तयारीबिना क्यानको ‘पपुलिष्ट’ निर्णय, पहाडी क्षेत्रको नियमित उडान बन्द हुनसक्ने जोखिम



जुम्लाको विमानस्थल

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कुनै विमानले उडान गर्ने गन्तव्य र बाटोको मौसमसम्बन्धी जानकारी पेश गर्नुपर्ने गरी गरेको निर्णय सुन्दा जति आकर्षण छ, कार्यान्वयन हुन त्यति जटिल देखिन्छ ।

काठमाडौं । जेठ १५ गते बिहान मुस्ताङको लेते कटेपछि समिट एयरको विमान उडाइरहेका पाइलट अभिनन्दन खड्काले जोमसोम विमानस्थलको टावरमा सम्पर्क गरे । टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) पुस्कल शर्माले मुस्ताङ उपत्यकाको मौसम सफा भएकाले अवतरण गर्न सकिने जानकारी गराए ।

पोखराबाट समिट एयरभन्दा केहीपछि उडान गरेको तारा एयर पनि लेते पुग्न लागेको थियो । तारा एयरले पाइलटले समिट एयरका क्याप्टेन अभिनन्दनसँग एयरक्राप्ट फ्रिक्विन्सीमार्फत् सम्पर्क गरे ।

क्याप्टेन अभिनन्दले १२ हजार ५०० फिटको उचाईंमा उडान गरिरहेको र मौसम खराब नरहेको जानकारी गराए । त्यसपछि तारा एयरका क्याप्टेन प्रभाकर घिमिरेले जोमसोम विमानस्थलका एटीसी शर्मासँग सम्पर्क गरे । शर्माले घिमिरेलाई पनि मुस्ताङ उपत्यकाको मौसम सफा भएकाले अवतरण गर्न सकिने जानकारी दिए ।

शर्माले घिमिरेलाई जानकारी दिएको ५ मिनेटपछि विमानस्थलमा तारा एयरको विमान अवतरण हुनुपर्ने थियो । तर, त्यस्तो भएन । उल्टो टावरसँग विमानको सम्पर्क टुट्यो ।

समिट एयरले मौसम सफा छ भनेर जानकारी दिएको २ मिनेटपछि मौसम खराब भयो ।

‘विमान बादलमा छिरेको र पाइलटले पोखरा विमानस्थल फर्कन खोज्दा पहाडमा ठोक्किएको हुनसक्ने हाम्रो प्रारम्भिक अनुमान छ,’ सरकारले तारा एयरको विमान दुर्घटनाका विषयमा गठन गरेको जाँचबुझ समितिका एक अधिकारी भन्छन्, ‘मौसम खराब भएपछि पाइलटले समयमा निर्णय गर्न नसक्दा पनि दुर्घटना भएको हुनसक्छ ।’

समिट एयर अवतरण गर्दासम्म विमान उड्ने मार्ग (इनरुट) को मौसम सफा थियो । तर, तीन मिनेटपछि उडिरहेको विमान बादलमा छिर्दा ठूलो दुर्घटनामा पर्याे ।

मुस्ताङको सानुसरे भएको दुर्घटनामा २२ जनाको मृत्यू भएको छ । उक्त घटनापछि उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका विषषमा तीव्रताका साथ निर्णय गरिरहेको छ ।

मंगलबार प्राधिकरणले गरेको निर्णय अनुसार अब नेपालमा कुनै पनि विमान उडान गर्नुभन्दा पहिले उडान गर्ने मार्ग (इनरुट) र गन्तव्यकोे मौसम सम्बन्धी जानकारी पेश गर्नुपर्नेछ । गन्तव्यले उडान मार्गको मौसमका आधारमा मात्रै प्राधिकरणका अधिकारीले उडान अनुमति दिनेछन् ।

नयाँ नियमको अर्थ के हो ?
अब प्रत्येक विमानले उडान गर्ने मार्गको मौसमको जानकारी पेश गर्नुपर्नेछ । के त्यो भए विगतमा वायुसेवा कम्पनीले मौसमको जानकारी नलिइ उडान गर्दथे ?

