बीमालेख धितो राखेर बीमितले लिए ६७ अर्ब ७० करोड कर्जा, कुन कम्पनीबाट कति ?



काठमाडौं । जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखेर सम्बन्धित कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था छ ।

‘बीमकले बीमालेख अन्तर्गत पूरा ३ वर्षको बीमा शुल्क प्राप्त भइ बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् तथा एकल बीमा शुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखि ऋण प्रदान गर्न सक्नेछ,’ समितिद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ मा उल्लेख छ ।

यस अघि बीमितिले २ किस्ता प्रिमियम तिरेपछि बीमालेख धितो राखि कर्जा लिन पाउने व्यवस्था थियो । बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै पनि प्रकारको चल, अचल सम्पत्ति धितो नराखिकनै ऋण प्राप्त गर्न सक्छन् ।

बीमालेख बाहेक अन्य कुनै पनि धितो राख्नु नपर्ने कारणले बैंकको तुलनामा बीमालेख धितो राखेर कर्जा लिने प्रक्रिया झनझट मुक्तसमेत मानिन्छ ।

निर्देशिकाअनुसार बीमितहरूले ३ किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने छन् ।

६७ अर्ब ७० करोड कर्जा प्रवाह

गत आवमा बीमितले बीमालेख धितोमा राखेर ६७ अर्ब रूपैयाँ भन्दा धेरै कर्जा लिएका छन् । बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितोमा राखि १९ जीवन बीमा कम्पनीबाट ६७ अर्ब ७० करोड रूपैयाँ कर्जा लिएका हुन् ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका बीमितले आफ्नो बीमालेख धितोमा राखि २४ अर्ब ७६ करोड ९६ लाख रूपैयाँ कर्जा लिएका छन् । जुन कुल कर्जाको २६.५८ प्रतिशत हो ।

नेपाल लाइफका बीमितपछि एलआईसी नेपालका बीमितले बीमालेख धितो राखि १८ अर्ब ११ करोड रूपैयाँ कर्जा लिएका छन् ।

नेशनल लाइफका बीमितले ८ अर्ब, एशियन लाइफका बीमितले ३ अर्ब ९३ करोड रूपैयाँ कर्जा लिएका छन् ।

प्राइम लाइफका बीमितले २ अर्ब ८ करोड, राष्ट्रिय बीमा संस्थानका बीमितले २ अर्ब २६ करोड, सूर्या लाइफका बीमितले १ अर्ब ९३ करोड, मेट लाइफका बीमितले १ अर्ब १९ करोड रूपैयाँ, गुराँस लाइफका बीमितले १ अर्ब ६ करोड रूपैयाँ र यूनियन लाइफका बीमितले १ अर्ब १ करोड रूपैयाँ कर्जा लिएका छन् । अन्य कम्पनीले भने अर्ब भन्दा कम कर्जा प्रवाह गरेका छन् ।

बीमा कम्पनीलाई ५ अर्ब ९८ करोड रूपैयाँ आम्दानी

गत आवमा १९ जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर कर्जा प्रवाह गरी ५ अर्ब ९८ करोड रूपैयाँ आम्दानी गरेका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको गत आवको वित्तीय विवरणअनुसार बीमालेख धितो राखि सबैभन्दा धेरै कर्जा प्रवाह नेपाल लाइफले गरेको छ भने आम्दानी पनि नेपाल लाइफकै बढी देखिएको छ ।

कम्पनीले गत आवमा बीमालेख धितो राखेर कर्जा प्रवाह गर्दा २ अर्ब ३८ करोड रूपैयाँ आम्दानी गरेको छ । यस अवधिमा एलआइसी नेपालले बीमालेख धितोको कर्जा प्रवाहबाट १ अर्ब ३८ करोड रूपैयाँ आम्दानी गरेको छ ।

नेशनल लाइफले यस्तो कर्जा प्रवाह गरेवापत् ६३ करोड रूपैयाँ आम्दानी गरेको छ । एशियन लाइफले २३ करोड, प्राइम लाइफले १६ करोड, राष्ट्रिय बीमा संस्थानले १५ करोड, सूर्या लाइफले १४ करोड, मेट लाइफले १२ करोड र गुराँस लाइफले ११ करोड रूपैयाँ आम्दानी गरेका छन् ।

बाँकी रहेका कम्पनीले भने १० करोड भन्दा कम आम्दानी गरेका छन् । सानिमा लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इनस्योरेन्सले बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा प्राप्त हुने आम्दानी वित्तीय विवरणमा उल्लेख गरेका छैनन् ।

वाणिज्य बैंकले तोकेको ब्याजदर भन्दा बढी ब्याज लिन नपाइने

बीमा कम्पनीहरूले बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा ब्याज लिन पाउने व्यवस्था बीमा समितिद्वारा जारी निर्देशिकाले व्यवस्था गरेको छ ।

तर ब्याजदरको निर्धारण गर्दा भने बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको बयाजदर भन्दा बढी नहुने गरी बीमा कम्पनीको सञ्चालक समितिको स्वीकृति लिइ निर्धारण गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

तसर्थ, ऋण दिँदा ब्याजदर भने बीमा कम्पनीअनुसार फरक फरक हुने गर्छ । यद्यपि अधिकांश जीवन बीमा कम्पनीहरूले बीमितलाई बीमालेख धितोमा राखि कर्जा दिँदा १२ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् ।


बिजया बास्कोटा