बीमा कम्पनीको ४८ प्रतिशत व्यवसाय बाग्मती प्रदेशमा



काठमाडौं । बीमा कम्पनीहरूको व्यवसाय बाग्मती प्रदेशमा मात्रै सीमित रहेको तथ्यांकले देखाएको छ । बीमा समितिको फागुन महिनाको तथ्यांकअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसायको ४८.६७ प्रतिशत हिस्सा बाग्मती प्रदेशमा रहेको छ ।

बीमा समितिले ग्रामिण क्षेत्रमा जान निर्देशन दिए पनि बीमा कम्पनीहरु भने अझै पनि सुगम क्षेत्रमा नै बढी आकर्षित देखिएका छन् । तथ्यांकअनुसार बीमा कम्पनीहरू अझै पनि सहर केन्द्रित नै रहेको देखिएको हो ।

बीमा समितिको तथ्यांकअनुसार तुलनात्मक रुपमा सुगम मानिने बाग्मती प्रदेशमामात्रै बीमा कम्पनी केन्द्रीत भएका हुन् ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बाग्मती प्रदेशबाट बीमा कम्पनीहरूले ६ अर्ब ९९ करोड ७८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन् । यो कुल बीमाशुल्कको ४६.६७ प्रतिशत हो ।
सो अवधिमा कम्पनीहरुले १४ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको चालु आवको फागुन महिनाको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले सातै प्रदेशबाट १० अर्ब ९० करोड १४ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशबाट एक अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छन् । यो कुल बीमाशुल्कको १३.७३ प्रतिशत हुन आउछ ।

यस प्रदेशबाट बीमा कम्पनीहरूले एक अर्ब ९७ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा जीवन बीमा कम्पनीहरूले लुम्बिनी प्रदेशबाट १ अर्ब ६८ करोड ११ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २९ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको समितिले जनाएको छ ।

यस्तै, लुम्बिनी प्रदेश पछि बीमा व्यवसायमा प्रदेश १ को योगदान बढी छ । प्रदेश नम्बर १ बाट बीमा कम्पनीहरूले १ अर्ब ६५ करोड ७३ करोड रुपैयाँको व्यवसाय गरेका छन् । यस अवधिमा प्रदेश १ बाट जीवन बीमा कम्पनीहरुले १ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ३२ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बीमा व्यवसायमा गण्डकी प्रदेशको योगदान ९.१४ प्रतिशत, मधेश प्रदेशको योगदान ८.८८ प्रतिशत, सुदुरपश्चिम प्रदेशको योगदान ४.६५ प्रतिशत र कर्णाली प्रदेशको योगदान ३.४० प्रतिशत छ ।

बीमा कम्पनीहरूले चालु आवको फागुन महिनाको अवधिमा गण्डकी प्रदेशबाट १ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ, मधेश प्रदेशबाट १ अर्ब २७ करोड ६१ लाख रुपैयाँ, सुदुरपश्चिम प्रदेशबाट ६६ करोड ८३ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ४८ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ ।


क्लिकमान्डु