२ महिनामै कोइलाको मूल्य दोब्बरले बढ्यो, सिमेन्ट र डण्डीको मूल्य ३०% सम्म बढ्ने



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा दुई महिनाको अवधिमै कोइलाको मूल्य दोब्बरले बढेको छ । कोरोना महामारीले गर्दा ‘सप्लाई चेन’ नमिल्दा अभावसँगै महंगिएको थियाे । तर पछिल्लाे २ महिनामा भने कोइला मूल्य दुई गुणाले बढेको छ ।

सन् २०२१ को अन्त्यतिर उच्चरुपमा कोइलाको मूल्य बढेको थियो । सन् २०२१ को अक्टोबर ६ गते कोइलाको मूल्य प्रतिटन २६९ डलर पुगेको थियो । तर, उक्त मूल्य निरन्तर घटेर नोभेम्बरमा प्रतिटन १४० डलरमा झरेको थियो ।

नोभेम्बरपश्चात भने कोइलाको मूल्य निरन्तर बढेको देखिन्छ । त्यस्तै, सन् २०२२ को शुरुवातीदेखि नै कोइलाको मूल्य उच्च रुपमा बढेको छ ।

गत जनवरीमा प्रतिटन १६० डलरमा बिक्री भएको कोइलाको मूल्य आजको दिनमा आइपुग्दा प्रतिटन ३६० डलर मूल्य कायम भएको छ ।

त्यस्तै, गत मार्च ७ मा मात्रै कोइलाको मूल्य प्रतिटन ४२४ डलर कायम भएको थियो । जुन हालसम्मकै उच्च हो । एकहप्ता अगाडि प्रतिटन ४२४ डलर कायम भएको कोइलाको मूल्य आज ३६० डलर रुपैयाँ कायम भएको छ ।

अन्र्राष्ट्रिय बजारमा उच्चरुपमा बढ्दै गएको कोइलाको मूल्यले अधिकांश क्षेत्रमा असर देखिन थालेको छ । गत वर्ष सोही अवधिमा १५० देखि १७५ डलरमा खरिद गर्न पाउने कोइला अहिले दोब्बरले बढ्दा निर्माण समाग्रीको मूल्य निकै बढ्ने भएको छ । साथै, कोइलाबाट उत्पादन हुने सम्पूर्ण वस्तुको मूल्य बढ्ने भएको छ ।

अन्र्राष्ट्रिय बजारमा कोइलाको मूल्यवृद्धिले अधिकांश निर्माण सामग्रीको मूल्य बढ्नसक्ने व्यवसायीहरूले बताएका छन् । निर्माण सामग्री सिमेन्ट, डण्डी, इट्टा उद्योगमा खपत हुने कोइलाको मूल्य उच्चरुपमा बढ्दा सो वस्तुमा ३० प्रतिशतले मूल्य बढ्ने अनुमान गरेको छ ।

श्री स्टिल कम्पनीका प्रबन्ध निर्देशक राजेश अग्रवालले पछिल्लो समय कोइलाको मूल्यवृद्धिले आन्तरिक बजारमा निर्माण सामग्रीको मूल्य ३० प्रतिशतसम्म बढ्न सक्ने बताए । उनकाअनुसार गत वर्ष प्रतिटन १७५ डलरमा खरिद गरेको कोइला अहिले ३५० देखि ३८० डलरमा खरिद गर्न बाध्य भएको छ ।

उक्त मूल्यवृद्धिले गर्दा हाल बिक्री भइरहेको मूल्यमा वस्तुको उत्पादन गर्न निकै कठिन भएको बताए । साथै, कोइलाको मूल्यवृद्धिले आगामी दिनमा डण्डीको मूल्य ३० प्रतिशतसम्म बढ्ने उनले जिकिर गरे ।

नेपाल सिमेन्ट उत्पादका संघका कार्यसमितिका सदस्य राजन कुमार झाले कोइलाको मूल्यवृद्धि भएकाले सिमेन्टको मूल्य बढाउनेबारे छलफल भइरहेको बताए ।

उनकाअनुसार पछिल्लो समय आचक्ली बढेको कोइलाको मूल्यले उत्पादनमा धेरै समस्या आएको छ ।

‘एक हप्ता अगाडिमात्रै कोइलाको मूल्य प्रतिटन ४ सय नाघेको थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘उक्त मूल्यमा खरिद गरेर कोइला ल्याउँदा उत्पादनको लागत धेरै बढ्न जान्छ । त्यसैले, सिमेन्टको मूल्य १५ प्रतिशतसम्म बढ्नसक्छ ।’

अहिले तत्कालको लागि सिमेन्टको मूल्य बढ्न नसके पनि आगामी दिनमा प्रतिबोरा ७० रुपैयाँसम्म बढ्नसक्ने उनको अनुमान छ ।

सिमेन्ट र डण्डी उद्योगसँगै निर्माण सामग्री इट्टा उद्योगमा कोइलाको खपत बढी हुने गर्दछ ।

त्यसैले कोइलाको मूल्य बढ्दा इट्टा उत्पादनमा पनि प्रभाव पर्ने देखिन्छ । तर, इट्टा उद्योग संघका अध्यक्ष महेन्द्र चित्रकारले इट्टाको मूल्य नबढ्ने दाबी गर्छन् ।

बजारमा इट्टा उद्योगको ठूलो प्रतिस्पर्धा रहेकाले कोइलाको मूल्य बढेपनि फरक नपर्ने उनले जिकिर गरे ।

‘अहिले इट्टा बिक्री गर्ने समय हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘इट्टाको मूल्य तत्कालको लागि बढ्दैन ।’

पछिल्लो समय बैंकहरूले पर्याप्त कर्जा नदिने भएकाले पनि इट्टा उद्योग समस्यामा पर्न गई सस्तोमा बिक्री गरिरहेको उनले जिकिर गरे ।

तर, आगामी जेठबाट भने मूल्य बढ्नसक्ने उनको भनाइ थियो ।


अरिष्मा मोक्तान