जग्गा वर्गीकरण नहुँदा कित्ताकाट ८८% र राजस्व ६६% ले घट्यो



काठमाडौं । सरकारको घरजग्गा कारोबारमा कडाइ गर्ने नीति अंगिकार गरेसँगै कित्ताकाट तथा राजस्व संकलनमा असर परेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि कडाइ गर्ने नीतिले लिएसँगै घरजग्गा कारोबारमा उल्लेख्य गिरावट देखिएको छ ।

भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको साउन महिनाको तुलनामा चालु आवको साउन महिनामा जग्गा कित्ताकाटमा ८८ प्रतिशतले घटेको छ । साथै, घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्वमा ६६ प्रतिशतले ओरालो लागेको छ ।

विभागका अनुसार गत आवको साउन महिनामा ७३ हजार १५९ वटा जग्गा कित्ताकाट भएकोमा चालु आवको साउन महिनामा कित्ताकाट घटेर ८ हजार ७८५ मा सीमित भएको छ ।

त्यसैगरी गत आवको साउन महिनामा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व ८ अर्ब १० करोड ३६ लाख ५ हजार ४ रुपैयाँ रहेकोमा चालु आवको साउन महिनामा जम्मा २ अर्ब ७३ करोड ६५ लाख ६२ हजार १३५ रुपैयाँ संकलन भएको छ ।

सरकारले गत जेठमा सार्वजनिक गरेको भूउपयोग नियामवलीमा गरेको नयाँ व्यवस्थाका कारण घरजग्गाको कारोबारमा उल्लेख्य गिरावट आएको विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीको भनाइ छ ।

सरकारले नियामवलीमा जग्गाको वर्गीकरण गर्ने नीति लिएको असर कारोबारमा देखिएको हो । नियमावलीमा विभिन्न १० वटा क्षेत्रमा जग्गाको वर्गीकरण गरेपछि मात्रै किनबेच गर्न पाउने नयाँ व्यवस्था गरिएको छ ।

सरकारले कृषि, आवासीय, वनलगायत विभिन्न क्षेत्रको जग्गाको वर्गीकरण नगरी कारोबार गर्न नपाउने व्यवस्था गरेको छ ।

तर नियमावली आएको २ महिना बितिसक्दा पनि स्थानीय तहहरुले नियमावलीमा भएको व्यवस्था अनुसार जग्गाको वर्गीकरण गर्न सकेका छैनन् ।
वर्गीकरण नहुँदा घरजग्गा खरिद बिक्री हुन नसक्दा कारोबारमा मन्दी आएको विभागको भनाइ छ ।

‘जेठ महिनामा नियमावली आएपछि असारमा यसको असर देखिन शुरु भइसकेको थियो, साउन महिनामा कारोबार संख्या ह्वात्तै घटेको छ,’ विभागका प्रवक्ता भण्डारीले भने ।

विभागअनुसार गत असारमा देशभरका मालपोत कार्यालयबाट ४७ हजार २७ वटा घरजग्गा किनबेच भएका थिए । साउन महिनामा भने उक्त कारोबार संख्या घटेर ३३ हजार ८३४ मा सीमि भएको छ । जुन हालसम्मकै कम हो ।

यसअघि औसतमा मासिक ७० हजारको हाराहारीमा देशभर घरजग्गा किनबेच हुँदै आएको थियो । तर, नियामवलीमा भएको नयाँ व्यवस्थापछि कारोबार घटेको विभागको भनाइ छ ।

विभागले साउन महिनामा देशभरका मालपोत कार्यालयबाट ३३ हजार ८३४ लिखत पारित हुँदा ३ हजार १३२ नामसारी, ३ हजार १९१ संशोधन, २८ हजार ८८ रोक्का, १९ हजार ९१३ फुकुवा र १९ सय ८४ दाखिला खारेज गरेको छ ।

साउन महिनामा सबैभन्दा बढी कारोबार इनरुवा सुनसरी कार्यालयबाट भएको छ । उक्त कार्यालयबाट साउन महिनामा १ हजार ६४४ घरजग्गा किनबेच भएको छ । उक्त कार्यालयबाट कुनै एक महिनामा भएको यो सबैभन्दा कारोबार संख्या हो ।

त्यस्तै, जनकपुरधामबाट १४ सय १२, बेलबारी मोरङबाट १३ सय ३४, नेपालगञ्जबाट १ हजार ९८, राजविराजबाट १ हजार ६५, घोराही दाङबाट १ हजार ६२ र झापाबाट १ हजार ५२ घरजग्गा किनबेच भएको छ ।

काठमाडौंमा हालसम्मकै कम कारोबार
साउन महिनामा ३३ हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदा उपत्यकामा हालसम्मकै कम घरजग्गा किनबेच भएको छ ।

उपत्यकामा मासिक ६ हजारभन्दा माथि घरजग्गा किनबेच हुँदै आएकोमा साउनमा ३ हजार २१६ घरजग्गा किनबेच भएको छ । जुन हालसम्मकै कम हो ।

साउन महिनामा उपत्यकामा सबैभन्दा बढी भक्तपुर मालपोत कार्यालयबाट किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट ७६७ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

त्यसैगरी, ललितपुरबाट ६७६, कलंकीबाट ४९९, साँखुबाट ४७२, चावहिलबाट ४१७, डिल्लिबजारबाट १५२, टोखाबाट ११५, गोटीखेलबाट १८ र मनमैजुबाट कुनै पनि घरजग्गा किनबेच नभएको विभागको भनाइ छ ।

राजस्व संकलनमा असर
जग्गा वर्गीकरणको व्यवस्थाले जग्गा कारोबार, कित्ताकाट घटेसँगै राजस्व संकलनमा असर परेको छ ।

मासिक ५ अर्बभन्दा बढी राजस्व संकलन गर्दै आएको विभागले साउन महिनामा २ अर्ब ७३ करोड ६५ लाख ६२ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ ।

उक्त महिना सेवा करवापत २० करोड १८ लाख, बाग्मतीबाट ६ करोड ९२ लाख, रजिष्ट्रेशन दस्तुरबाट १ अर्ब ४६ करोड ८५ लाख, पुँजीगत लाभ करवापत ७४ करोड ७० लाख र अन्य विभिन्न विधा सो राजस्व संकलन भएको हो ।

साथै, देशभरको मालपोत कार्यालयबाट दिने छुटवापत विभागले २२ करोड ३१ लाख ५८ हजार रुपैयाँ छुट दिएको छ ।

संकलित राजस्वमध्ये सबैभन्दा बढी ललितपुरबाट भएको छ । साथै, ललितपुरबाट २१ करोड ६० लाख, भक्तपुरबाट २१ करोड ३७ लाख, डिल्लिबजारबाट १९ करोड ४१ लाख, कलंकीबाट ९ करोड ७९ लाख, चावहिलबाट १० करोड, चितवनबाट ८ करोड ९० लाख र कास्कीबाट ८ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु