाई आर्थिक संकट पर्नु, अभिकर्ताले बीमा योजनाका बारेमा बुझाउन नसक्नु पनि हो ।


बिजया बास्कोटा