श्रम कार्यालयको झण्झटिलो लाइन अब अनलाइन, सहज होला श्रमिकलाई ?



काठमाडौं । ताहचलस्थित वैदेशिक रोजगार कार्यालय सम्भवतः सबैभन्दा बढी सेवाग्राहीको भिड हुने कार्यालयमा पर्छ ।

अघिल्लो दिन दूरदराजबाट नाइट बस बढेर काठमाडौं श्रम स्वीकृतिका लागि आउनेहरु भिड यतिसम्म हुन्छ कि लामबद्ध लाइन सोल्टी होटलको गेटसम्म आइपुग्छ ।

विहानैदेखि पालो कुर्नेहरु कार्यालय समय सकिँदासम्म पनि काम होला कि नहोला भन्नेमा ढुक्क हुने अवस्था छैन । बीमा र श्रम स्वीकृतिको कागज मिलाउँदै गर्दा पालो मिचिएर कहाँ पुग्छ पुग्छ ।

काठमाडौंसम्मको यात्रा र विहानैदेखि लाइनमा उभिने तनाव त छँदैछ, त्यसमाथि बिचौलियाका नाममा हुने ठगीको बिगबिगी उस्तै छ ।

वर्षेनी ९ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स पठाएर मुलुकको आर्थिक अवस्था बलियो बनाउनेका दुःखको भारी ठूलो छ । जसले पठाएको रेमिट्यान्सकै भरमा समृद्धिका ठूला गफ गर्नेहरु रेमिट्यान्स पठाउनहरुका समस्या कहिल्यै सुनेनन् भन्ने उदाहरण त्यही भिड हरे पुग्छ ।

तर अब भने वैदेशिक रोजगार कार्यालय भने यी सबै समस्या समाधान गर्नेतर्फ अग्रसर भएको देखिन्छ । यो शुरुवातले सेवाग्राहीलाई कति सहज हुनेछ भन्ने पक्कै पनि भविष्यले देखाउने नै छ ।

किनभने अब श्रम स्वीकृति पूर्णरुपमा अनलाइन प्रणालीमार्फत् हुने भएको छ ।

अनलाइन प्रणाालीमा जानु भनेको अर्थ, अब श्रम स्वीकृतिका लागि कार्यालय धाउनु पर्दैन । कागजपत्र अपुग भयो भनेर फर्कनु पर्दैन । समय र खर्च दुबै बच्यो । र, बिचौलियाको डर पनि भएन ।

उसो त केही समय अघिदेखि नै काठमाडौंबाहेक प्रदेशका केही कार्यालयबाट पनि श्रम स्वीकृतिको सुविधा भए पनि श्रमिकका दुःख भने घटेका थिएनन् ।

अत्यधिक भिड नियन्त्रणका लागि सरकारले केही वर्षयता टोकनको व्यवस्था गरेको थियो । तै पनि समस्या ज्यूँका त्यूँ रहे ।
तर अब भने त्यो भिड घट्नेछ । अब श्रम स्वीकृतिबाटै अनलाइनबाट अप्लाइ गर्न सकिनेछ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्याल विगतमा दैनिक २ हजारको संख्यामा जम्मा हुने भिड अब कार्यालय परिसरमा देखिने छैन ।

‘श्रम स्वीकृतिका लागि दैनिक १५ सयदेखि २ हजारको भिड हुन्थ्यो, प्रहरी परिचालन गरेर व्यवस्थापन गरिएको थियो,’ उनले भने, ‘तर अब भने त्यो समस्या हट्ने भएको छ, अब घरमै बसेर सहजै अप्लाइन गर्न सकिन्छ ।’

कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र यही वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्रै गर्ने निर्णय गरेको थियो । साथै, आगामी जेठ ६ गतेदेखि भने व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गर्ने भइसकेको छ ।

