महंगियो कुरिलोको भाउ, केजीकै करिब ५ हजार पुग्यो



काठमाडौं । कालिमाटी तरकारी बजारको वेवसाइटमा कुरिलोको मूल्य हटाएको धेरै भइसक्यो । कुरिलो पाइन छाडेपछि कालिमाटी तरकारी बजार समितिले नै मूल्य सूचीबाट कुरिलोको भाउ राख्न छाडेको हो ।

कुरिलोको भाउ महंगो हुन थालेपछि बजारमा अभाव भयो । सबैभन्दा ठूलो तरकारी बजार कालिमाटीमै कुरिलो अभाव भएपछि भाउ एकाएक बढ्यो । एक महिना अघिसम्म प्रतिकेजी १५ सय रुपैयाँमा पाइने कुरिलो अहिले करिब ५ हजार रुपैयाँमा पनि पाउन छाडेको छ ।

कालिमाटी, माछापोखरीलगायतका तरकारी बजारमा कुरिलो पाउन छाडेको धेरै भइसक्यो ।

‘भाउ छोइनसक्नु छ, ४ हजारभन्दा बढी आफैलाई पर्न थालेपछि ल्याउन पनि छाडियो,’ माछापोखरी तरकारी बजारका एक व्यापारीले भने ।
यता अनलाइनमार्फत् तरकारी बिक्री गर्ने इकमर्श कम्पनीमध्ये धेरैको वेवसाइटमा कुरिलो ‘आउट अफ स्टक’ छ ।

ठूलो डटकमले भने कुरिलो प्रति २ सय ग्राम ९४० रुपैयाँमा बिक्री गरिरहेको छ । त्यसमाथि डेलिभरी चार्ज छुट्टै ।

बजारमा कुुरिलो अभाव हुनुमा आपूर्ती कम र माग धेरै हुनु नै हो ।

कुरिलो स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । कपिपय अवस्थामा डाक्टरहरु नै कुरिलोको सुप पिउन सिफारिस नै गर्छन् । गर्मी मौसममा भन्दा जाडो महिनामा कुरिलोको माग अत्यधिक हुन्छ ।

अझ कोरोना भाइरसको संक्रमण भएको अवस्थामा कुरिलोको माग अत्यधिक थियो । कोरोनाका बिरामीहरुलाई यसको सुप अत्यन्तै फलदायी हुने सोचका आधारमा यसको भाउ गत वर्ष प्रतिकेजी ५ हजार रुपैयाँसम्म पुगेको थियो ।

कुरिलो दैनिक उपभोग्य तरकारी जस्तो होइन । साथै, सामान्य रुपमा कुरिलो अन्य तरकारी जस्तो किनेर खाने चलन हुँदैन् र छैन ।

कालीमाटी तरकारी तथा फलफूल विकास समितिले दिएको जानकारी दिएअनुसार होलसेलमै अहिले थोकमै प्रतिकेजी ४ हजार रुपैयाँभन्दाबढी पुगेको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले पछिल्लो समय कुरिलोको कारोबार निकै कम भएको बताए ।

‘बजारमा करिब १ महिनाको अवधिमा निकै कम कुरिलो भित्रिएको छ,’ उनले भने, ‘माग भने उच्च छ ।’

बजारमा आपूर्ति निकै कम भएकाले मूल्य निकै महंगो भएको उनको भनाइ छ ।

कालीमाटीको व्यवसायीसँग किन्दा नै प्रतिकेजी ४ हजार पर्ने कुरिलो खुद्रा बजारमा पुग्दा ५ हजार बढीमा बिक्री हुने उनले जानकारी दिए । साथै, अहिले नेपालमा उत्पादन कम भएपछि कुरिलो भारतको केरला र थाइल्यान्डबाट आयात भइरहेको उनको भनाइ छ ।

बजारमा अन्य तरकारी जस्तो छिट्टै ओइलाउने, सड्ने बिग्रने नहुने हुँदा महंगोसँगै राख्न, पकाउन सजिलो हुन्छ । कुरिलोलाई तरकारीभन्दा पनि सुपको रुपमा बढी प्रयोग हुने गर्दछ ।

कुरिलोमा भिटामिन र मिनरल्सको मात्रा उल्लेख्य रूपमा हुन्छ । माछामासु नखाने विरामीलाई विकल्पमा कुरिलोको सुप खुवाउने चलन पनि छ ।

कुरिलोको उत्पादन मुख्यतः चैत, वैशाख र जेठदेखि असारसम्म धादिङ, चितवनलगायतका जिल्लामा हुन्छ । राजधानी भित्रिने अधिकांश कुरिलो पनि त्यहीबाट आउँछ । अफसिजनमा यसको उत्पादन कम हुने भएकाले मूल्य अकासिने व्यवसायीहरुको भनाइ छ ।


क्लिकमान्डु