यी हुन् सरकार र निजी क्षेत्रले आत्मनिर्भर भई निर्यात गर्न सक्ने सम्भावित क्षेत्र



काठमाडौं । नेपालको वैदेशिक व्यापारघाटाको अवस्था निकै डरलाग्दो अवस्थामा पुगेको छ । नेपालमै उत्पादन गरी आत्मनिर्भर हुनसक्ने क्षेत्रको वस्तुसमेत नेपालले अर्बौं रुपैयाँको आयात गर्दै आएको अवस्था छ ।

अहिलेको परिस्थिति हेर्ने हो भने नेपालले के आयात गर्दैन भन्न सबैको प्रश्न छ । आयातमुखी बन्दै गएको नेपालमा अहिले उत्पादनभन्दा पनि आयातित वस्तुमा भर पर्दै गएको देखिन्छ । जसले गर्दा वैदेशिक व्यापारघाटा चुलिँदो अवस्थामा पुगेको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा नेपालले १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेकोमा नेपालले ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापारघाटा व्यहोरेको छ । नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँको आयात गर्दा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँको निर्यात गर्न सफल भएको छ । उक्त मूल्य बराबरको वस्तु निर्यात गर्न सक्नु सकारात्मक हो ।

नेपालले उत्पादन गरी आत्मनिर्भर भई निर्यात गर्न सक्ने धेरै वस्तु भए पनि सरकारले ध्यान दिन नसक्दा नेपालले हरेक वर्ष खर्बौको आयात गर्नुपर्ने बाध्यता छ । तर, यदि नेपालले उक्त सम्भावित क्षेत्रमा उत्पादन बढाउने हो भने निर्यात नभए पनि आयातलाई विस्थापन गर्न सक्नेछ ।

हाल नेपालले अलैंची, चिया, जडीबुटीलगायतका वस्तु उच्चरुपमा निर्यात गर्दै आएको छ । तर, यी वस्तुमात्रै नभएर सरकारले सम्भावित क्षेत्रमा केही मात्रै राहत प्रदान गरे आत्मनिर्भरसँगै निर्यात गर्न सक्ने विभिन्न अध्ययनले देखाएको छ ।

सरकारले पनि हरेक वर्ष विभिन्न वस्तुको अध्ययन गरेर आत्मनिर्भर हुन सक्ने वस्तुको पहिचान गरी प्रतिवेदन तयार गर्दै आएको छ । सरकारले मात्रै नभएर निजी क्षेत्रले पनि नेपाल कुन-कुन क्षेत्रमा आत्मनिर्भर भई निर्यात गर्न सक्ने सम्भावित क्षेत्रको पहिचान गरेको छ ।

जसमा सरकारले र निजी क्षेत्रले पहिचान गरेको वस्तुको राम्रोसँग उत्पादन गर्न सके अर्बौंको निर्यात गर्न सक्ने पनि प्रतिवेदनहरूले देखाएको छ ।

नेपालले जुत्ता चप्पल उद्योग, पेन्ट उद्योग, जस्तापाता उद्योग, केबल र कन्डक्टर उत्पादन, गार्मेन्ट तथा टेक्सटायल उद्योग, औषधी उद्योग, पलस्टिक उद्योग, पावर ट्रान्स्फर्मर उद्योग क्षेत्रमा नेपालले उत्पादन जोड दिएमा आत्मनिर्भरसँगै उच्च निर्यात गर्न सक्ने सम्भावना रहेको अध्ययनले देखाएको छ ।

केबल र कन्डक्टर उत्पादन

नेपालमा हाल २५ वटा केबल र कन्डक्टर उद्योगहरु रहेका छन् । उक्त उद्योगबाट उत्पादित केबल र कन्डक्टरको वास्तविक माग उत्पादनक्षमता भन्दा धेरै कम रहेको उद्योग विभागको प्रतिवेदनले जनाएको छ । २५ केबल र कन्डक्टर उद्योगको औसत क्षमता उपयोग ४० प्रतिशत रहेकोमा विद्युतीय केबल र कन्डक्टरको ५ बर्षको भविष्यको माग करीव १३ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।

