बैंकका सीइओलाई राष्ट्र बैंकको निर्देशनः गाडी आयात रोक्नू



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाडी आयातको एलसी रोक्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार २७ वटा वाणिज्य बैंकका सीइओलाई बोलाएको थियो ।

बैंकका सीइओहरुसँगको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल,अनुसन्धान विभागका डा प्रकाश श्रेष्ठ र विदेशी विनिमय विभागका रामु पौडेल सहभागी थिए ।

बैठकमा सुपरिवेक्षण विभागका प्रमुख ढकालले बैंकहरुले सीडी रेसियो ९० प्रतिशत भन्दा बढी पुर्याएको र यसलाई सीमामा ल्याउन भनेका थिए । अनुसन्धान विभागका प्रमुख श्रेष्ठले शोधानान्तर घाटा अत्याधिक बढेको तथा अहिलेको विदेशी सन्चिती ६ महिनाको वस्तु तथा सेवा आयात समेत धान्न नसक्ने भएको हुँदा गाडी आयातको एलसी रोक्न भनेका थिए ।विदेशी विनिमय विभागका पौडेलले विदेशी सन्चिती घट्दो अवस्थामा रहेको बताएका थिए ।

‘देशको अर्थतन्त्रको अवस्था राम्रो छैन,विदेशी सन्चितीमा चाप छ,गाडी आयात रोक्नुपर्ने भयो,’श्रेष्ठले बैठकमा भनेका थिए ।

बैठकमा सहभागी एक वाणिज्य बैंकका सीइओले राष्ट्र बैंकले प्रष्ट रुपमा गाडी आयातको एलसी केही समयलाई रोक्न निर्देशन दिएको बताए । राष्ट्र बैंकले गाडी आयात रोक्न औपचारिक रुपमा निर्देशन नदिएपनि बोलाएर निर्देशन दिएको हुँदा केही समय गाडी आयातको एलसी नखुल्ने ती सीइओले जानकारी दिए ।

‘हामीले औपचारिक रुपमा निर्देशन दिन नमिल्ने हुँदा बैठकमा बोलाएर एलसी रोक्न भनेका हौ,गाडीको आयात अब केही समय नहोस् भन्ने हाम्रो चाहना हो,’बैठकमा उपस्थित राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुले भनेका थिए । यसबाहेक राष्ट्र बैंकले चकलेट सहित आवश्यक नपर्ने वस्तुको समेत एलसी नखोल्न भनेका छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ७० अर्बजतिको गाडी र यसको पाटपुर्जा आयात भएको छ ।

वित्तीय जानकारी इकाइ बैंकहरुले सम्पत्ति शुद्धिकरण निवारणका नियमहरु कडाइका साथ लागू नगरेकोमा असन्तुष्टी जनाएका थिए ।


क्लिकमान्डु