‘अर्बाै रुपैयाँ लगानी गरेका वायु सेवा कम्पनीले मौसम खराब हुँदाहुँदै विमान उडाउथे भन्ने होइन्,’ नेपाल नागरिक उड्डयन प्राधिकारणमा पूर्वमहानिर्देशक सञ्जीव गौतम भन्छन्, ‘पाइलट पनि मान्छे हो, उसको पनि घर परिवार हुन्छ । अनावश्यक जोखिम दिने भन्ने हुँदैन नि !’

जेठ १५ गते विमान दुर्घटना भएको दिनमा समेत समिट एयरका पाइलट र तारा एयरका पाइलटले मौसमका विषयमा जानकारी आदानप्रदान गरेको घटनाले पनि वायुसेवा कम्पनीले विमान उड्ने मार्गको मौसमको हरेक मिनेटको जानकारी संकलन गरेको देखिन्छ ।

यस्तै उक्त घटनाले विमान उड्नुभन्दा पहिले विमान उडान गर्ने मार्गका विषयमा संकलन गर्ने सूचनाको कुनै महत्व नभएको देखाएको छ । किनभने समिट एयरका पाइलटले तीन मिनेट अगाडि मौसम राम्रो भएको जानकारी दिए । तर, तीन मिनेटको अवधिमा मौसम खराब भयो । र, तारा एयरको विमान बादलभित्र हरायो ।

त्यसो भए नेपाल प्राधिकरणले विमान उडान गर्ने रुटको मौसमसम्बन्धी पूर्वजानकारी पेश गर्नुपर्ने नियम किन बनायो ?

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्ण प्राधिकरणको आधिकारिक निर्णयका विषयमा आफूले केही टिप्पणी नगर्ने बताउँछन् ।

‘प्राधिकरणले गन्तव्य र उडान मार्गको मौसमसम्बन्धी जानकारी नलिई उडान अनुमति नदिने भनेको छ,’ कर्ण भन्छन्, ‘योभन्दा बढी मेरो कुनै टिप्पणी छैन ।’

प्राधिकरणले निर्णय गर्नुको कारण के हो भन्ने विषयमा जानकारी लिन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई फोन गरियो । तर, उनले फोन रिसिभ गरेनन् ।

त्यसपछि अधिकारीलाई प्राधिकरणले उडान मार्गको मौसमसम्बन्धी जानकारी लिनुपर्ने नियम किन बनाएको हो ? र, उडान रुटको मौसमसम्बन्धी जानकारी दिने पूर्वाधार नेपालमा छ ? भन्ने प्रश्न गर्दा अधिकारीले कुनै जवाफ दिएनन् ।

नेपालको पहाडी क्षेत्रमा मौसमसम्बन्धी रियल टाइम जानकारी संकलन गर्न कठिन भएको प्राधिकरणका पूर्वमहानिर्देशक गौतम बताउँछन् ।

‘जोमसोममा तीन मिनेट अगाडि मौसमको जानकारी लिएर उडान गरिरहेको विमान त दुर्घटनामा पर्याे भने उडान शुरु गर्दा लिएको मौसमले यात्रालाई सुरक्षित बनाउँछ भन्ने होइन,’ प्राधिकरणका पूर्वमहानिर्देशक गौतम भन्छन्, ‘प्राधिकरणले उड्नु भन्दा पहिलो सम्पूर्ण रुटको मौसमसम्बन्धी जानकारी लिँदा हवाई सुरक्षा बढाउन सकिन्छ भनेर नयाँ निर्देशन जारी गरेको हुनसक्छ ।

हामीले विमानले उडान गरिरहेको समयमा पनि प्रत्येक क्षणको मौसमसम्बन्धी जानकारी दिने प्रणाली विकास गर्न सक्यौं भने जोखिम कम गर्न सकिन्छ ।’

विगतमा के हुन्थ्यो
प्राधिकरणले मौसमसम्बन्धी जानकारी लिनुपर्ने भन्दै प्रकाशित गरेको सूचनाले विगतमा नेपालका वायुसेवा कम्पनीहरु मौसमको जानकारी नदिई उडान गर्दथे भन्ने सन्देश दिएको प्राधिकरणमा कार्यरत एटीसी बताउँछन् ।

