पुनर्बीमा कम्पनीले पालना गरेनन् लगानी निर्देशिका, मुद्दती निक्षेपमा ८७.०२% लगानी



काठमाडौं । बीमा समितिले जारी गरेको ‘बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५’ लाई पुनर्बीमा कम्पनीहरुले उल्लघन गरेका छन् । बीमा समितिले पुनर्बीमा कम्पनीहरुका लागि लगानीको दायरा फराकिलो बनाए पनि सो व्यवस्थालाई कम्पनीले पालना नगरेका हुन् ।

बीमा समितिले बीमकको लगानीसम्बन्धी निर्देशिका २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो ।

तर, लगानीको दायरा फराकिलो भए पनि पुनर्बीमा कम्पनीको लगानी भने अझै पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै सीमित भएको हो । नेपालमा दुई वटा कम्पनीले पुनर्बीमाको व्यवसाय गर्दै आएका छन् ।

नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २५ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ लगानी गरेका छन् ।

नेपाल पुनर्बीमाले १८ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ र हिमालयन रिले ७ अर्ब ११ करोड रुपैयाँ गरी सो बराबरको रकम विभिन्न क्षेत्रमा लगानी गरेका हुन् । समितिद्धारा जारी बीमकको लगानी निर्देशिकामा तोकिएको क्षेत्रमा लगानी नगरि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै केन्द्रित भएका छन् । पुनर्बीमा कम्पनीहरुले कुल लगानीको ८७.०२ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरेका हुन् ।

दुबै पुनर्बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थामा २२ अर्ब ५० करोड ८५ लाख रुपैयाँ लगानी गरेको समितिको तथ्यांक छ ।

नेपाल पुनर्बीमा कम्पनीले १४ अर्ब २१ करोड ६३ लाख रुपैयाँ र हिमालयन रिले ६ अर्ब ९१ करोड रुपैयाँ गरी २१ अर्ब १२ करोड ६३ लाख रुपैयाँ ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका हुन् ।

नेपाल पुनर्बीमाले ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ३८ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ ।

कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ९ करोड ४७ लाख रुपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ०.३७ प्रतिशत मात्रै हुन आउँछ । क, ख ग बर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा कम्पनीहरुले एक अर्ब ८६ करोड ७ लाख रुपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ७.१९ प्रतिशत हो ।

यस्तै, पुनर्बीमा कम्पनीहरुले म्यचुअल फण्ड र नागरिक लगानी कोषमा ९ लाख रुपैयाँ, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ३८ लाख २२ हजार र अन्य लगानीमा एक अर्ब १० करोड ५ लाख रुपैयाँ लगानी गरेका छन् ।

समितिद्धारा जारी बीमकको लगानी निर्देशिकाअनुसार पुनर्बीमा कम्पनीहरुले नेपाल सरकारको पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ । तर, सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीले सो क्षेत्रमा लगानी नै गरेका छैनन् ।

यस्तै, पुनर्बीमा कम्पनीहरुले घर जग्गामा बढिमा ५ प्रतिशत लगानी गर्न सक्ने भएता पनि यस क्षेत्रमा पनि लगानी शून्य छ । सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढिमा २० प्रतिशत, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढिमा २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था भए पनि पुनर्बीमा कम्पनील लगानी नै गरेका छैनन् ।

यस्तै, पुनर्बीमा कम्पनीहरुले ग बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा पनि लगानी नगरेको समितिको तथ्यांक छ । लगानी निर्देशिकाअनुसार यो क्षेत्रमा पुनर्बीमा कम्पनीले बढिमा १० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था छ ।

बीमा कम्पनीहरुमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि लगानीका क्षेत्रहरु पनि विस्तार गर्नुपर्ने कम्पनीहरुले माग गर्दै आएका थिए । सोहीबमोजिम बिमा समितिले बुधबार लगानी निर्देशिका नै जारी गरेको थियो । समितिले जीवन, निर्जीवन तथा पुनर्बिमा कम्पनीहरुले लगानी गर्ने क्षेत्रहरु तोकिदिएको थियो । निर्देशिकाले कम्पनीहरुको गणनायोग्य सम्पत्तिमा सीमा तोकी लगानीको क्षेत्र र दायरा तोकिदिएको थियो ।

बीमा समितिले घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो ।

समितिद्धारा जारी बीमकको लगानी निर्देशिकाअनुसार पुनर्बीमा कम्पनीले नेपाल सरकारका बचपत्रमा न्यूनतम ५ प्रतिशत, क वर्गको बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, घर जग्गामा बढिमा ५ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा २० प्रतिशत, क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढिमा २० प्रतिशत गर्नुपर्ने छ ।

त्यसैगरी, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढिमा २० प्रतिशत, कृषि, पर्यटठन र जलश्रोत लगायतका पूर्वाधारमा बढिमा २० प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढिमा २० प्रतिशत, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिण्मा २० प्रतिशत र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।


क्लिकमान्डु