कोरोनाकालका दुई वर्षः अधिकांश वस्तुमा अत्यधिक मूल्यवृद्धि



काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण लागि सरकारले लकडाउन गरेको शुक्रबार २ वर्ष पुगेको छ । विश्वभर फैलिएको संक्रमणले मानवीय स्वास्थ्यमा गम्भीर क्षतिसँगै लाखौं मानिसको ज्यान समेत लियो । त्यति मात्रै नभइ विश्व अर्थतन्त्रमा नराम्रो धक्का समेत दिएको छ ।

२ वर्षको अवधिमा मानवीय स्वास्थ्यमा जति असर गरेको छ त्यति नै उपभोक्ताको बजेटमा पनि गरेको छ । विश्वका अधिकांश देशमा लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएसँगै सप्लाई चेन नमिल्दा अधिकांश वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको छ ।

कोरोनाको समयमा कच्चा पदार्थको आपूर्ति कम भएसँगै उत्पादन कम भयो । तर माग भने यथावतै रह्यो । अझ लकडाउनपछिको समयमा माग अत्यधिक बढेर गयो । जसले गर्दा अधिकांश वस्तुको मूल्य सामान्यतया २० देखि ५० प्रतिशतसम्म बढ्न पुग्यो ।

बजारमा पेट्रोलियम पदार्थको मूल्यसँगै खाद्यान्न, निर्माण सामग्रीको मूल्य उच्च रुपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमै अधिकांश वस्तु तथा कच्चा पदार्थको मूल्यवृद्धिले गर्दा नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको छ ।

कोरोनाअघि सामान्य परिवारको ५ सदस्यको मासिक खर्च १० हजार खाद्यान्नमा हुन्थ्यो भने अहिले १५ हजारले पनि नपुग्ने अवस्था सिर्जना भएको छ । खाद्यान्नमात्रै नभएर दैनिक प्रयोग हुने सम्पूर्ण वस्तुको मूल्यवृद्धि भएको छ ।

कोरोना अघिसम्म प्रतिकार्टुन तेल १२ सय ५० रुपैयाँदेखि १३ सय रुपैयाँमा खरिद गर्न सकिन्थ्यो भने अहिले २६ सय रुपैयाँ खर्चिनुपर्छ । कोभिडभन्दा अगाडि विभिन्न कम्पनीले उत्पादन गरेको तेलको मूल्य प्रतिलिटर १५० रुपपैयाँदेखि १६० रुपैयाँमा बिक्री हुँदै आएको थियो । तर, पछिल्लो कोरोनाकालको अवधिमा उक्त तेलको मूल्य अहिले २८० रुपैयाँदेखि २९० रुपैयाँमा बिक्री भइरहेको छ ।

तेल उत्पादनका लागि आवश्यक मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका देशहरुवाट आयात गर्नुपर्छ । मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापारअनुरूप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गरेको छ ।


अरिष्मा मोक्तान