श्रम स्वीकृति पूर्णरुपमा अनलाइन प्रणालीबाट हुने हुँदा सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा गरिएको छ भने पारदर्शिता र जवाफदेहिता पनि बढाउने अपेक्षा गरिएको छ । यसले सेवाग्राहीको हकमा कार्यालय धाउनु पर्ने समय र खर्च जोगाइदिएको छ भने ठगी र बिचौलियाको बिगबिगी हट्ने अपेक्षा पनि गरिएको छ । साथै कार्यसम्पादनमा ढिला सुस्ती भयो भन्ने जस्ता सेवाग्राहीका गुनासा आउन निकै कम विश्वास व्यक्त गरिएको छ ।

यसरी भयो सम्भव
श्रम स्वीकृतिका लागि अनलाइन प्रणाली विगत लामो समयदेखि नै सञ्चालन थियो ।

श्रमिकहरूले सबै कागजात सबै अनलाइन प्रणालीमा समावेश गरे पनि कार्यालयमा आउनुपर्ने बाध्यता अझै थियो । जसले गर्दा दैनिक हजारौं संख्यामा उपस्थित हुँदा कार्यालयमा भिड हुन्थ्यो ।

कर्मचारीले बिहानदेखि बेलुकासम्म काम गर्नुपर्ने अवस्था थियो । त्यति मात्रै नभएर कार्यालयमा बिचौलिया, भ्रष्टाचार, ढिलासुस्तीका समस्याका गुनासाले बदनाम पनि भइरहेको थियो । यही समस्या समाधानका लागि अनलाइन प्रणालीलाई जोड दिइएको उनको भनाइ छ ।

‘अनलाइन प्रणाली पहिलेदेखि नै कार्यान्वयनमा थियो । त्यसमा थोरै परिमार्जन गर्ने हो भने सहजै अनलाइनबाट सेवा प्रवाह गर्न सक्नेछ भनेर कार्य अगाडि बढाइएको हो,’ उनले भने ।

उनले भिड हटाउन कार्यालयले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागको सहकार्यमा अनलाइन प्रणाली कार्यान्यनमा ल्याउन सफल भएको बताए ।

कार्यालयले वैदेशिक रोजगार विभागको अनलाइन श्रम स्वीकृति अनलाइन पोर्टल (एफइआइएमएस)लाई नै परिमार्जन गरेर सम्पूर्ण श्रम स्वीकृतिको व्यवस्था गरेको छ ।

शुरुवाती चरणमा अर्को नयाँ प्रणाली विस्तार गर्ने हो की भनेर छलफल गरिए पनि नयाँभन्दा पनि भएकै अनलाइन प्रणालीलाई परिमार्जन गरेर कार्यान्वयनमा जाने निर्णय अनुसार नै काम भएको हो ।

‘म कार्यालयमा सरुवा भएर आउँदा निकै भिड हुन्थ्यो, सेवाग्राहीका गुनासा पनि उत्तिकै थिए,’ उनले भने, ‘समस्या समाधानमा सक्रिय भएर लाग्यौ र लाइनलाई अनलाइनमा लैजान सक्यौ ।’

उनले पुनः श्रम स्वीकृति लागू गर्दा एक महिनासम्म निकै गाह्रो भएको र तर समस्या समाधान गर्दै लगेको बताए ।

अर्याल अझै पनि अनलाइन प्रणालीमा सुधारको आवश्यकता भएको बताउँछन् ।

‘एकैपटक पूर्णरुपमा सफल भइन्छ भन्ने होइन,’ उनले भने, ‘काम गर्दै जाँदा समस्या आउन सक्छन्, समस्या समाधान गर्दैै जाने हो ।’

श्रम स्वीकृति गर्दा म्यादी जीवन बीमाको शुल्क उमेर अनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषका लागि १ हजार ५ सय रुँपैया शुल्क लाग्ने कार्यालयको भनाइ छ ।

कार्यालयका अनुसार जीवन बीमा र कल्याणकारी कोष समेत गरी ३५ वर्षसम्मका लागि ५ हजार २०८ रुपैयाँ, ३६ वर्षदेखि ५० वर्षसम्मका लागि ६ हजार ४३१ रुपैयाँ लाग्छ । साथै, ५१ वर्षदेखि माथिका लागि १० हजार ९६३ रुपैयाँ मात्र शुल्क लाग्छ ।


अरिष्मा मोक्तान