‘तराईका विमान जहाँ प्रविधिले विमान अवतरण र उडान गर्न सकिन्छ त्यहाँ समेत २ किलोमिटरसम्म आकाश खुल्ला हुँदा उडान हुने गरेको छ,’ एक एटीसी भन्छन्, ‘पहाडका विमानस्थलमा पनि ५ किलोमिटरसम्म आकाश खुल्ला नहुँदासम्म विमान उडाउने अनुमति दिँइदैन् ।’

यस्तै, वायुसेवा कम्पनीले पनि मौसमको जानकारी संकलन गर्न विभिन्न एप्लिकेसन प्रयोग गर्ने गर्छन । त्यसबाहेक छिटो–छिटो मौसम परिवर्तन हुने खोँचहरुको मौसमसम्बन्धी जानकारी स्थानीयसँग पनि संकलन गर्ने गरिन्छ । यस्तै, जल तथा मौसम विज्ञान विभागबाट पनि मौसम सम्बन्धी जानकारी लिने गरिन्छ ।

मुख्य गरी वायु सेवा कम्पनीले उडान गर्ने विमानस्थल, गन्तव्य विमानस्थल र गन्तव्य विमानस्थलको नजिकमा रहेको विमानस्थलको जानकारी संकलन गर्ने गर्छन् । तर, उडानमार्गको सबै ठाउँको मौसमको जानकारी दिने प्रणाली पनि नभएको र छिटोछिटो मौसम परिवर्तन हुने हुँदा उडान मार्गको मौसमको जानकारी संकलन गर्ने अभ्यास भने छैन ।

क्लिकमाण्डूले क्यानको नयाँ नियमका विषयमा पहाडी क्षेत्रमा अनुभव भएका ६ जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग कुरा गरेको थियो । क्यानको उच्च तहमा रहेका अधिकारीले विमानको उडान र अवतरण कसरी हुन्छ भन्ने विषयमा सामान्य अध्ययन पनि नगर्दै हचुवाका आधारमा पछिल्लो निर्णय गरेको उनिहरु सबैको निष्कर्ष छ ।

‘पहाडी क्षेत्रमा हावाको वहाव छिटो–छिटो परिवर्तन हुन्छ । मुस्ताङको लेते, मुगुको रारा, लुक्लामा लाम्जिरा पास, सिमिकोटलगायतका विमानस्थलमा निकै छिटो–छिटो हावाको बहाव र बादल परिवर्तन भइरहन्छ । मुस्ताङको मार्फादेखि कागबेनीसम्मको रेञ्जमा हावाको गति परिवर्तन भइरहन्छ,’ जोमसोम विमानस्थलमा काम गरेका एक एटीसीले क्लिकमाण्डूसँग भने, ‘यस्तो अवस्थामा उडान गर्ने मार्गको मौसम यस्तो हुन्छ भन्न सकिन्न । प्रत्येक मिनेटमा मौसम परिवर्तन भइरहन्छ ।’

प्राधिकरणको निर्णय कति हास्सयापद छ भने मौसमसम्बन्धी जानकारी दिने निकाय जल तथा मौसम विज्ञान विभागसँग कुनै छलफल समेत नगरी गन्तव्य र उडान मार्गको मौसमको जानकारी पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्राधिकरण स्रोतका अनुसार बुधबार दिँउसो विभागसँग मौसससम्बन्धी जानकारी आदानप्रदान कसरी गर्ने भन्ने विषयमा प्राधिकरणले छलफल गर्ने तयारी गरेको छ ।

विभाग स्रोतका अनुसार नेपालमा देशभरका सबै ठाउँको रियल टाइमको मौसमसम्बन्धी जानकारी दिने प्रणाली नै छैन ।

‘हामीसँग पहाडी जिल्लाको सबै ठाउँमा मौसमसम्बन्धी जानकारी दिने प्रणाली छैन्,’ विभागका एक अधिकारी भन्छन्, ‘सीमित स्रोतका आधारमा हामीले जानकारी संकलन गर्दै वायुसेवा कम्पनीलाई दिएकै छौं ।’