केवल कपर वाइन्डिंग तारहरूले मात्र विगत ४ आर्थिक वर्षहरूमा उल्लेखनीय रूपमा निर्यात बढे पनि अघिल्लो वर्ष (२०७६/७७) मा निर्यात गरिएको छैन ।

केबल र कन्डक्टर उद्योगहरूले लगभग १ हजार प्रत्यक्ष र ५ हजार प्रत्यक्ष रोजगार उत्पन्न गरेका छन् । ती मध्ये, करीब ५० प्रतिशत दक्ष र अर्धदक्ष जनशक्ति छन् । २५ केबल र कन्डक्टर उद्योगहरूको कुल बिजुलीको माग ५ मेगावाट छ जुन प्राधिकरणबाट पर्याप्त आपूर्ति भइरहेको विभागले जनाएको छ ।

कुल लगानी ८ अर्ब ५ करोड रुपैयाँ रहेको केबल र कन्डक्टर निर्माण उद्योगहरूमा कच्चा पदार्थ, पर्याप्त बिजुली आपूर्ति, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बिडिंग (एनसीबी÷आईसीबी) खरीद गर्न प्राधिकरणलाई र एनसीबी खरीदलाई नेपाली उत्पादकहरूको लागि भन्सार आन्तरिक र बाह्य चुनौती रहेको प्रतिवेदनमा उल्लेख छ ।

अधिकांश केबल कन्डक्टरको उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ तामाको र आल्मूनियमको तार र इन्सुलेशन सामाग्री भारत, चिन, थाइल्याण्ड, ताइवान, जर्मनी, दक्षिण कोरिया आदिबाट आयात गरिएको छ । केही न्यूनतम कच्चा पदार्थहरु जस्तै जिआई तारहरु, स्ट्रिप्सहरु आदि देशभित्रबाट नै खरिद गरिन्छ । समग्रमा देशभित्र रहेका केबल कण्डक्टर उद्योगहरु देशभित्रको मागलाई धान्न सक्षम रहेता पनि आयात भने राम्रो परिमाणमा आएको देखिन्छ ।

देशमा कण्डक्टरको उत्पादन क्षमता २४० हजार किलोमिटर, घरायसी प्रयोजनको तारको १० लाख किमि., एबीसी केबलको १० हजार किमि, पावर केबलको १२ हजार किमि र एक्सएलपीई केबलको २० हजार किमि मध्ये हाल उत्पादन एसीएसआर कण्डक्टरको उत्पादन ८० हजार किमि, घरायसी प्रयोजनको तारको ४ लाख किमि, एबीसी केबलको ६ हजार किमि, पावर केबलको ९ हजार किमि र एसीएसआर केबलको ५ हजार किमि छ ।

हालको माग एबीसी कन्डक्टर बाहेक अरु सबैमा देश भित्रकै उत्पादनले धानी रहेको देखिन्छ भने ग्लोबल टेण्डरका कारणले एसीएसआर कन्डक्टर मात्र बाहिरबाट आयात भएको र निर्यात नगन्य मात्रामा रहेको छ ।

उत्पादन क्षमता ५० प्रतिशतमात्र रहेकोले यसलाई केही बढाउने वातावरण बनेमा नेपालमा केबल तथा कन्डक्टर उद्योगहरु आत्मनिर्भर रहनेछन् । आयात निकै कम भएकोले सरकारी नीतिमा केही परिवर्तन गरेमा पूर्णरुपमा आयात बन्द भई देशभित्र भएका उद्योगका उत्पादन क्षमता बढ्ने उद्योगको भनाइ छ ।

जुत्ता चप्पल उद्योग

जुत्ताचप्पल उद्योग नेपालमा करिब ६ वटा ठूला जुत्ताचप्पल उद्योगहरू, १५ मध्यम स्तरका उद्योगहरू, ३ सय साना उद्योग र १२ सय लघु–उद्योगहरु छन् । वार्षिक जुत्ताचप्पलको उत्पादन वर्ष २०७६/७७ मा वृद्धि गरी ४.५ करोड जोडी रहेको छ । क्षमता उपयोग ३७.५ प्रतिशत रहेको देखिन्छ । जुत्ताचप्पलको उत्पादन क्षमता आर्थिक वर्ष २०७६÷७७ मा करीव २ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै गरी, वार्षिक उत्पादन ५० प्रतिशतले वृद्धि भएको छ ।

