नेपाली मुद्रा अहिलेसम्मकै कमजोर, एक डलरको मूल्य १२६.०५ रुपैयाँ



काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ ।

गत फागुन २२ गते नेपालका वाणिज्य बैंकहरुले एक अमेरिकी डलर १२३ रुपैयाँ ४५ पैसा सम्ममा बिक्री गरेका थिए । आज मंगलबार भने एक अमेरिकी डलरको बिक्री मुल्य १२६ रुपैयाँ ०५ पैसा पुगेको छ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो ।

यसअघि नेपालमा २०७६ चैत ४ गते डलर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यसदिन १ अमेरिकी डलर प्राप्त गर्न १२३ रुपैयाँ २८ पैसा खर्च गर्नु परेको थियो ।

नेपालमा विदेशी मुद्रासँगको विनिमय दर भारतीय मुद्रासँग ‘पेग’ गरेर निर्धारण गरिएकाले भारतको मुद्राको अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपाली मुद्रासँगको सटही रेट तय हुन्छ ।

भारतको अर्थतन्त्र बलियो भएको अवस्थामा कम नेपाली रुपैयाँ खर्च गरेर डलर प्राप्त गर्न सकिन्छ भने भारतीय मुद्रा कमजोर बन्दा डलर प्राप्त गर्न बढी रुपैयाँ खर्च गर्नुपर्छ ।

नेपाल आयल निगमले भारतीय आयम कर्पोरेसनसँग डलरमै भुक्तानी गरेर सामान किन्ने हुँदा डलर महंंगो हुँदा पेट्रोलियम पदार्थको मूल्य झनै बढ्ने छ ।

यस्तै नेपालमा आयात हुने सामानसँगै उद्योगको कच्चा पदार्थ पनि विभिन्न वस्तुको मूल्य बढ्ने सम्भावना पनि छ । पछिल्लो समय विदेशी मुद्राको संचिती घट्दो क्रममा रहेको नेपालमा डलर महँगो हुँदा व्यापार घाटा झनै बढ्नेछ ।


क्लिकमान्डु