पहाडी क्षेत्र जहाँ छिटो–छिटो मौसम परिवर्तन हुन्छ त्यहाँ मौसम मापनसम्बन्धी उपकरण, क्यामेरा राख्दै विमानमा उडान गरिरहेको पाइलटलाई रियल टाइमको मौसमसम्बन्धी जानकारी दिनसक्दा जोखिम कम गर्न सकिने प्राधिकरणका एक अधिकारी बताउँछन् ।

‘मौसमको जानकारी संकलन गर्ने विषयमा लगानी हुनुपर्छ,’ प्राधिकरणका एक उपमहानिर्देशक भन्छन्, ‘यसरी हचुकाको भरमा पूर्वाधार नभई विमान उड्ने रुटको मौसमसम्बन्धी जानकारी ल्याउ भनेर हुँदैन । अर्का, विमान उड्नुभन्दा पहिलेको जानकारीले के गर्छ ? पाइलटलाई रियल टाइमको जानकारी दिनुपर्याे नि !’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारी प्राधिकरणले ल्याएको नयाँ नियम कार्यान्वयन हुन नसक्ने बताउँछन् ।

‘विमानको उडान सुरक्षित हुनुपर्छ,’ ती अधिकारी भन्छन्, ‘तर नियम व्यवहारिक हुनुपर्याे ।’

विमान उडान गर्ने बाटोको मौसमको जानकारी नलिइ उडान गर्न नपाउने हो भने हाललाई पहाडका विमानस्थलमा वैशाखदेखि असोजसम्म र तराईका विमानस्थलमा मंसिरदेखि चैतसम्म उडान गराउन कठिन हुने प्राधिकरणका अधिकारी बताउँछन् ।

हाल नेपालमा आँखाले हेर्दै उडान गर्ने नियम (भिएफआर) र प्रविधिबाट उडान गर्ने नियम (आइएफआर) पालना गर्ने विमान छन् । हाल प्राधिकरणले भीएफआर उडान गर्ने विमानलाई उडान गर्ने बाटोको मौसम संकलन गर्नुपर्ने नियम बनाएको हो ।

पोखरा र चितवन विमानस्थलमा पनि प्रविधिबाट नभई आँखाले हेर्दै उडान गर्ने गरिन्छ । यदि प्राधिकरणको नियम मौसमसम्बन्धी जानकारी गर्ने प्रणाली विकास नगरी कार्यान्वयन गरिए पोखरा र चितवनको उडान समेत प्रभावित हुने एक वायुसेवा कम्पनीका अधिकारी बताउँछन् ।

‘विमान १२ हजार फिटभन्दामाथि उडान गर्ने हुँदा सबै ठाउँको मौसमसम्बन्धी जानकारी आवश्यक हुँदैन,’ एक एटिसी भन्छन् , ‘जति धेरै जानकारी प्राप्त भयो त्यति रामो हो । तर, विमानस्थल वरिपरिको र छिटोछिटो मौसम परिवर्तन हुने पासको मौसमसम्बन्धी जानकारी दिने प्रणाली भए हवाई सुरुक्षा बढाउन सकिने थियो ।’

विगतमा पहाडी रुटमा भएका हवाई दुर्घटना गठन भएका विभिन्न आयोगहरुले मौसमको जानकारी दिने प्रणालीमा सुधार गर्नुपर्ने सुझाव दिएको थियो । मौसमको जानकारी दिने काम जल तथा मौसम विज्ञान विभागको भएको भन्दै प्राधिकरणले मौसकको जानकारी दिने प्रणालीमा खासै लगानी गरेन । जसले गर्दा प्राधिकरणसँग मौसमको जानकारी दिने आफ्नो प्रणाली छैन ।

पूर्वाधारका क्षेत्रमा कुनै सुधार नगरी चर्चाका लागि गरिएको नीतिगत परिवर्तन कुनै लाभ नदिने र उड्डयन सुरक्षा पनि नबढाउने प्राधिकरणका एक उपनिर्देशक बताउँछन् ।

‘हामी कस्ता निर्णय गर्छाै, धेरै तपाईंलाई थाहा छ,’ प्राधिकरणका एक उपमहानिर्देशक भन्छन्, ‘मेरो मुखबाट यो निर्णय ठीक होइन भन्न नलगाउनु न । हामीलाई पनि पीडा छ ।’


शरद ओझा