जुत्ताचप्पलको वार्षिक माग ७.२७ करोड जोडी रहेको छ भने बर्ष २०७६/७७ मा नेपालमा केवल ४.५ करोड जोडी घरेलु आपूर्ति रहेको छ । फुटवेयरको माग नेपालमा वार्षिक ९ करोडदेखि १० करोड रहेको छ । त्यसमा आगामी २०८१/८२ मा अर्थात्पाँच बर्षमा २८ प्रतिशत वृद्धि गरी ११ करोड जोडीमा पुग्ने अनुमान गरिएको छ ।

जुत्ताचप्पल उद्योगहरूले लगभग ७० हजार प्रत्यक्ष र अप्रत्यक्ष रोजगार श्रृजना गरेका छन् । तीमध्ये, करीव ६० प्रतिशत जनशक्ति दक्ष र अर्धदक्ष छन् । कुल बिद्युत माग करिब १० मेगावाट रहेको छ जुन नेपाल बिद्युत प्राधिकरणबाट उपलब्ध छ ।

नेपाली जुत्ताचप्पल उद्योगमा १२ अर्ब लगानी रहेको यस उद्योगमा लगानी भए पनि जुत्ताचप्पलमा प्रयोग हुने कच्चा पदार्थहरु लगभग ८० प्रतिशत भारत र चिनबाट हुने गरेको र अन्य बाँकी तेस्रो मूलुकबाट आयात गर्ने गरिएको छ ।
गत तीन बर्षको तथ्याङ्कलाई हेर्दा देशभित्रको माग ७.२७ करोड जोर, आयात ३.९ करोड जोर र निर्यात ५६.६ लाख मात्र रहेको छ । त्यस्तै आउँदो २०८१/८२ सम्मको माग लगभग ११ करोड जोर रहेको छ ।

देशभित्रका उद्योगका उत्पादन क्षमता ४० प्रतिशतभन्दा कम रहेको छ । हालको परिस्थितिमा यसलाई ९० प्रतिशत सम्म पुर्याउने वातावरण बनेमा कच्चा पदार्थ विदेशमा भर पर्ने गरी जुत्ताचप्पल उत्पादनमा आत्मनिर्भर हुने विभागको अध्ययनले देखाएको छ ।

पेन्ट उद्योग

पेन्ट उद्योग नेपालमा पेन्ट उत्पादन क्षमता लगभग २ लाख मेट्रिक टन छ । आर्थिक वर्ष २०७६/७७ मा पेन्टको वार्षिक उत्पादन लगभग १ लाख १८ हजार मेट्रिक टन छ भने पेन्ट उद्योगको औसत क्षमता उपयोग ५९ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा पेन्टको वार्षिक माग १ लाख ३० हजार मेट्रिक टन थियो । नेपाली पेन्ट उद्योगको वर्तमान बजार करिब २० अर्ब रुपैयाँ रहेकोमा ९० प्रतिशतभन्दा बढी माग घरेलु उत्पादकहरूले पूरा गर्ने गर्दछ ।

नेपालमा पेन्ट उत्पादनको सबै उत्पादन प्रविधि अर्ध स्वचालित र स्वचालित छन् । उक्त उद्योगले लगभग ५६ सय प्रत्यक्ष र अप्रत्यक्ष रोजगार श्रृजना गरेका छन् । ती मध्ये, करीव ३० प्रतिशत दक्ष र ७० प्रतिशत अर्धदक्ष जनशक्ति छन् । पेन्ट उद्योगको कुल बिजुली माग १४.५ मेगावाट छ जहाँ ५० प्रतिशत बिजुली ठूला ४ उद्योगले माग गरेका छन्।

