डेढ अर्बले ब्याज आम्दानी बढ्दा समेत नबिलको नाफा ९% ले घट्यो



काठमाडौं । नबिल बैंकको नाफा करिब ९ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ३ अर्ब ३५ करोड नाफा गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ६७ करोड रुपैयाँ बैंकले नाफा गरेको थियो ।

बैंकको आम्दानीमा महत्वपूर्ण मानिएको ब्याज आम्दानी बढ्दा समेत नबिलको नाफा घटेको छ । नबिल बैंकले ब्याज आम्दानी अन्तर्गत ६ अर्ब ५९ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष चैतमा ५ अर्ब ९ करोड गरेको थियो ।

बैंकको सञ्चालन खर्च बढेको कारण नाफा घटेको हो । बैंकले चैतसम्मको नाफाबाट सेयरधनीलाई बाँड्न मिल्ने नाफा २ अर्ब १६ करोड गरेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रहेको छ ।

बैंकको नाफा घटेपछि प्रतिसेयर आम्दानी(इपिएस) समेत घटेको छ । अघिल्लो वर्ष चैत मसान्तमा २४.३९ रहेको इपिएस ३६.६३ रुपैयाँ रहेको थियो । खराब कर्जा अनुपात(एनपिएल) अघिल्लो वर्षभन्दा बढेको छ ।

अघिल्लो वर्ष ०.४८ प्रतिशत रहेको एनपिएल १.१४ प्रतिशत रहेको छ । बैंकको बेसरेट अघिल्लो वर्षभन्दा बढेको छ । अघिल्ले वर्ष ६.१८ प्रतिशत रहेको बेसरेट ८.२२ प्रतिशत रहेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको भन्दा बढी छ । ९० प्रतिशत कर्जा निक्षेप अनुपात हुनुपर्नेमा नबिल बैंकको ९१.४७ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ ।

चैत मसान्तसम्ममा नबिल बैंकले २ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब २१ अर्ब कर्जा दिएको छ । अघिल्लो वर्ष २ खर्ब २३ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ९८ कर्जा रुपैयाँ कर्जा दिएको थियो ।


क्लिकमान्डु