सप्तकोशी सिमेन्टको आम्दानी २०% ले बढ्यो



काठमाडौं । सप्तकोशी सिमेन्टको आम्दानी २०.३३ प्रतिशतले बढेको छ ।

कम्पनीले ग्रान्डिङ उद्योग सिमेन्ट सञ्चालन गर्दै आएको छ । आफ्नै क्लिङ्कर उद्योग नभएको सप्तकोशी सिमेन्टले कोरोनाकै अवधिमा पनि आम्दानी बढाउँदै गएको छ ।

कम्पनीले सन् २०२० मा १ अर्ब ६७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०२१ मा कम्पनीले २०.३३ प्रतिशत बढी २ अर्ब १ करोड ८० लाख रुपैयाँको आम्दानी गरेको थियो । त्यसअघि, कम्पनीले सन् २०१९ मा १ अर्ब ५९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले आन्तरिक तथा आयातित कच्चा पदार्थबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले ९० प्रतिशत कच्चा पदार्थ होङ्सी शिवम् सिमेन्ट प्रालिबाट खरिद गर्दै आएको छ भने १० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात गर्दै आएको छ ।

२१ वर्षअघिदेखि सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको कम्पनीसँग दैनिक ६ सय मेट्रिक टन सिमेन्ट उत्पादनको क्षमता छ ।

गोयल समूह अन्तर्गत सञ्चालित सप्तकोशी सिमेन्ट देशभर बिक्री वितरण हुँदै आएपनि कम्पनीले पूर्वी क्षेत्रमा बढी जोड दिँदै आएको छ । कम्पनीले मेची, कोशी, सगरमाथा, जनकपुर अञ्चलनमा बढी बिक्री वितरण जोड दिँदै आएको छ ।

सन् २०२० सम्म ७९ प्रतिशत क्षमतामा सञ्चालित कम्पनीले सन् २०२१ मा त्यसलाई बढाउँदै ८९ प्रतिशतसम्म पुर्याएको थियो । तर, क्षमता बढाएपनि नाफा भने १०.५० प्रतिशतबाट झरेर ७.७५ प्रतिशतमा सीमित भएको छ ।

कम्पनीले हाल २ वटा युनिटबाट ६ सय मेट्रिक टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । जसमा एउटा युनिटबाट १ सय मेट्रिक टन र र अर्को युनिटबाट ५०० मेट्रिक टन सिमेन्ट उत्पादनको क्षमता छ ।

हालै कम्पनीले दीर्घकालिन र अल्पकालिन गरी १ अर्ब १२ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । जसमा दीर्घकालिन कर्जाका लागि ३३ करोड रुपैयाँ र अल्पकालिन कर्जाका लागि ७९ करोड रुपैयाँ रेटिङ गराएको हो ।


क्लिकमान्डु