रुस र युक्रेन द्वन्द्व प्रभावः खाने तेलको आयात ६८% ले घट्यो, बजारमा तेल अभावसँगै मूल्य हालसम्मकै उच्च



काठमाडौं । रुस र युक्रेनबीच द्वन्द्व चलेको २ महिना भइसक्यो । युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले आपत्ति जनाएर हमला गरेको द्वन्द्व हालसम्म पनि कायमै छ ।

रुस र युक्रेनबीचको द्वन्द्वले गर्दा विश्वव्यापीरुपमा आर्थिक तथा व्यापारिक क्षेत्रमा ठूलो असर पारेको छ । द्वन्द्वले गर्दा विश्वव्यापीरुपमै वस्तु तथा सेवाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

द्वन्द्व शुरु भएको केही हप्तामा डलरको भाउ, सुनको मूल्यलगायत पेट्रोलियम पदार्थको मूल्यले इतिहास कायम गरेको छ । साथै, दुई देशबीचको द्धन्द्वले गर्दा विश्वव्यापीरुपमा मूल्यवृद्धि भएको छ ।

रुस र युक्रेनबीचको द्वन्द्वले नेपालमा पनि पूर्णरुपमा असर गरेको छ । यी दुई देशबीचको द्धन्द्वले पेट्रोलियम पदार्थको मूल्य र भान्सामा प्रयोग हुने तेलको मूल्यले इतिहास कायम गरेको छ ।

द्वन्द्व चलिरहेको रुस र युक्रेनबीच नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा रहेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालले रुसबाट ५ अर्ब १६ करोड ८ लाख रुपैयाँ बराबरको आयात गर्दा नेपालबाट १५ करोड ५२ लाख रुपैयाँको निर्यात गरेको छ ।

त्यस्तै, ९ महिनाको अवधिमा युक्रेनबाट नेपालले १९ अर्ब २५ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेकोमा नेपालबाट भने १९ लाख रुपैयाँको मात्रै निर्यात गरेको सरकारी तथ्याङ्क छ ।

आयातको तुलनामा निर्यातको अवस्था निकै कमजोर देखिए पनि यी दुई देशबाट नेपालले अत्यवश्यक वस्तु आयात गर्ने गरेको छ ।

उक्त दुई देशबाट नेपालले भान्सामा सबैभन्दा बढी प्रयोग हुने तेल आयात गर्दै आएको छ । विश्वकै सबैभन्दा बढी तेल उत्पादन गर्ने युक्रेन र रुसबाट नेपालले उच्चरुपमा तेल आयात गर्ने गरेको सरकारी तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यसैगरी, २ महिनादेखि निरन्तर चलिआएको द्वन्द्वले हालसम्मकै न्यून तेल आयात भएको छ । यी दुई देशबाट मात्रै चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १६ अर्ब ९१ करोड ९४ लाख रुपैयाँ बराबरको १० करोड १६ लाख ४ हजार लिटर भटमास र सनफ्लावर तेलको कच्चा पदार्थ आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

तर, दुई देशबीचको द्वन्द्वले हालसम्मकै कम तेल आयात भएको छ । मासिक १ करोड लिटरभन्दा बढी तेल आयात हुँदै आएकोमा चैत महिनामा भने ५७ लाख लिटरमा सीमित भएको छ ।

चैत महिनामा युक्रेन र रसियाबाट भटमास र तोरी तेलको कच्चा पदार्थ ९४ करोड १८ लाख रुपैयाँ बराबरको ५७ लाख ५६ हजार लिटर आयात गरेको छ । जुन फागुन महिनाको तुलनामा ६८.३७ प्रतिशतले कमी हो ।

फागुनमा महिनामा सो देशबाट ३ अर्ब ३ करोड ६९ लाख रुपैयाँ बराबरको १ करोड ८१ लाख ९९ हजार तेल आयात गरेको थियो । साथै, माघमा २ अर्ब ४६ करोड ७८ लाख रुपैयाँको १ करोड ४४ लाख २३ हजार लिटर, पुसमा १ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ बराबरको १ करोड ९ लाख ४२ हजार लिटर तेल आयात गरेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

उपभोक्ताले चाहेजति तेल पाउन मुश्किल

रुस र युक्रेनबीचको द्वन्द्वले गर्दा बजारमा तेल अभाव हुन थालेको छ । नेपाली उद्योगीहरूले पर्याप्त मात्रामा तेल आयात गर्न नसक्दा बजारमा तेलको अभाव हुन थालेको उद्योगीहरू बताउँछन् । तर, खुद्रा व्यवसायीहरूले भने उद्योगीहरूले कार्टेलिङ गरेर मूल्यवृद्धि गराउने प्रवृत्ति रहेको बताएका छन् ।

रुस र युक्रेनबीचको द्वन्द्व शुरु भएको हप्ता दिनमै बजारमा तेलको मूल्य बढाएको उद्योगीहरूले अहिले झनै मूल्य बढाउँदै लगेको छ । अहिले आयात नै कम हुन थालेपछि उद्योगीहरूले कालोबजारी गर्दै बजारमा बिक्री गर्न थालेका छन् ।