नेपालमा पेन्ट उद्योगहरुको कुल पूँजी १० अर्ब ८ अर्ब रुपैयाँ रहेकोमा ६ ठूला, ९ मध्यम स्तर र बाँकी साना उद्योगहरू रहेका छन् । स्थानीय रूपमा प्राविधिक जनशक्तिको उपलब्धता र उच्च छोड्ने दर, सरकारी निकायको सञ्चार र समन्वय, विदेशी र बहुराष्ट्रिय उत्पादनमा उपभोक्ता आकर्षण, अस्वस्थ्यकर बजार प्रतिस्पर्धा र उद्योग तथा व्यापारीहरूको लागि समान भन्सार शुल्क पेन्ट उद्योगहरूले सामना गरिरहेका प्रमुख चुनौतीहरू हुन् ।

हाल भइरहेको ५९ प्रतिशतको उत्पादन क्षमतालाई ८०-९० प्रतिशत सम्म पुर्याउन सक्ने वातावरण बनाउन सकेमा आउँदो ५ वर्षपछि कच्चा पदार्थ विदेशी भएता पनि पेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर हुने देखिन्छ । आयात निकै कम भएकोले सरकारी नीतिमा केही परिवर्तन गरेमा पूर्णरुपमा आयात बन्द भई देशभित्र भएका उद्योगका उत्पादन क्षमता बढ्न जान्छ ।

जस्तापाता उद्योग

जस्ता पाता उद्योग नेपालमा ५ जस्तापाता निर्माण उद्योगहरू संचालनमा रहेका छन् । जसमध्ये ४ उद्योगहरु हाल चलिरहेका छन् र एउटा (जगदम्बा स्टील्स) लगभग अन्तिम चरणमा छ ।

जस्तापाता उत्पादनको उत्पादन क्षमता हाल ६ लाख मेट्रिक टन भने वार्षिक उत्पादन २०७६/७७ मा २ लाख ९८ हजार मेट्रिक टन रहेको छ । जसमा औसत क्षमता उपयोग ६३.३ प्रतिशत रहेको छ । जस्तापाताको माग र आपूर्ति आर्थिक वर्ष २०७६/७७ मा करिब ३ लाख मेट्रिक टन रहेकोमा आर्थिक बर्ष २०७५/७६ र २०७६/७७ मा जस्तापाताको आयात मात्रा क्रमशः १६३३ मेट्रिक टन र २७६० मेट्रिक टन छ । आयातको वृद्धि दर वर्ष २०७५/७६ भन्दा २०७६/७७ को ७० प्रतिशत बढी छ ।

आर्थिक बर्ष २०७६/७७ मा आरती स्ट्रिप्सले मात्र १० हजार ४ सय मेट्रिक टन जस्तापाताको निर्यातको गरेको छ । अघिल्लो बर्षको भन्दा यस बर्ष आधा भन्दा कम निर्यात रहेको छ ।

उद्योगहरूका अनुसार आगामी दिनमा हरेक वर्ष करिब ७.३ प्रतिशतले बढ्ने अनुमान छ । नेपालमा उत्पादन हुने जस्तापाताको उत्पादनका लागि आवश्यक पर्ने सबैजसोकच्चा पदार्थ सीआर सीट, केमिकल्स भारत लगायत अन्य मूलुकबाट आयात हुने गर्दछ ।

नेपालका जस्तापाता उद्योगहरुमा कुल पूँजी करिब २ अर्ब ५ करोड लगानी रहेको छ । नेपालमा उत्पादन हुने जस्तापाताको उत्पादनका लागि आवश्यक पर्ने सबैजसोकच्चा पदार्थ सीआर सीट, केमिकल्स भारत लगायत अन्य मूलुकबाट आयात हुने गर्दछ । हाल देशको मागको ९९ प्रतिशत स्वदेशी उद्योगले पुरा गरेको देखिन्छ । जबकी, औषत उत्पादन क्षमता ६३ प्रतिशतको हाराहारीमा छ ।

नयाँ स्थापना हुने उद्योग र हालका उद्योगहरुका उत्पादन क्षमता बढाएमा थोरै मात्रामा आयात भइ राखेको जस्तापातालाई सजिलैसँग प्रतिस्थापन गर्न सकिने अध्ययनले निष्कर्ष निकालेको छ ।

अध्ययन गरिएका ५ वस्तुहरु मध्ये जस्तापाता, पेन्ट, केबल तथा कण्डक्टर र चियामा कम मात्रामा आयात देखिएपनि जुत्ताचप्पलमा उल्लेखनीय आयात देखिएकोले स्वदेशी उद्योगको दिगो विकासको लागि र आयातलाई निरुत्साहित गर्न उद्योगहरुले गुणस्तरमा थप सुधार गर्नुपर्ने अध्ययनले देखाएको छ ।

