आईएमएफले नेपालमा २ वर्षभित्रमा ३४ अर्ब सहयोग गर्ने



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आगामी २ वर्षभित्र नेपाललाई २८२.४ मिलियन डलर(३४ अर्ब) सहयोग गर्ने भएको छ ।

आईएमएफले उक्त रकम ७ चरणमा नेपाललाई सहयोग गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार आईएमएफले पहिलो चरणको सहयोग रकम नेपाललाई दिइसकेको छ । पहिलो चरणको सहयोग पछि दोस्रो चरणको सहयोगका लागि आईएमएफका प्रतिनिधि नेपालमा आएका छन् ।

इनह्यान्स क्रेडिट फ्यासिलिटी (इसीएफ) अन्तर्गत सो सुविधा आईएमएफले नेपाललाई दिन लागेको हो । नेपाललाई आईएमएफले बजेटरी सहायता अन्तर्गत सो सहयोग उपलब्ध गराउन लागेको हो ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार सन् २०२४ सम्ममा दिइने उक्त सहयोग रकममध्ये पहिलो चरणमा ७८.५ मिलियन डलर नेपाल पठाइसकेको छ । दोस्रो किस्ता दिनु अघि पहिलो किस्ताको समिक्षा गर्न आईएमएफका अधिकारी नेपाल आएका हुन् ।

दोस्रो चरणमा ३९.२ मिलियन डलर सहयोग गर्ने भनिएको छ । उक्त सहयोगका लागि विभिन्न मापदण्ड राखिएको छ । त्यो पुरा गरेपछि मात्रै दोस्रो चरणको सहयोग रकम पाइने छ । दोस्रो चरणको सहयोग पाउन पहिलो चरणको सहयोगको समिक्षा हुनेछ । अहिले समिक्षाको काम भइरहेको पोखरेलको भनाइ छ ।

‘पहिलो किस्ता रकम दिइसकेको छ’ उनले भने ‘पहिलो चरणका पैसा दिएपछि त्यसको प्रभाव कस्तो रह्यो भनेर अध्ययन गर्न एउटा समूह आएको छ ।’ हरेक किस्ता दिनु अघि नेपालमा आएर अध्ययन, समीक्षा गर्ने र समीक्षा पनि मात्रै अर्को किस्ता दिने गरेको पोखरेलको भनाइ छ । त्यसलाई कार्यक्रमको समीक्षा भन्ने गरिएको छ । अघिल्लो पटकको कार्यक्रम समीक्षामा उनीहरु सन्तुष्ट भएपछि मात्रै अर्को चरणको रकम सहयोग गर्ने छन् ।

उक्त सहयोग रकम नेपाल सरकारले आवश्यक परेको क्षेत्रमा खर्च गर्न सक्नेछ । आएईमएफले २८२.४ मिलियन डलर सात चरणमा दिनेछ । समीक्षाका लागि नेपाल आएका आईएमएफका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सोमबार भेट भएको हो


क्लिकमान्डु