पर्वतारोहणको सिजन तयारी

आरोहणलाई व्यवस्थित बनाउन अनुमतिदेखि फोहोर व्यवस्थापनसम्ममा कडाइ

91
Shares

काठमाडौं । नेपालमा पर्वतारोहणको सिजन सुरु हुँदै छ । आगामी मे महिनामा हुने सगरमाथासहितको उच्च हिमाल आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिने काम सुरु हुन थालेको छ ।

विभागले हिमाल आरोहणको लागि ७५ दिनसम्कको अनुमति दिने भएकोले अब आगामी सन् २०२६ को वसन्त ऋतुको हिमाल आरोहणको लागि अनुमित दिने काम विभागले सुरु गर्दै छ । विभागले हिमाल आरोहण थप सुरक्षित, व्यवस्थित र चुस्त बनाउन नयाँ निर्देशन जारी गरेको छ।

विभागले सबै ट्रेकिङ तथा एक्सिपडिसन एजेन्सीहरूलाई परिपत्र गर्दै हिमाल आरोहणका क्रममा पालना गर्नुपर्ने विभिन्न ९ बुँदे निर्देशन जारी गरेको हो ।

विभागद्वारा जारी गरिएको नयाँ नियमअनुसार अब हिमाल आरोहण अनुमति लिनु पर्ने समयभन्दा कम्तीमा २ दिन अगावै प्रक्रिया पुर्‍याएर निवेदन पेस गर्नुपर्नेछ। यसका लागि सहयोगी कर्मचारीको विवरण अनिवार्य उल्लेख गर्नुपर्ने छ ।

आरोहण अनुमति माग गर्दा सरदारसहित सहयोगी कर्मचारीको विस्तृत विवरण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। यदि आकस्मिक रूपमा थप कर्मचारी राख्नु परेमा विभागको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।

पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को नियम २१ बमोजिम, सहयोगी कर्मचारीहरू (सरदार, गाइड वा कामदार) ले आरोहण दलका सदस्यहरू अन्तिम शिविरमा पुगेको अवस्थामा मात्र हिमाल आरोहण गर्न पाउनेछन्।

आरोहण दलका सदस्य र सहयोगीहरूको हालसालै खिचिएको फोटो अनिवार्य रूपमा अनलाइन प्रणालीमा अपलोड गर्नुपर्नेछ। सोही फोटो प्रमाणपत्रमा समेत प्रयोग गरिने विभागले जनाएको छ।

सार्वजनिक बिदा बाहेक प्रत्येक दिन दिउँसो ३:०० बजे (शुक्रबार दिउँसो २:०० बजे) टोली नेता, एजेन्सी प्रतिनिधि र सम्पर्क अधिकृतको उपस्थितिमा विभागमा अनिवार्य ब्रिफिङ हुने व्यवस्था विभागले गरेको छ ।

विभागले आवेदन दिँदा हार्ड कपी र सफ्ट कपी दुवै बुझाउनुपर्नेछ। सलामी दस्तुर, गार्बेज धरौटीको सक्कल भौचर, बिमा र राहदानीको प्रतिलिपिलाई एजेन्सीले नै प्रमाणित गरी अनलाइन प्रणालीमा अपलोड गर्नुपर्नेछ।

हिमाल आरोहणका क्रममा कुनै पनि उद्धार कार्य भएमा त्यसको विस्तृत विवरण पर्यटन विभाग र भृकुटीमण्डपस्थित पर्यटक प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था विभागले गरेको छ ।

विभागले सन् २०२५ को हिउँदे सिजनसम्म हिमाल आरोहणका क्रममा राखिएको फोहोरमैला धरौटी रकम फिर्ता नभएको भए आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको छ। निवेदन पेस भएको बढीमा ७ दिनभित्र धरौटी रकम फिर्ता गरिने समेत विभागले स्पष्ट पारेको छ

Skip This