क्लिङ्कर उत्पादन नगर्ने सिमेन्ट उद्योग संकटतर्फ, उत्पादन कम गर्दै उद्योगी



काठमाडौं । उत्पादन क्षमता तथा उद्योग बिस्तार बढ्दै गएपछि मुलुक यतिबेला सिमेन्टमा आत्मनिर्भर बनिसकेको छ । त्यसका साथै क्लिङकर पनि अहिले आयात गर्नुपर्ने अवस्था छैन । विगतका वर्षैमा सिमेन्ट उद्योगहरुलाई सिमेन्ट किन्न अर्बौ रुपैयाँ विदेश पठाउनु पर्ने अवस्था छैन ।

उत्पादन बढ्दै जाँदा बढ्दै गएको प्रतिष्पर्धात्मक बजारमा सिमेन्टको मूल्य पनि घट्न थालेको उद्योगीहरुको भनाइ छ । उनीहरु यतिबेला सिमेन्ट निर्यातका लागि सरकारमार्फत् भारतसँग पहलको प्रयास पनि शुरु भइसकेका छन् ।

तर भारततर्फ सिमेन्ट निर्यात गर्नका लागि केही समस्या छन् । ती समस्या समाधान गरी सरकारमार्फत् निर्यातको बाटो खुला गर्नका लागि उद्योगीहरु लामो समयदेखि लविङ गरिरहेका छन् ।

निर्यात मात्रै होइन, आन्तरिक खपत पनि बढाउनु पर्ने उनीहरुको माग छ । तर सरकारका प्राथमिकतामा यी दुबै कार्य परेका छैनन् । जसका कारण सिमेन्ट उद्योगटहरु संकटतर्फ धकेलिन सक्ने उद्योगीहरुको बुझाइ छ ।

हाल मुलुकभर ६५ वटा सिमेन्ट उद्योग छन् । जसमध्ये ४४ वटा ग्रान्डिङ उद्योग छन् भने २१ वटा क्लिङ्कर छन् । साथै, केही सिमेन्ट उद्योगमा ग्रान्डिङसँगै क्लिङ्कर उद्योग पनि छ । तर, अधिकांश ग्रान्डिङ उद्योगमा क्लिङ्कर उद्योग छैनन् ।

क्लिङ्कर उद्योग नभएका सिमेन्ट उद्योगहरूले अन्य कम्पनीबाट क्लिङ्कर खरिद गरेर उत्पादन गरिरहेका छन् ।

त्यसरी खरिद गरी सञ्चालनमा रहेका अधिकांश ग्रान्डिङ सिमेन्ट उद्योग कठिन अवस्थामा रहेको उद्योगीहरूको भनाइ छ ।

सिमेन्ट उत्पादनका लागि अति आवश्यक क्लिङ्कर उद्योग आफ्नै नहुँदा सञ्चालनका लागि निकै कठिन भएको सिमेन्ट उद्योगीको भनाइ छ ।

पछिल्लो समय क्लिङ्कर खरिद गरेर ग्रान्डिङ सिमेन्ट उत्पादन गरिरहेका सिमेन्ट उद्योगले क्लिङ्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ ।

पूर्वका बिराटनगर र दमक करिडोरमा रहेका ग्रान्डिङ उद्योगलाई खासै गाह्रो छैन । तर, वीरगञ्ज, भैरहवा र कृष्णनगर करिडोरमा सञ्चालनमा रहेको अधिकांश ग्रान्डिङ उद्योगको आफ्नै क्लिङ्कर उद्योग छैनन् ।

सामान्यतया वीरगञ्ज करिडोरका उद्योगले होङ्सी, सर्वोत्तम, सौर्य सिमेन्ट उद्योगसँग क्लिङ्कर खरिद गरेर सिमेन्ट उत्पादन गर्दै आएका छन् । साथै, बारा र पर्साका ग्रान्डिङ उद्योगले पनि विभिन्न स्थानमा रहेको क्लिङ्कर उद्योगसँग खरिद गरी सिमेन्ट उत्पादन गर्दै आएका छन् । जसले गर्दा क्लिङ्करसँगै ग्रान्डिङ उत्पादन गर्दै आएका उद्योगीहरूसँग ग्रान्डिङ सिमेन्ट उद्योगले प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

