बैंकहरुको ब्याजदर नबढाउने निर्णयसँगै नेप्से १०१ अंकले बढ्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ ।
बैंकहरुले चैत महिनाका लागि ब्याजदर नबढाउने गरी गरेको निर्णयको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।
आइतबारको कारोबारमा नेप्से परिसूचक १०१.०७ अंकले बढेर २६६७.९७ अंकमा पुगेको छ । यो दिनको कारोबारमा ९० लाख २२ हजार ८९० कित्ता सेयर ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ १३ पैसामा कारोबार भएको छ ।
यो दिनको कारोबारमा २१० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
यो दिनको कारोबारमा तीन कम्पनीहरु एसियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्यमा पनि सकारत्मक सर्किट लागेको छ ।
उपसमूहतर्फ सबै समूहमा हरियाली छाएको छ । जसमध्ये लाइफ इन्स्योरेन्स ६.९५ प्रतिशत, फाइनान्सतर्फ ५.०१ प्रतिशतले बढेको छ ।