सरकारको तर्फबाट न्यून विजकीकरण रोक्ने, स्वदेशी वस्तुहरुलाई प्रोत्साहन गर्ने र उपभोक्ता बर्गलाई जनचेतना अभिबृद्धि गर्नुपर्ने गरेमा सहज हुने जनाएको छ ।

सरकारले कच्चा पदार्थ र नयाँ प्रविधि खरीदका लागि सुविधा पु¥याउन सकेमा उत्पादन लागत घटाउन सकि तयारी वस्तुहरू प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुन सक्ने सुझाव दिएका छन् ।

गार्मेन्ट र टेक्सटाइल उद्योग
यो नेपालको औद्योगिक क्षेत्रमा निर्यात हुने पहिलो उद्योगमा पर्छ- गार्मेन्ट र टेक्सटाइल । सीएआईले गरेको अध्ययनअनुसार यो क्षेत्रमा पनि आत्मनिर्भर र निर्यात गर्न सक्ने सम्भावित क्षेत्रको रुपमा प्रस्तुत गरिएको छ ।

सन् १९९० को दशकमा कुल निर्यातका २७ प्रतिशत हिस्सा गार्मेन्टको थियो । जबकी, टेक्सटाइलले उत्पादनमूलक उद्योगमा ४३.८ प्रतिशत योगदान गर्थ्यो ।

विभिन्न कारणले यसको निर्यात बिस्तारै घट्दै गयो । अहिले पनि मुलुकमा यसको उच्च माग छ । बंगलदेशको एक संस्थाले गरेको अध्ययनले नेपालमा १ अर्ब डलरभन्दा धेरैको गार्मेन्ट निर्यात गर्न सक्ने र १ लाखलाई रोजगारी दिनसक्ने क्षमता रहेको देखाएको थियो । नेपालमा चीन, भारत बंगलादेश, भियतनामजस्ता देशमा ठूलोमात्रामा गार्मेन्ट निर्यात गर्नसक्छ ।

नेपालमा हाल १ हजार ९ सय ३२ टेक्सटाइल र ३६ हजार १ सय ३ गार्मेन्ट उद्योग स्थापना भएका छन् । टेक्सटाइलमा २६ हजार ७ सय ६४ र गार्मेन्टमा ७६ हजार २ सय २३ जनाले रोजगारी पाएका छन् ।

उच्च लागत मूल्य, विदेशी टेक्सटाइलसँग प्रतिस्पर्धा गर्न नसक्नु यस उद्योगका मुख्य चुनौति हुन् । अवैध बाटो ठूलोमात्रामा टेक्सटाइल भित्रिनुपनि ठूलो समस्याको रुपमा रहेको छ । एक अध्ययनअनुसार ८० प्रतिशत त्यस्ता तयारी पोषाक अवैध बाटोबाट आयात भइरहेका छन् ।

दक्ष जनशक्तिअको अभाव पनि चूनौतीको विषय बनेको छ ।

औषधि उद्योग

नेपालमा सन् २०१७ सम्म दर्ता भएका औषधि उद्योगको संख्या ५० मात्र थियो तर अहिले यो संख्या १०९ पुगिसकेको छ । पछिल्लो तीन वर्षमा मुलुकमा धेरै औषधि उद्योग स्थापना भएका छन् ।

दर्ता भएका यी उद्योगमध्ये ६६ वटा औषधि उद्योग संचालनमा छन् । जसले २० हजारलाई प्रत्यक्ष रोजगारी दिएका छन् । यी उद्योगले वार्षिक २ अर्ब ६ करोड ट्यावलेट उत्पादन गरिरहेका छन् । यी उद्योगहरु कुल क्षमताको ५५ प्रतिशतमात्र उत्पादन गरिरहेको रिपोर्टमा उल्लेख छ ।

नेपाल औषधि उत्पादन संघ (अएप्पोन) का अनुसार नेपालमा ५५ प्रकारका औषधि उत्पादन भइरहेका छन् ।