अहिले खुद्रा व्यवसायीहरूले महंगीका कारण तेल राख्न नसक्दा उपभोक्ताले चाहेजति तेल नै पाउन मुश्किल भएको छ । उद्योगीहरूले खुद्रा व्यवसायीहरूलाई सिमित मात्रामा तेल वितरण गर्दै आएकाले सोही अनुसार उपभोक्तालाई वितरण गर्दै आएको खुद्रा व्यवसायी रोशन श्रेष्ठ बताउँछन् । उनका अनुसार अहिले उद्योगबाट थोरै मात्रै तेल वितरण हुन्छ । जसले गर्दा पर्याप्त मात्रामा तेल ल्याउन सकेको छैन । साथै, उपभोक्तालाई ३ लिटरभन्दा बढी तेल दिन छाडेको छ ।

‘अहिले उद्योगबाट खुद्रा व्यवसायीलाई कम तेल वितरण गर्दै आएको छ,’ उनले भने, ‘विगतको दिनमा आफ्ना ग्राहकलाई कार्टुन लैजानेलाई कार्टुन नै दिन सक्ने अवस्था थियो । अहिले ३ लिटरभन्दा बढी दिएको छैन ।’

त्यसैगरी, साना खुद्रा व्यवसायीले अहिले तेल राख्न नै छोडेको नेपाल खुद्रा किराना व्यापार संघका महासचिव अमुलकाजी तुलाधार बताउँछन् । उनकाअनुसार उद्योगीहरूले तेलको मूल्य मनपरी राख्न थालेपछि खुद्रा व्यवसायीहरूले तेल नै राख्न छाडेका छन् । जसले गर्दा उपभोक्ताले आफूलाई चाहेजति तेल नपाउने उनको भनाइ छ ।

‘खुद्रा व्यवसायीहरूले उद्योगबाट ल्याएको तेलमा ५ देखि १० रुपैयाँ नाफा राखेर बेच्ने गरेको छ । तर, अहिले उद्योगीहरूले नै प्रतिलिटर ३०० रुपैयाँसम्म मूल्य तोक्दा खुद्रा व्यवसायीहरूले तेल बेच्न छोडेको हो,’ उनले भने ।

तेलको मूल्य हालसम्मकै उच्च

एकातिर बजारमा तेल अभाव भइरहेको छ भने अर्कोतर्फ तेलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । करिब २ महिना अघिसम्म प्रतिलिटर २८० रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य अहिले प्रतिलिटर ३१० रुपैयाँदेखि ३२० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

साथै, २७० रुपैयाँ रहेको भटमासको तेल अहिले ३०० रुपैयाँ पुगेको छ । उक्त मूल्य इतिहासमै सबैभन्दा महंगो भएको तुलाधारको दाबी छ ।

‘यसभन्दा अघि सामान्य तेलको मूल्य २९० रुपैयाँभन्दा माथिमा बिक्री भएको थिएन,’ उनले भने, ‘अहिले उद्योगीबाटै प्रतिलिटर ३०० रुपैयाँसम्म कायम गर्दा खुद्रा व्यवसायीहरूले ३१० देखि ३२० रुपैयाँसम्म बिक्री गरिरहेको छ ।’ सो मूल्य हालसम्मकै उच्च हो ।

अहिले बजारमा उपभोक्ताले १ कार्टुन किन्न पाउँदैन । तर, पाए पनि एक कार्टुनको मूल्य ३ हजारभन्दा माथि पुगिसकेको छ । बजारमा विभिन्न कम्पनीको तेल उपलब्ध छन् । उक्त कम्पनीहरूले आफ्नो ब्रान्डअनुसार तेल बिक्री गर्दै आएका छन् । अहिले उक्त ब्रान्डको प्रतिलिटर मूल्य ३१० रुपैयाँदेखि ३५० रुपैयाँसम्म मूल्यमा बिक्री भइरहेको छ ।

तुलाधारका अनुसार सरकारले बजारको उचित व्यवस्थापन गर्न नसक्दा महंगी र अभावमा बाँच्नुपर्ने बाध्यता रहेको छ । सरकारले नै अनुगमनमा तीब्रता र ध्यान दिन नसक्दा बजारमा खाद्यान्न वस्तुको मूल्य अत्यधिक बढेको उनको भनाइ छ ।

बजारमा अहिले सनफ्लो तेलको मूल्य प्रतिकार्टुन ३१ सय ५० रुपैयाँ छ । त्यसैगरी, धारा हेल्थको ३४ सय रुपैयाँ, सेफ सनफ्लावरको ३१ सय २० रुपैयाँ, अमृत तेलको ३१ सय ५० रुपैयाँ र राजन्सको ३१ सय ५० रुपैयाँ रहेको छ ।

त्यसैगरी, कुक भटमासको तेलको प्रतिकार्टुन २९ सय ६० रुपैयाँ र स्वास्तिक भटमास तेलको ३१ सय ५० रुपैयाँ रहेको छ ।


अरिष्मा मोक्तान