पोलिसी सरेण्डर कम गर्ने समितिको प्रयास असफल, एक वर्षमा १२ अर्बका बीमालेख त्याग 



काठमाडौं । बीमा समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था लागू गरेको थियो । समितिको नयाँ व्यवस्था बमोजिम बीमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् ।

‘बीमकले बीमालेखअन्तर्गत पूरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखी ऋण प्रदान गर्न सक्नेछ ।’ समितिद्धारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८मा उल्लेख छ ।

उक्त व्यवस्था हुनुअघि बीमितले बीमालेख खरिद गरेको १ वर्षपछि आफ्नो बीमालेख त्याग गर्न सक्थे । सरेण्डर गर्नेको संख्या बढ्दै गएपछि समितिले नयाँ व्यवस्था लागू गरेको थियो । अवधि बढाएपछि पोलिसी त्याग्ने क्रम रोकिने समितिको विश्वास थियो ।

तर, जीवन बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर रोक्ने समितिको प्रयास भने असफल बनेको छ । कडाइ गरेपनि कम्पनीहरूमा पोलिसी त्याग्ने क्रममा सुधार भने देखिएको छैन ।

बीमा योजनाका बारेमा बुझेर आफ्नो आवश्यकताअनुसार बीमालेख खरिद गर्ने अभ्यासको विकास नहुँदा बीमितले आफ्नो बीमालेखलाई निरन्तरता दिन सक्दैनन् । र, बीचमै सरेण्डरको बाटो रोज्ने गर्छन् ।

विज्ञहरूका अनुसार बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुका कारणहरूमा बीमितलाई आर्थिक संकट पर्नु, अभिकर्ताले बीमा योजनाका बारेमा बुझाउन नसक्नु पनि हो ।

अभिकर्ताले विभिन्न खाले प्रलोभन देखाएर बीमालेख बिक्रि गर्ने प्रवृत्तिले गर्दा पनि बीमितले आफ्नो बीमालाई नवीरकण गर्न नसक्ने सरोकारवालाहरू बताउँछन् । आफ्नो बीमालाई नवीकरण गर्न नसकेपछि बीमितले पोलिसी सरेण्डरको बाटो रोज्ने उनीहरूको भनाइ छ ।

बीमालेख सरेण्डर गर्ने प्रवृत्ति नेपालमा मात्रै नभई संसारभरी नै छ । ऐनमा नै पोलिसी सरेण्डर गर्न पाउने व्यवश्था रहेको हुँदा बीमा बजारमा खासै असर नपर्ने बीमा विज्ञ भोजराज शर्मा बताउँछन् । तर, कतिसम्म सरेण्डर गर्ने हो त्यसको सीमा भने तोकिनु पर्ने र अध्ययन गर्नुपर्ने कुरामा उनको जोड छ ।

‘लिमिट कति हो, कसैको १/२ प्रतिशत हुन्छ, कसैको ५/१० प्रतिशत हुन्छ,’ शर्माले क्किमाण्डूसँग भने, ‘२ देखि ३ प्रतिशतसम्म पनि भयो भने त्यो मान्य हुन्छ ।’

बीमालेख सरेण्डर हुनुको मुख्य कारण आर्थिक संटक नै रहेको उनको दावी छ । उनकाअनुसार आर्थिक संकटका साथै मिस सेलिङ पनि पोलिसी त्याग गर्ने अर्को कारण हो ।

बीमा समितिका कार्यकारी निर्देशक पौडेल बीमालेख खरिद गरेका कतिपय बीमितले योजनावद्ध रूपमा पोलिसी समर्पण गर्ने गरेको बताउँछन् ।

‘प्लानिङ गरेरसमेत सरेण्डर गर्ने गरेको अवस्था छ,’ पौडेलले क्किमाण्डूसँग भने, ‘शंकास्पद लागेको कम्पनीमा गई अध्ययन पनि गर्ने कार्य भइरहेको छ ।’

बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको दर बढेको उनले बताए ।

बीमालेख खरिद गर्नुपूर्व नै आफ्नो आय, आम्दानीलाई मध्यनजर गरेर आफुलाई सुहाँउदो बीमा पोलिसी खरिद गर्दा सरेण्डर गर्नुपर्ने समस्या नआउने उनको भनाइ छ ।