मुलुकको वार्षिक माग ५३.६६ मेट्रिक टन छ । जसको औषत मूल्य ५३ अर्ब रुपैयाँ हुनआउँछ । नेपालमा वार्षिक २८ अर्ब ६५ करोड रुपैया बराबरको आयात भइरहेको छ । यो कुल मागको ५४.५ प्रतिशत हो । स्वदेशी उत्पादनको वितरण २४ अर्ब रुपैयाँ बराबरको छ । जुन कुल बजार मागको ४५.५ प्रतिशत हो ।

नेपालमा उत्पादन हुने औषधि पनि विदेशबाट कम गुणस्तरका आयात हुनु अहिलेको मुख्य समस्याको रुपमा रहेको अध्ययनले देखाएको छ ।

प्लाष्टिक उद्योग

प्लाष्टिक उद्योग नेपालमा अर्को ठूलो सम्भावना बोकेको उद्योग हो । प्लाष्टिक धेरै उद्योगको लागि आवश्यक वस्तु हो । यो उद्योग पछिल्लो पाँच वर्षमा दोहोरो अंकमा वार्षिक १० प्रतिशतले वृद्धि भइरहेको छ । यस उद्योगको बिस्तार र वृद्धिका लागि भने नेपाल सरकारको पूर्णसहयोग आवश्यक हुने प्लाष्ट नेपाल फाउन्डेसनको भनाइ छ ।

नेपालमा औपचारिकरुपमा ४०० प्लाष्टिक उद्योगहरु छन् भने अनौपचारिकरुपमा ३ सयदेखि ३५० सम्म रहेको अध्ययनमा उल्लेख छ । यस उद्योगमा ५० हजारभन्दा धेरै रोजगारी रहेका छन् ।

दक्षिण एशियाली राष्ट्रहरुमा प्लाष्टिक उद्योगका कच्चा पदार्थको आयातमा ५ देखि ७.५ प्रतिशतसम्म भन्सार दर लाग्ने गरेकोमा नेपालमा १० प्रतिशत लाग्छ । यसलाई ५ प्रतिशतमा झार्न सकेमा नेपालको प्लाष्टिक उद्योग फस्टाउने व्यवसायीको भनाइ छ ।

नेपालमा प्लाष्टिक व्यवस्थापन नहुनु र जथाभावी फाल्नु यस उद्योगको लागि समस्याको रुपमा रहेको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।

पावर ट्रान्सफर्मर

विश्वबजारमा पावर ट्रान्सफर्मरको माग उच्च छ । नेपालमा पनि भर्खर बिजुलीको आपूर्ति राम्रो भइरहेको बेला यसको माग बढ्दो छ । विजुलीको उच्च माग, स्मार्ट ट्रान्सफर्मरको प्रयोगलगायतका कारणले पावर ट्रान्सफरमरको माग उच्च भइरहेको छ ।

नेपालमा अर्को १० वर्षमा १० देखि १५ गिगावटा विद्युत् उत्पादन हुने सम्भावना देखिएको छ । यसले गर्दा मुलुकमा ठूलो मात्रामा विद्युतको पूर्वाधार बनाउनु पर्नेछ ।

सरकारले प्रत्येक घरघरमा विद्युतको खपत बढाउन विभिन्न उपाय अपनाइरहेको बेला त्यो मागलाई धान्न पनि पावर ट्रान्सफर्मरको आवश्यकता पर्नेछ । यसका लागि नेपालमा पावर ट्रान्सफर्मरको माग अझ बढ्नेछ ।

नेपालमा नेपाल एकरात इन्जिनियरिङ कम्पनी, ट्रान्सवेल्ड नेपाल, एबीसी ट्रान्सफर, इन्स्टर्न ट्रान्सफर्मर इन्ड्रष्ट्रिज र सिउ ट्रान्सफर्मर्सले पावर ट्रान्सफर्मर उत्पादन गरिरहेका छन् ।

यी क्षेत्रमा सरकारले आगामी बजेटमा सम्बोधन गरे सहजै आत्मनिर्भर हुन सक्ने सरोकारवालाहरू बताउँछन् ।


अरिष्मा मोक्तान