राष्ट्र बैंकको एक्सनपछि अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल



काठमाडौं । अर्थतन्त्रमा समस्या देखिएपछि अर्थमन्त्री जनार्दन शर्माले उच्चस्तरीय छलफल गरेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ तथा योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका हुन् ।

छलफलमा अर्थ मन्त्रालयका सचिवहरु मधु मरासिनी तथा राजस्व सचिव कृष्णहरि पुस्कर थिए । वाणिज्य मन्त्रालयका सचिव गणेश पाण्डे थिए । राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र तथा आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र भन्सार विभाग कमल भट्टराई सहभागी थिए ।

सोमबार राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाडी आयातको एलसी रोक्न मौखिक निर्देशन दिएका थिए । मंगलबार अर्थमन्त्रीसँगको उच्च स्तरिय छलफलमा अर्थतन्त्रमा अहिले समस्या देखिएपनि खराब नभएको निष्कर्ष निकालेका थिए ।

‘अर्थतन्त्रमा प्रारम्भिक समस्या देखिएको हो,स्वास्थ्यको हिसाबले भन्दा व्यक्तिलाई हुने ग्यास्टिक भएजस्तै हो, ग्यास्टिक भएको व्यक्तिले केही कुरा खान हुने र केही नहुँने हुन्छ, अहिले अर्थतन्त्रलाई जोगाउन केही वस्तुको आयात रोक्नुपर्ने कुरा उठ्यो,’अर्थमन्त्रीसँग बैठकमा सहभागी एक अधिकारीले भने ।

जसरी ग्यास्टिक निको नभएर अल्सर र क्यान्सर हुन्छ त्यस्तै अर्थतन्त्रलाई पनि प्रारम्भिक रुपमा देखिएको समस्यालाई हल गर्न केही वस्तुको आयात रोक्नुपर्ने छलफल उच्चस्तरिय बैठकमा भएको थियो ।


क्लिकमान्डु