बीमा कम्पनीको लगानी बैंकको मुद्दती निक्षेपमा मात्रै सीमित गर्न नपाइने, लगानी निर्देशिका संशोधन हुँदै



काठमाडौं । बीमकको लगानी सम्बन्धी निर्देशिका संशोधन हुने भएको छ । लगानी निर्देशिकाअनुसार कम्पनीहरुले लगानी नगरेको भन्दै बीमा समितिले लगानी निर्देशिका संशोधन गर्न लागेको हो ।

लगानीको दायरा फराकिलो भए पनि बीमा कम्पनीको लगानी भने अझै पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै सीमित छ ।

बीमा कम्पनीहरुको लगानीलाई विविधिकरण गर्नका लागि सो निर्देशिका संशोधन गर्ने तयारी भइरहेको समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए ।

संशोधित निर्देशिकामा कम्पनीहरुको लगानी मुद्दती निक्षेपमा मात्रै सीमित हुन नपाउने गरी नयाँ व्यवस्था गरिने उनको भनाइ छ ।

हाल समितिको लगानी सम्बन्धी निर्देशिकाअनुसार बीमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । तर, कम्पनीहरुको कुल लगानीको ७० प्रतिशत लगानी भने मुद्दती निक्षेपमै केन्द्रित छ ।

कम्पनीहरुको कुल लगानीको ठुलो रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै केन्द्रित भएकाले उक्त निर्देशिकालाई संशोधन गर्न लागिएको उनले बताए ।

उनले कम्पनीहरुको लगानीलाई भौतिक पूर्वाधारको क्षेत्र तथा उत्पादनमूलक क्षेत्रमा विविधिकरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

बीमा समितिले बीमकको लगानीसम्बन्धी निर्देशिका २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो ।

बीमा समितिले बीमा कम्पनीहरुका लागि लगानीको दायरा फराकिलो बनाए पनि सो व्यवस्थालाई कम्पनीहरुले उल्लघन गर्दै आएका छन् ।

लगानी निर्देशिका अनुसार कम्पनीहरुले कृषि, पुर्वाधार, पर्यटन लगायत प्राथमिकता प्राप्त क्षेत्रमा कुल टेक्निकल रिर्जभको २० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ । सो अनुसार बीमा कम्पनीहरुले ती क्षेत्रमा लगानी नगरी फाइदा हुने क्षेत्रमा मात्रै केन्द्रित भएको उनले बताए ।

‘बीमा कम्पनीहरुले लगानी निर्देशिका बमोजिम लगानी नगरेको पाइएको छ, निर्देशिका संशोधनका लागि हामीले सबै बीमा कम्पनीसँग सुझाव मागेका छौँ,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘सुझाव संकलन हुँदैछ । त्यसपश्चात संशोधनको प्रक्रियामा लान्छौँ । भौतिक पूर्वाधार तथा उत्पादनमूल्क क्षेत्रमा पनि कम्पनीहरुको लगानीलाई विविधिकरण गर्नुपर्ने देखिन्छ ।’

तोकिएका प्राथमिकताका क्षेत्रमा पनि लगानी गर्नु भनेर निर्देशनसमेत दिँदै आएको उनको भनाइ छ ।

तोकिएका क्षेत्रमा लगानी गर्नु भनेर समितिले पटकपटक निर्देशन दिएपनि लगानी निर्देशिकालाई पालना नगरेको उनले बताए ।

बीमा कम्पनीहरुमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि लगानीका क्षेत्रहरु पनि विस्तार गर्नुपर्ने कम्पनीहरुले माग गर्दै आएका थिए । सोहीबमोजिम बीमा समितिले लगानी निर्देशिका नै जारी गरेको थियो । समितिले जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुले लगानी गर्ने क्षेत्रहरु तोकिदिएको थियो । निर्देशिकाले कम्पनीहरुको गणनायोग्य सम्पत्तिमा सीमा तोकी लगानीको क्षेत्र र दायरा तोकिदिएको थियो ।

समितिद्धारा जारी बीमकको लगानी निर्देशिकाअनुसार पुनर्बीमा कम्पनीले नेपाल सरकारका बचपत्रमा न्यूनतम ५ प्रतिशत, क वर्गको बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, घर जग्गामा बढिमा ५ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा २० प्रतिशत, क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढिमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढिमा २० प्रतिशत, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढिमा २० प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढिमा २० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।

५ खर्ब ११ अर्ब लगानी, ६९.६० प्रतिशत लगानी मुद्दती निक्षेपमा

बीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमासको अवधिमा ५ खर्ब ११ अर्ब ८५ करोड ८१ लाख रुपैयाँ लगानी गरेका छन् ।

यस अवधिमा पुनर्बीमा कम्पनीले २५ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ, निर्जीवन बीमा कम्पनीले ५२ अर्ब २५ करोड २ लाख रुपैयाँ र जीवन बीमा कम्पनीले ४ खर्ब ३३ अर्ब ७४ करोड ३२ लाख रुपैयाँ गरी कुल सो रकम लगानी गरेका हुन् ।

बीमा कम्पनीहरुले कुल लगानीको ६९.६० प्रतिशत लगानी भने बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरेका छन् । कम्पनीहरुले सो क्षेत्रमा ३ खर्ब ५६ करोड २७ लाख ८६ हजार रुपैयाँ लगानी गरेका हुन् ।

बैंक तथा वित्तीय संसथाको मुद्दती निक्षेपमा निर्जीवन बीमा कम्पनीले ४२ अर्ब ९६ करोड ७० लाख रुपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ८२.२३ प्रतिशत हुन आउँछ ।

जीवन बीमा कम्पनीहरुले उक्त क्षेत्रमा ३ खर्ब ३२ करोड ४० करोड ७१ लाख रुपैयाँ लगानी गरेका छन् । जुन जीवन बीमा कम्पनीको कुल लगानीको ७२.६४ प्रतिशत हो ।

यस्तै, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा पुनर्बीमा कम्पनीहरुले २२ अर्ब ५० करोड ८५ लाख रुपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ८७.०२ प्रतिशत हो ।


क्लिकमान्डु