गठबन्धनको बैठकमा प्रधानमन्त्रीले भने: अर्थमन्त्रीलाई असहयोग गरेपछि गभर्नरलाई निलम्बन गरेका हौं



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेका कारण नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको बताएका छन् ।

बिहीबारको मन्त्रिपरिषदले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले शुक्रबार उक्त निर्णय बाहिर ल्याएको थियो ।

आफ्नो अक्षमता ढाकछोप गर्न गभर्नरलाई मिथ्या आरोप लगाइएको भन्दै सरकारको उक्त निर्णयको ब्यापक आलोचना भइरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो जवाफ दिएका हुन् ।

सोमबार भएको सत्तारुढ गठबन्धनको बैठकमा कांग्रेस महामन्त्री गगन थापा र नेकपा माओवादीका नेता वर्षमान पुनले गभर्नर किन हटाएको भनेर प्रश्न गरेका थिए ।

‘अर्थतन्त्रको अवस्था खराब बन्दै गएको छ, सबै मिलेर यो संकटलाई पार लगाउनुपर्ने अवस्थामा किन गभर्नरलाई हटाइयो ? के अर्थतन्त्र खराब हुनुमा गभर्नरमात्रै दोषी छन् ? अब रातारात अर्थतन्त्र राम्रो हुन्छ ?’ थापा र पुनले प्रश्न गरेका थिए ।

प्रधानमन्त्री देउवासामू गठबन्धनकै प्रभावशाली नेताहरुबाट यस्तो प्रश्न सोझिएपछि उनले सहजै जवाफ दिए, ‘अर्थमन्त्रीजीले मलाई गभर्नरबाट धेरै नै असहयोग भयो भन्नुभयो । त्यसैले उनीमाथि कारबाही भएको हो । यस्तो बेलामा गभर्नरले सहयोग त गर्नुपर्योर् नि ।’

अर्थमन्त्री जनार्दन शर्माले गभर्नरले आफूलाई असहयोग गरेको भन्दै पटक पटक गुनासो गरेपछि सरकारले यस्तो निर्णय गरेको देउवाले प्रष्ट पारे ।

‘अर्थमन्त्रीलाई काम गर्न पनि नदिने र सरकारले गरेका काममा असहयोग गरेको गुनासो अर्थमन्त्रीजीबाट धेरैपटक आयो,’ देउवाले भने, ‘राष्ट्र बैंक सरकारभन्दा टाढाको होइन, सरकारका कामलाई सहयोग गरेको भए यस्तो निर्णय हुने थिएन ।’

सरकारले गभर्नर अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको छ । योसँगै उनी स्वत निलम्बनमा परेका छन् ।

जाँचबुझ समितिले एक महिनाभित्र प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने छ । उक्त प्रतिवेदनका आधारमा सरकारले गभर्नरलाई पदबाट बर्खास्त गर्ने तयारीस्वरुप जाँचबुझ समिति बनाएको हो ।

सरकारमा बस्नेतहरुले बाहिर गभर्नरले सरकारलाई असहयोग गरेको बताए पनि अर्थमन्त्री शर्माले आफ्नो सीमा नाघेर पटक पटक गभर्नरलाई दवाव दिएका थिए । लक्ष्मणरेखा नाघेर दिएको निर्देशनको पालना नगरेपछि सरकारलाई असहयोग गरेको अभियोग लगाउँदै अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले गभर्नर अधिकारीलाई निलम्बन गरेको हो ।


क्लिकमान्डु