कुखुराको मासुभन्दा पनि सस्तियो कुरिलो, प्रतिकेजी ३ सय



काठमाडौं । बजारमा अहिले कुखुराको मासुभन्दा पनि कुरिलो सस्तो भएको छ । अन्य विभिन्न तरकारीको मूल्य बढ्दा कुरिलोको मूल्य भने कुखुराको मासुभन्दा सस्तो भएको छ ।

अहिले बजारमा ब्रोइलर कुखुराको मासु प्रतिकेजी ३८० रुपैयाँदेखि ३९० रुपैयाँमा बिक्री वितरण भइरहेको छ । तर, अहिले कुरिलो खुद्रा बजारमै ३ सय रुपैयाँ केजीमा बिक्री वितरण भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ ।

समितिले आजको मूल्य सूचीअनुसार अधिकतम मूल्य प्रतिकेजी २५० रुपैयाँ तोकेको छ भने औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ तोकेको छ । उक्त कुरिलो बजारमा पुग्दा प्रतिकेजी २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म बिक्री भइरहेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए ।

गत चैतको शुरुवातीमा समितिले कुरिलोको औसत मूल्य ७०० रुपैयाँ तोकेको थियो । चैतबाट उच्चरुपमा बजारमा कुरिलो आउन थालेपछि सस्तिँदै गएको समितिको भनाइ छ ।

समितिकोअनुसार बैशाख महिनामा औसम मूल्य प्रतिकेजी ३०० रुपैयाँमा बिक्री वितरण भएको थियो भने जेठमा आइपुग्दा प्रतिकेजी औसत मूल्य २५० रुपैयाँमा झरेको छ । साथै, जेठ महिना अधिकतम प्रतिकेजी ३०० रुपैयाँ कायम भएको कुरिलोको मूल्य असारमा झनै घटेको छ ।

अहिले समितिले तोकेको मूल्यको आधारमा हेर्दा आजको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ रहेको छ ।

नेपालमा चैतदेखि असारसम्म आन्तरिक किसानले उत्पादन गरेको कुरिलो बजारमा आउने गर्दछ । जसले गर्दा बजारमा कुरिलोको मूल्य निकै सस्तिएको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठको अनुसार धादिङ, चितवनलगायत किसानहरूले उत्पादन गरेको कुरिलो बजारमा आउन थालेपछि विस्तारै महंगिएको कुरिलो सस्तिएको हो ।

‘नेपालमा मौसमअनुसार चैतदेखि असारसम्म कुरिलो उत्पादन हुन्छ,’ उनले भने, ‘आन्तरिक उत्पादन हुँदा बजारमा पर्याप्त मात्रामा पाइरहेको छ ।’

नेपालको कुरिलो उत्पादन हुनेको सिजन सकिने वित्तिकै विदेशबाट आयात गर्नुपर्ने अवस्था हुन्छ । जसले गर्दा बजारमा कुरिलो मूल्य छोइनसक्नु अवस्थामा पुग्ने गर्दछ ।

त्यसैगरी, कुरिलो तरकारीभन्दा पनि चिसो मौसममा सुप खानाको लासि प्रयोग हुने भएकाले चिसो मौसममा उच्च माग हुने गर्दछ ।

तर, उच्च माग भएको अवस्थामा आन्तरिक उत्पादन नहुने र सिमित मात्रामा विदेशबाट आयात गर्नुपर्ने हुँदा बजारमा अभावसँगै मूल्य उच्चतम विन्दुमा पुग्ने गरेको श्रेष्ठको भनाइ छ ।


क्लिकमान्डु