पोलिसी सरेण्डरको अवधि बढाउने तयारी

बीमा समितिले बीमा पोलिसी सरेण्डर (समर्पण, त्याग) गर्ने अवधि बढाउने तयारी गरेको छ ।

यसअघि समितिले बीमालेख खरिद गरेको १ वर्षमै पोलिसी सरेण्डर गर्न सक्ने व्यवस्थालाई कडाई गर्दै ३ वर्ष पुर्याएको थियो ।

अब भने बीमालेख खरिद गरेको ५ वर्षपछि मात्रै पोलिसी त्याग्न पाउने व्यवस्था गर्न आवश्यक तयारीमा समिति जुटेको हो ।

कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमालेख खरिद गरेको ५ वर्षपछि मात्रै सरेण्डर गर्न पाउने व्यवस्था गर्नका लागि छलफल भइरहेको बताए । उनकाअनुसार पोलिसी सरेण्डरको दर रोक्ने पहिलो प्रयास सफल नभएपछि पुनः अवधि बढाउन लागिएको हो ।

‘सरेण्डर र ल्याप्सको रेसियो धेरै देखियो । बजारको अवश्था हेरेर सरेण्डर गर्न पाउने समय अवधि बढाउन लागिएको हो । जसका लागि छलफल भइरहेको छ,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘अवधि बढाएर सरेण्डरलाई निरूत्साहन गर्नु हाम्रो उदेश्य हो ।’

तर, सरेण्डरको अवधि बढाएपनि सरेण्डरको दर नरोकिने बीमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठ बताउँछन् ।

‘सरेण्डरको अवधि बढाउनु मात्रै सबै कुराको सोलुसन होइन,’ मेट लाइफ इन्स्योरेन्सका सीइओसमेत रहेका श्रेष्ठले भने, ‘कम्पनीहरू गुणस्तरीय सेवामा केन्द्रित नभएसम्म यस्ता समस्या देखिन छोड्दैनन् । यस विषयमा छलफल गर्नुपर्ने बेला आएको छ ।’

कम्पनीहरूमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धाले ल्याप्स र सरेण्डरको दर बढ्दै गएको उनको भनाइ छ । समितिले सरेण्डरको अवधि बढाउने विषयमा बीमक संघले आवश्यक छलफल गर्ने योजना बनाएको उनले जानकारी गराए ।
एक वर्षमा १२ अर्बका ८१ हजार बढी पोलिसी त्याग भए

बीमा समितिले उपलब्ध गराएको आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड ८ लाख रूपैयाँ बराबरका १८ हजारभन्दा धेरै बीमालेख समर्पण भएका छन् ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ९ अर्ब ८८ करोड १४ लाख ९४ हजार रूपैयाँ बराबरका ६३ हजार ३३१ वटा पोलिसी त्याग भएका थिए ।

१९ बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी नेपाल लाइफको बीमितले बीमा पोलिसी त्यागेका छन् । ५ अर्ब १ करोड ५४ लाख रूपैयाँ बराबरका २६ हजार ६०३ वटा पोलिसी सरेन्डर भएका छन् ।

जुन कुल समर्पण मूल्यको ४१.१७ प्रतिशत हो भने कुल समर्पण पोलिसीको ३२.५१ प्रतिशत हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का बीमितले २ अर्ब ९३ करोड ६९ लाख रूपैयाँ बराबरका ९ हजार ८६८ वटा पोलिसी त्याग भएका छन् ।

नेशनल लाइफका बीमितले ८५ करोड ९७ लाख, राष्ट्रिय बीमा संस्थानका बीमितले ८५ करोड ५५ लाख र एशियन लाइफका बीमितले ५८ करोड ९० लाख रूपैयाँ बराबरका पोलिसी त्याग भएका छन् । एक वर्षको अवधिमा नेशनल लाइफबाट ७ हजार ५६६ वटा, राष्ट्रिय बीमा संस्थानबाट १६ हजार ९१७ र एशियन लाइफबाट ७ हजार ३६३ वटा पोलिसी समर्पण भएका छन् ।

समितिकाअनुसार गत आवमा कम्पनीहरूले १ खर्ब ३९ अर्ब ८ करोड ९९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

समितिद्धारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ ले बीमा पोलिसी समर्पण मूल्यसमेत निर्धारण गरेको छ ।

बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ  । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकमसमेत जोडिने छ  ।


बिजया बास्कोटा