गरिबी अन्त्यका लागि देशको अर्थव्यवस्थाको अडिट हुनुपर्छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गरिबी अन्त्यका लागि देशको अर्थव्यवस्थाको ‘अडिट’ हुनुपर्ने बताए ।

‘वर्षौदेखि बहुआयामिक गरिबी किन भइरहेको छ । यसको अडिट गर्नुपर्यो । जोड राख्नुपर्ने ठाउँमा घटाउ राखेर हिसाब गर्दा पो यस्तो भएको हो की’ उनले भने, ‘अब गरिबीको सही ढङ्गले अडिट गरियो भने हामी सुधार गर्न सक्छौं ।’

उनले अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको अडिट हुनुपर्ने भन्दै हिमालको सम्पत्ति, तराईको जमिन, देशभरका नदीमा बगेको पानीलगायतको अडिट गरेर राष्ट्रिय सम्पत्ति यकिन गर्नुपर्ने बेला आएको बताए ।

‘अहिले राष्ट्रिय सम्पत्तिको अडिट गर्नुपर्ने बेला भएको छ,’ उनले भने, ‘मुलुकलाई आत्मनिर्भर बनाउने गरी मुलुकभित्रको स्रोत साधनको अधिकतम उपयोग गर्ने समय आएको छ ।’

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक बिमुख हुन नहुने धारणा राखे ।

कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखापरीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर्फ लेखा परीक्षकहरुलाई ध्यान दिन उनले आग्रह गरे ।

‘जोड गर्नुपर्ने ठाउँमा घटाउ राखियो वा घटाउनुपर्ने ठाउँमा भाग वा गुणा गरियो भने त्यसले हिसाब मात्रै बिगार्दैन, राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो असर गर्छ भन्ने कुरामा तपाईहरु (लेखापरीक्षक) ले ख्याल राख्नुहोला,’ उनले भने ।

लेखापरीक्षण व्यवसाय अर्थतन्त्रको मूल आधार र समग्र देशको आर्थिक चित्र देखाउने ऐना भएको उनले बताए ।

‘निजी, सरकारी, गैर–सरकारी सबै क्षेत्रमा लेखापरीक्षण क्षेत्रले राम्रो भूमिका खेलेको छ,’ उनले भने, ‘लेखा परीक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ ।’

उनले वित्तीय अनुशाशन कायम गर्न÷गराउन लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने बताए । उनले लेखापरीक्षण कुनै संस्था वा कम्पनीको हिसाब किताबमा मात्रै सीमित नभई समग्र देशको सम्पत्ति मूल्यांकनमा पनि प्रयोग हुनुपर्ने बताए ।


क्लिकमान्डु