सेयर बजार बियरिस ट्रेन्डमा जाँदा पनि विकास बैंकहरुले कमाए सवा ३ करोड



काठमाडौं । सेयर बजारमा गिरावट आए पनि सेयरमा लगानी गरेका राष्ट्रियस्तरका ८ वटा विकास बैंकको सेयर कारोबारबाट हुने आम्दानी भने बढेको छ ।

गत आर्थिक वर्षमा सेयर बजारमा लगानी गरेर विकास बैंकले ३ करोड २२ लाख ८१ हजार ७९६ रुपैयाँ आर्जन गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५७.२४ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोही अवधिमा विकास बैंकहरुले १ करोड २५ लाख ४९ हजार १५ रुपैयाँ आम्दानी गरेका थिए ।

गत आवको शुरुमा सेयर बजार बुलिस ट्रेन्डमा थियो । भदौको पहिलो साता बजारले ऐतिहासिक रेकर्ड नै कायम गरेको थियो । तर सोही समयमा नेपाल राष्ट्र बैंकले लिएका विभिन्न नीतिका कारण सेयर बजारमा नकारात्मक असर पर्यो र बजार वियरिस टे«न्डमा गयो । फलस्वरुप पछिल्लो एक वर्षको अवधिमा बजार ३० प्रतिशतभन्दा बढीले ओरालो लाग्यो ।

अघिल्लो आवको असार मसान्तमा सेयर बजार २८८३.३८ विन्दुमा थियो । गत असार मसान्तसम्म आइपुग्दा ३० प्रतिशतले घटेर २००९.४७ बिन्दुमा सीमित भएको छ । यस अवधिमा सेयर बजारमा लगानी गर्ने व्यक्तिगत तथा अधिकांश संस्थागत कम्पनीले नाफा आर्जन गर्न नसक्दा विकास बैंकहरुको नाफा भने बढ्न सफल भएको छ ।

राष्ट्र बैंक मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा कुनै एक संस्थाबाट बढीमा ४ करोड रुपैयाँ र समग्र बैंकिङ प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लगाइदिएको थियो । त्यसका साथै बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभावका कारण सेयर बजार ओरालो लाग्दा समेत विकास बैंकले गरेको लगानीको प्रतिफल भने राम्रो देखिएको छ ।

गत आवमा ८ वटा राष्ट्रियस्तरका विकास बैंकमध्ये ५ वटाले मात्रै वित्तीय विवरणमा सेयर कारोबार उल्लेख गरेका छद्धन् । वित्तीय विवरण प्रकाशित गरेका साइन रेसुङ्गा विकास बैंक, साग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकले लगानी गरेको भने सेयर कारोबारबाटबारे विवरण उल्लेख गरिएको छैन ।

सेयर बजारमा लगानी गरेका विकास बैंकमध्ये लुम्बिनी विकास बैंकको आम्दानी घटेको छ भने अन्य ४ वटा विकास बैंकको आम्दानी भने बढेको छ । अघिल्लो आवमा सेयर कारोबारबाट १७ हजार ८६४ रुपैयाँ ऋणात्मक रहेकोमा गत आवमा आइपुग्दा यो १९२.३८ प्रतिशतले बढेर ५२ हजार २३१ रुपैयाँ ऋणात्मक भएको छ ।

सेयर कारोबारबाट सबैभन्दा कमाउनेमा ज्योति बैंक छ । बैंकले २ करोड ३४ लाख ७९ हजार ९०६ रुपैयाँ सेयर कारोबारबाट आर्जन गरेको छ । अघिल्लो आवमा बैंकले ६२ लाख ३५ हजार ३१६ रुपैयाँ आम्दानी गरेको थियो । वित्तीय विवरण अनुसार गत आवमा मात्रै बैंकले सेयर कारोबारट हुने आम्दानी २७६.५६ प्रतिशतले बढाउन सफल भएको छ ।

यस्तै मुक्तिनाथ विकास बैंकले सेयर कारोबारबाट ८४ लाख ४४ हजार ७६२ रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा ६२ लाख ४२ हजार ५३६ रुपैयाँ आर्जन गरेको थियो । यो अघिल्लो आवको तुलनामा गत आवमा ३५.२७ प्रतिशत बढेको छ ।

गरिमा विकास बैंकले सेयर कारोबारबाट गत आवमा ३ लाख १४ हजार ३१२ रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ४४ हजार २०५ रुपैयाँ थियो । एक वर्षको अवधिमा सेयर कारोबारबाट हुने आम्दानी बैंकले ६११.०३ प्रतिशतले बढाउन सफल भएको छ ।


सोभित थपलिया