नेपालसँग कुन देशले कति किन्छन् यार्चागुम्बा ?



काठमाडौं । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा विभिन्न देशले किन्दै आएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा मात्रै नेपालसँग विभिन्न ११ देशले ५ सय ३ किलो यार्चागुम्बा ३० करोड ९२ लाख २३ हजार रुपैयाँमा किनेका छन् ।

जबकी, अघिल्लो वर्ष नेपालले साढे ३ सय किलो यार्चागुम्बा २० करोड रुपैयाँमा बिक्री गरेको थियो । एक वर्षको अवधिमा नेपालले डेढ सय किलो बढी यार्चागुम्बा बिक्री गरी झन्डै ११ करोड रुपैयाँ बढी आम्दानी गरेको छ ।

कुन देशले कति किने ?

नेपालसँग सबैभन्दा धेरै यार्चागुम्बा किन्ने देश हो कम्बोडिया । कम्बोडियाले गत वर्ष नेपालबाट ३ सय १८ किलो यार्चागुम्बा २० करोड ६९ लाख ४३ हजार रुपैयाँमा किनेको छ ।

त्यस्तै, भियतनामले ३ करोड २४ लाख ८१ हजार रुपैयाँमा ७१ किलो, हंकंगले ३ करोड ९४ लाख ९१ हजार रुपैयाँमा ६९ किलो, कोरियाले ६७ लाख १५ हजार रुपैयाँमा १० किलो, बेलायतले ५९ लाख ८६ हजारमा १० किलो, सिंगापुरले ९९ लाख ४६ हजार रुपैयाँमा ११ किलो, फ्रान्सले ६३ लाख ७८ हजार रुपैयाँमा ११ किलो यार्चागुम्बा किनेको छ ।

त्यस्तै, रुसले ६ लाख ५६ हजार रुपैयाँमा १ किलो, युक्रेनले १ लाख ९३ हजार रुपैयाँमा १ किलो, अमेरिकाले ४ लाख २१ हजारमा १ किलो र थाइल्याण्डले जम्मा २४ हजार रुपैयाँको यार्चागुम्बा किनेका छन् ।

के हो यार्चागुम्बा ?

यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ । र, यो कहिल्यै पनि मर्दैन । समुद्री सतहदेखि ३८ सयदेखि ४८ सय मिटरसम्मको उचाइमा यो पाइन्छ । यार्चागुम्बा जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुन्छ ।

शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । जसको अर्थ ‘यार्चा’ भनेको वनस्पति र ‘गुम्बु’ भनेको किरा हो । ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको वस्तु नै यार्चागुम्बा हो । यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ ।

नेपाल यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् । कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा लगायतका जिल्लाहरूमा पाइन्छ । त्यस्तै कोर्डिसेप्स मिलिटरिस जातको यार्सागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने कोर्डिसेप्स नुटन्स शिवपुरी नागार्जुनको जंगल, गोकर्ण र मनाङमा पाइन्छ ।

नेपालमा संकलन र बिक्री हुने १५० भन्दा बढी जडिबुटीमध्ये सबैभन्दा महँगो जडिबुटी हो यो । नेपालबाट विदेश निर्यात हुने यार्चागुम्बाको करिब ५० प्रतिशत हिस्सा डोल्पाले ओगटेको छ । साथै डोल्पा जिल्लाका विभिन्न पाटन हरुमा पाईने यार्चागुम्बा अन्य जिल्लामा पाईने भन्दा मोटो अनि ठुलो हुने, साथै उच्च सुनौलो रंगको हुनेहुनाले पनि यहाँको यार्चागुम्बाको भाउ र माग बढी भएको पाइन्छ ।

उपयोगिता

यार्चागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । यसबाहेक अन्य औषधिमा पनि यार्चागुम्बाको प्रयोग गरिन्छ ।


क्लिकमान्डु