इन्टरनेशनल सिमेन्ट उद्योगका प्रमुख कार्यकारी अधिकृत र संघको कार्यसमिति सदस्यसमेत रहेका राजन कुमार झाले क्लिङ्कर र सिमेन्ट दुबै उद्योगसँग ग्रान्डिङ उद्योगले प्रतिस्पर्धा गर्न नसक्दा सञ्चालनमा समस्या आएको बताए ।

झाले आफ्नै सिमेन्ट उद्योग अन्य उद्योगसँग क्लिङ्कर खरिद गरेर सिमेन्ट उत्पादन गर्दै आएका छन् ।

‘क्लिङ्कर उद्योग भएका ग्रान्डिङ उद्योगको उत्पादनमा लागत कम हुन्छ,’ उनले भने, ‘तर, क्लिङ्कर खरिद गरेर ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने उद्योगको लागत बढी हुन्छ । जसले गर्दा क्लिङ्कर र ग्रान्डिङ दुबै उद्योग भएका उद्योगसँग बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छ ।’

क्लिङ्कर उद्योग भएका उद्योगीहरूले क्लिङ्कर महंगोमा बेच्ने र ग्रान्डिङ सिमेन्ट सस्तोमा बिक्री गर्ने गर्दछ । तर, क्लिङ्कर उद्योग नभएका ग्रान्डिङ उद्योगले अन्यबाट खरिद गरेर सोहीअनुसार मूल्य कायम गर्ने गर्दछ । उक्त कायम गरेको मूल्यले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने उद्योगीहरूले उल्लेख गरेका छन् ।

‘अल्पकालीन रुपमा ग्रान्डिङ उद्योग सञ्चालनका लागि कुनै समस्या छैन । तर, दीर्घकालीन रुपमा ग्रान्डिङ उद्योगको भविष्य छैन,’ उनले क्लिकमाण्डूसँग भने ।

ग्रान्डिङ उद्योगमा लागतले गर्दा विस्थापन हुने उनको दाबी छ । सरकारले सीमा क्षेत्रमा रहेका उद्योगको सिमेन्ट भारततर्फ निर्यात गर्न सके सहज हुने उनको भनाइ छ । साथै, अहिलेकै अवस्थामा सिमेन्ट उद्योग रहने हो भने आगामी दिनमा सिमेन्ट उद्योग बन्द हुन सक्ने उनको भनाइ छ ।

अहिले ग्रान्डिङ उद्योग सञ्चालन गरेका उद्योगको व्यापार ओरालो लाग्दो अवस्थामा छ । आगामी दिनमा पनि यस्तै अवस्था रहे बन्द हुनसक्ने धेरै सम्भावना रहेको उनले बताए ।

यदि ५ वटा मात्रै उद्योग बन्द भएमा दीर्घकालिन रुपमा धेरै समस्या आउने देखिएको उनको भनाइ छ । सिमेन्ट उद्योगमा अर्बौ खर्च भएको हुनाले बैंकबाट लिएको ५ अर्ब मात्रै ऋण डिफल्ट भयो भने त्यसले अर्थतन्त्रमा नकरात्मक असर पर्ने उद्योगीहरुको दाबी छ । साथै, यसले रोजगारी कटौती पनि गर्नेछ ।

ग्रान्डिङ उद्योगहरूले अहिले नै आफ्नो उत्पादन तथा व्यापार कम गरिसकेका छ । हरेक महिना घाटामा सञ्चालन भइरहेका उद्योगीले घाटा बेहोर्नुभन्दा बन्द गर्ने रणनीति अपनाउँछन् । उक्त रणनीति अपनाए बजारमा निकै नकारात्मक असर पर्ने उद्योगीहरूको भनाइ छ ।


अरिष्मा मोक्तान